बुटवल । रङहरूको पर्व होली आज रूपन्तदेही सहित तराई तथा मधेसका जिल्लामा हर्षोल्लासपूर्वक मनाइँदै छ । हिमाली एवं पहाडी जिल्लामा होली (फागु पूर्णिमा) मनाइएको थियो भने भोलिपल्ट आज तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार यस क्षेत्रमा होली मनाउन लागिएको हो ।
पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाउने र अष्टमीका दिन गाडिएको चिर ढलाई दहन गरेपछि होली पर्व सम्पन्न भएको हो। तराईका जिल्लामा आज रंग अवीर दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली पर्व मनाउने गरिन्छ।
असत्यमाथि सत्यको विजयको हार्षोल्लासका रूपमा याे पर्व मनाइन्छ। होलीसम्बन्धी अर्को किंवदन्ती पनि पाइन्छ। हिरण्यकस्यपुले विष्णुभक्त छोरा प्रह्लादलाई भष्म गर्ने उद्देश्यले अग्निमा नजल्ने वरदान पाएकी होलिकासँग अग्निमा राखेपछि होलिका स्वयं भष्म भएको तर प्रह्लाद सकुशल रहेको किंवदन्तीअनुसार पनि होली पर्व मनाउने गरिन्छ।
आज रुपन्देही, नवलपरासी (बर्दघाट सुस्तापश्चिम), चितवन, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा धूमधामका साथ होली मनाइँदै छ ।
पहाडी तथा तराई मधेसका मूलका मानिसहरूको मिश्रित बसोबास रहेको रुपन्देहीमा होली पर्वलाई विशेष महत्त्वका साथ मनाउने गरिएको छ । सबै प्रकारका भेदभावलाई त्यागेर परस्परमा रङ खेल्दै सबैलाई रसरङ्गले तरङ्गित तुल्याउने होली उल्लास र रङ्गीचङ्गी पर्वका रूपमा लिने गरिएको छ ।
सबैलाई एउटै रङमा रङ्गाउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोतका रूपमा लिने गरिन्छ । “असत्यमाथि सत्यको, छलमाथि निश्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ । यो पर्व धार्मिक महत्वसंगसँगै सामाजिक सद्भाव र उमङ्ग प्रदान गर्न होलीको विशेष भूमिका रहेको छ ।”
प्राचीनकामा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिका माध्यमले फागु, फगुवा, होली, होरी आदि नाउँबाट मनाउन थालिएको थालिएको बताइन्छ ।। रसरङ्ग, नाचगान, खानपिन, मनोरञ्जन र आफ्नो रङमा अरूलाई रङ्गाउने, ढोल, डम्फु, मृदङ्ग बजाउँदै भेदभाव, मनोमालिन्य त्याग्दै भ्रातृत्व भावना बढाउने यस पर्वको आफ्नै गरिमा रहेको छ ।
पहाडी जिल्लामा होलीको बिहीबार सार्वजनिक बिदा दिइएको भए पनि तराईका जिल्लामा आज सार्वजनिक बिदा दिइएको छ । रूपन्देही लगाएतका तराइका जिल्लाहरूमा होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन विशेष सुरक्षा योजना कार्यान्वयनमा समेत ल्याइएकाे छ ।
स्थानअनुसार मनाइने फागु पुर्णिमाको नाम पनि फरक फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ । प्राचीनकालदेखि चलिआएको लामो समयसम्म मनाइने समानताको यो पर्व पछिल्लाे समय ओझेलमा पर्न थालेको र केही विकृति पनि देखिन्छ ।
प्रतिक्रिया