ताजा अपडेट »

'द्रोपदी'को सुटिङ अनुभव : 'पैसेरु नाच'मा ४ वटा सिँगो गाउँलाई उठाएर ल्याउनुपर्यो

बुधबार, २८ फागुन २०८१, १५ : १६
44 Shares
बुधबार, २८ फागुन २०८१
44 Shares

बुटवल । नेपालको हिमाली जिल्ला डोल्पाका बस्तीहरुको कथा वस्तुलाई समेटेर तयार पारिएको चलचित्र द्रोपदीको प्रमोशनका लागि निर्माण तथा कालकार टोली यतिबेला देश-दौडाहामा छ । फिल्म प्रमोशनकै क्रममा बुधबार बुटवल आइपुगेका निर्माता तथा निर्देशक ऋषि आचार्यले सुटिङ अवधिका केही दुःख तथा रमाईला अनुभवनहरु सुनाउँदै यहाँका सञ्चारकर्मीहरुसँग साक्षात्कार गरेका छन् । 

पाँच दिनको बाटो हिँडेर डोल्पाको सेफोक्सुण्डो ताल लगायत त्यहाँका गाउँहरुमा पुगेर छायाँकन गरिएको चलचित्र द्रोपदीमा दर्शकले हालसम्म हेरिरहेका दृश्य तथा कथावस्तुभन्दा फरक स्वाद प्राप्त गर्न सक्ने निर्माण टोलीको दाबी छ । २८ जनाको फिल्म निर्माण तथा कलाकार टोली ४८ दिनसम्म डोल्पामा बसेर यो फिल्म तयार पारिएको अर्का निर्माता प्रकाश ज्ञवाली बताउँछन् । माइनस ५ डिग्री सेल्सीयससम्मको तापक्रममा पनि काम गर्नुपर्दाको पीडा र सुटिङपछिको अनुभवले छुट्टै आनन्द दिने बताउछिन् नायिका आश्विनी शाही । यो चलचित्र उनका लागि ड्ब्यु चलचित्र हो । यसैगरी नेपाल आइडल बन्न सफल गायक रवि ओढ पनि यस चलचित्रमा नायकको रुपमा उपस्थित छन् । उनको पनि यो डेब्यु नै हो । डेब्यु चलचित्र भएपनि कथावस्तु निकै फरक र राम्रो भएको तथा उत्तिकै मेहनत पनि गरेको दुबै जनाको दाबी छ । उनीहरुको एउटै मत छ, ‘फिल्मको कन्टेन नै आफैमा हिरो छ ।’ चलचित्रको चरित्रमा घुस्नका लागि डोल्पाली बस्तीका घर-घरमै बसेर उनीहरुको जीवनशैली नजिकबाट अनुभव गर्ने र उनीहरुका हाउ-भाउहरुलाई पनि फिल्म शम्बादको रुपमा उतार्ने काम गरिएको उनीहरु बताउँछन् । 

फिल्म निर्माणको अनुभव सुनाउँदै निर्माता ऋषि आचार्यले गीतको भिडियो तयार पार्ने क्रममा डोल्पाका ४ वटा गाउँनै जम्मा गर्नु परेको घटना सुनाए । ‘फिल्ममा समावेश गरिएको पश्चिम नेपालको डोल्पा जिल्लामा नाचिने पैसेरु नाचका लागि म्युजिक भिडियो बनाउनु पर्ने थियो । त्यसका लागि मानिसहरुको ठूलो जमघट देखाउनु पर्ने थियो, तर गाउँमा भएरका पातला घर–बस्तीमा मानिसहरु पाउनै मुस्किल ।’–आफ्ना अनुभव सुनाउँदे उनले भने, ‘त्यसपछि एउटा पिकनिक जस्तो आयोजना गरेर ४ वटा गाउँका मानिसहरुलाई भेला बोलाएर गितको सुटिङ गरियो, गाउँहरु पनि खुसी, हाम्रो काम पनि बन्यो ।’ फिल्म सुटिङका लागि स्थानीयले प्रयोग गरेका सामान तथा पोशाकहरु समेत प्रयो गरिएको उनले बताए । ‘गाउँमा उहाँहरुसँगको बसाई निकै आत्मीय रह्यो, उहाहरुबाट धेरै सहयोग पनि प्राप्त भयो परिवार जस्तै गरेर ४८ दिन बित्यो ।’–आचार्यले भने । यो चलचित्रको लेखन समेत उनले नै गरेका हुन् । 

आगामी चैत्रको ८ गते रिलिज डेट तोकिएको यस चलचित्रमा नयाँ कलाकारका साथै नेपाली चलचित्रमा अहिलेसम्मकै नयाँ कन्टेन्ट समावेश गरिएको निर्माण पक्षको दाबी छ । यस चलचित्रको माध्यमबाट नेपाल पढ्न पाइने बताउँदै अर्का निर्माता ज्ञवालीले नारी शक्तिसँगै दृश्यमा देखाइएका हिमाली जल्लाको भौगोलिक सुन्दरताले दर्शकको ध्यान तान्ने दाबी गरे । फिल्म निर्माणको अनुभव सुनाउँदै निर्माता ज्ञवालीले ४ वर्ष अघिनै तयार पारिएको विषय वस्तुमा लामो छलफल र अध्ययनपछि मात्रै द्रोपदी निर्माण र लगानीका लागि तयार भएको उल्लेख गरे । 

चलचित्रका लागि विष्णु ठटराई सह निर्माता हुन् भने महेश्वर आचार्य र सुजाता तिमिल्सिना वरिष्ठ सहायक निर्देशक तथा रितु आचार्यले सहायक निर्देशकको रुपमा काम गरेका छन् । मोहन कुमार ‘झिल्लु’ले सिनेमाटोग्राफको भूमिका निभाएको यस चलचित्रका लागि गोविन्द सोनीले साउण्ड डिजाइन तथा मिक्सिङ गरेका हुन् । यसैगरी विष्णु ठटराईको कोरिग्राफ तथा कुवेर डंगोलको फोग्राफ यस चलचित्रमा देख्न सकिन्छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।