ताजा अपडेट »
अनुभूति

धमिरा !

विहीबार, २९ फागुन २०८१, १३ : १३
144 Shares
विहीबार, २९ फागुन २०८१
144 Shares

सुत्ने, पढ्ने र भान्साकोठामा पुस्तकहरु देखेपछि वाक्क हुन्छिन् र भन्छिन् श्रीमती-मिल्ने भए तिम्ले किताबै खान्थ्यौ । किताव नै ओछ्याउँथ्यौ र ओढ्थ्यौ है ? उनको कुराले मन पिरलियो धेरै दिन । जवाफ केही फर्काइनँ । सम्झें, एकजना विद्वानको कुरा । उनले भनेका थिए-घरमा भएका यत्रा किताव कहिले पढेर भ्याइएला ? किताव धेरै छन् । उमेर छोटो छ । त्यसैमा पनि म आधा शताब्दी काटेको मान्छे । कितावहरु हेर्छु । मन आत्तिन्छ । पढेर तुरिएन भने मेरा किताव कसले पढ्लान् ? जीवनमा आफूलाई पढन्दास मानेर यो कुरा लेख्ने दुष्शाहस गरेको भने होइन । तैपनि मनका कुरा बाँड्न रहर लागेर लेखेको हुँ । कसैलाई काम लाग्न सक्ला ! 

मेरो उमेर २५ हुँदा बाबाले आफ्नो अमूल्य जीवनलाई व्यर्थ ठानेर त्यागिसकेका थिए । बाबाका बारेमा  आमाबाट केही कुराहरु थाहा पाएको थिएँ । अनपढ बाबालाई पढ्न मैले आमाको दैनिक पढ्नुपथ्र्यो । आमाले पनि संसार त्यागेपछि हामी टुहुरा भयौं । त्यसपछि मैले आमाबाबालाई जान्न, बुझ्न पुस्तक पढ्न थालें । जीवनमा मेरो अभिभावक किताव बनेर आयो । कितावमा संसारका हरेक कुराहरु पाइँदा रहेछन् । कितावमा नपाइने कुरा सायदै होलान् । बाबाआमाका अभावमा उनीहरुलाई खोज्न दिनरात नभनेर किताव पढिरहें । ऋग्वेदमा भनिएको रहेछ-तिमी जहाँ छौ, जस्तो अवस्थामा छौ, दिनमा पाँच मिनेट भएपनि किताव पढ । यो सन्देश मेरो जीवनमा मूलमन्त्र बन्यो । सायद हिसावै गर्ने हो भने  कमाईको १० प्रतिशत् कितावमै लगानी गरेको हुँला । 

मैले किन पढ्छु, किन लेख्छु, ठ्याक्कै थाहा छैन तर मलाई यति थाहा छ कि लेख्नका लागि पढ्नै पर्छ । हजार शब्द पढेर १० शब्द लेख्न सकिन्छ भनेको सुनेको हुँ तर यथार्थ थाहा छैन । तैपनि पढेपछि केही न केही लेख्ने बानीले मलाई सताइ रहन्छ । पढ्दा मलाई मन परेका वाक्यमा धर्को लगाउनै पर्छ । डायरीमा टिपोट गर्नैपर्छ नत्र पढाईको धीत मर्दैन । त्यही भएर मैले अरुसँग किताव सापटी लिएर प्रायः पढ्दिनँ । 

अरुलाई देखाउन पढ्दिनँ । प्रचार गर्न पनि पढ्दिनँ । प्रायः भाषण गरिरहनु पर्ने मान्छे भएकोले आवश्यक ज्ञान चाहिन्छ,सूचना चाहिन्छ र पढ्छु । बुक(किताव) पढ्न मन लाग्छ,फेसबुकभन्दा । यो मेरो यतिबेलाको आवश्यकता हो । सानोमा पढ्न नजानेर फेल भएको थिएँ । पढ्न नजान्दा दाइले नाम्लोको बरियोले बाँधेको बिर्सेको छैन ।  नाम्लोको पाताले पिटेको भुलेको छैन तैपनि आज उनै दाइप्रति  बढी कृतज्ञ छु । बुझ्नका लागि किताव पढ्छु । सम्झनका लागि त्यति पढिरहन मन छैन । समय काट्न पढेको हैन । यथेष्ट सूचना लिन पढेको छु कहिलेकाँही १८ घण्टा लगातार । 

विद्वान हुने रहरले पढेको पटक्कै होइन । बरु विश्लेषण गर्न सक्ने हुने रहर ताजै छ । त्यो पनि किताव पढेर । सिर्जना गर्ने रहर आउँछ । कविता लेख्छु । कथा लेखेको छु । यात्रासंस्मरणमा मन लाग्छ धेरै । नाटक लेखेको, आफैले अभिनय गरेको भुलेको छैन । चिठ्ठी लेखेर छापेको छु । अतीतका दिनहरु सम्झेर थुप्रै लेखेको छु । दिदीबहिनीका संघर्ष र सफलताका कथा लेखेको छु तर थाकेको छैन । अध्ययन, मेरो रुचीको विषय हो । बाध्यता पटक्कै होइन । 

कसैलाई  लाग्न सक्ला ! किताव पढेर बाबाआमाको ऐसेट(सम्झना) मेटिएला ? हुन त पानीको तिर्खा मोहीले मेटिन्न !  तैपनि कितावमा बाबाआमाका अनुहार भेटिन्छन् । उनीहरुका कथाव्यथा फेला पार्न सकिन्छ । गुणदोष पाइन्छन् । संस्कार, सभ्यता, संस्कृति सबै अचेल कितावमा भेट्न सकिन्छ । आनीबानी, व्यवहार पनि कितावले सिकाउँदो रहेछ । निर्जीव अक्षरहरुले जीवित प्रेम दिदोंरहेछ । रोगदेखि शोकसम्मका कुरा कितावमा काफी हुँदोरहेछ । पेटदेखि जेटसम्मका कुरा कितावमा भेटिन्छन् । देशदेखि परदेशसम्मका कुरा कितावमै छन् । रछ्यानदेखि ओछ्यानसम्मका कुरा कितावमै पाइन्छन् । कलरदेखि डलरका सन्देश कितावमै छन् । जन्मदेखि मृत्युसम्मका कुरा कितावमै भएपछि अन्त किन मन डुलाउने ? त्यही भएर पढ्न मन लाग्छ । 

लेबोविट्स भन्छन्–बोल्नु अघि सोच । सोच्नु अघि पढ । संसार पढेकैले बुझेका हुँदारहेछन् । यतिबेला नेपाली बजारमा आएका केही कितावहरु मेरा सिरानीमा छन् । राधिका शाक्यको ‘करुणा’, गणेश पाण्डेद्वारा सम्पादित  ‘केपी शर्मा ओलीको सपना, संघर्ष र संकल्प’ र  डा.विन्दा पाण्डेको ‘भुइँमान्छे’ । एकैपटक पढिरहेको छु । उनीहरुलाई हेर्ने दृष्टिकोण आ-आफ्ना छन्, होलान् । पठन अनुभूति लेख्ने नै छु । भारी छुटमा किन्दा पनि ६५ रुप्पे बुहानी गरेर दुई हजार एक सय रुप्पे, तीनवटा कितावको दायित्व दिमाखमा बोकेर पढिरहेकै छु । 

पढ्दैगर्दा कतै मेरा बाबाआमा भेटिएका छन् । कतै मेरो समाज भेटिएको छ । कतै देश र जनता फेला पारेको छु । इतिहास छन्, वर्तमान भेटिएका छन् अनि भविष्य समेत खोजेको छु कितावहरुमा । मोहनविक्रम सिंहको ‘जलजला’ पढेर तुर्न सकेको छैन । स्वरसम्राट नारायणगोपाल पढेर आनन्द लिइसकें । २०८१ सालमा ८१ वटा किताव पढ्ने लक्ष्य थियो मेरो । पूरा होला वा नहोला । अझै एक महिना चोख्खै छ । बाक्ला कितावहरुले पढ्न थप जाँगर दिन्छन् । कुनैकुनै कितावले मनमा हूरी चलाउँछ । टेबलमा राखेका कैयौं कितावहरुले मलाई गिज्याइरहेका हुन्छन् । नदेखेको जस्तो गर्छु घरिघरि । 

तैपनि महिनामा न्यूनतम पाँचवटा किताव निरन्तर पढ्नेलाई ‘कितावको किरो’ भन्न सकिने रहेछ । संसारमा ‘कितावको किरो’ पाँच प्रतिशत् पनि नपाइने तथ्याङक रहेछ । व्यङ्ग्य गरेर भनेको पनि सुनेको छु-धमिराले किताव खाएर विद्वान बनेको छैन क्यारे ! 


 

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार