ताजा अपडेट »

गुलाम अली काठमाडौंमा, शनिबार ललितपुरमा गुञ्जिने

शुक्रबार, ०१ चैत्र २०८१, ०९ : ५१
20 Shares
शुक्रबार, ०१ चैत्र २०८१
20 Shares

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली बीहिबार बेलुका काठमाडौं आइपुगेका छन् । शनिबार ललितपुरको पुल्चोकमा आयोजना गरिएको ‘गुलाम अली थ्री जनेरेशन अन वन स्टेज’ कार्यक्रमका लागि उनी नेपाल आएका हुन् ।

नेपाल आइपुगेका अलीले नेपाल मेरो दिलको नजिक रहेको बताए । उनले नेपाल संसारकै सुन्दर देश समेत भएको  जिकीर गरे । उनले भने, ‘नेपाल मेरो दिलको नजिक छ । नेपाललाई म धेरै माया सम्मान समेत गर्छु । नेपाल संसारकै  सुन्दर देश लाग्छ मलाई ।  मेरो  गीतसंगित मन पराउनु हुन्छ यसमा दर्शक र  भगवानको कृपा छ ।’

११ सदस्यीय ब्याण्डसहित दुबई हुँदै नेपाल आइपुगेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजक साधना कला केन्द्रका पदाधिकारी, संगीतकार दीपक जंघम र पञ्चकन्याले स्वागत गरेका थिए ।
अलीले करिब ३ घण्टा आफ्ना लोकप्रिय गजल र गायकीको प्रस्तुति दिने कार्यक्रम छ ।

अलीले पहिलोपटक नेपालमा प्रस्तुति दिन लागेका हुन् । अलीसँगै उनका छोरा अमिर र नाती नाजिरले पनि प्रस्तुति दिने कार्यक्रम छ । उनका सबैभन्दा प्रसिद्ध गजलहरू मध्ये ‘चुपके चुपके रात दिन’, ‘हंगामा है क्यूँ बर्पा’, ‘कल चौधविन की रात थी’ र ‘ये दिल ये पागल दिल मेरा’ समावेश छन् जसलाई बलिउड फिल्महरूमा पनि फिचर्ड गरिएको छ । यसबाहेक उनले मनमोहक पञ्जाबी गीत गाएका छन् ।

उनले तत्कालिन नेपाली राजा महेन्द्रले लेखेको ‘किन किन तिम्रो तस्वीर’ पनि गाएका छन्, जुन नेपालमा निकै रुचाइएको गीतमध्ये पर्छ ।

यो गीतका संगीतकार दीपक जंगमलाई समारोहमा विशेष सम्मान प्रदान गरिने भएको छ । जंगमले अलीका ४ गीतमा शब्द रचना तथा संगीत दिएका छन् ।

टिकटबाट संकलित रकमको केही हिस्साबाट गायन र नृत्यमा लागिरहेका बच्चालाई १ वर्षको छात्रवृति दिइने भएको छ । टिकट व्यवस्थापन इसेवाले गर्नेछ । टिकट मुल्य ५ हजारदेखि दुई लाखसम्म राखिएको छ ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।