लोकतन्त्र/गणतन्त्रको नेतृत्व गर्ने दलहरू र ती दलको नेतृत्व प्रति जनतामा आक्रोश छ । असन्तुष्टि छ । निराशा छ । दुनियाँमा राज्यको नेतृत्वमा रहनेहरूको दम्भ, अहङ्कार सहितको अलोकतान्त्रिक चरित्रका कारण आफू सँगै व्यवस्था पनि सखाप पारेको इतिहास साक्षी छ। काठमाडौँमा भएको राजावादीहरूको जनप्रदर्शनलाई नजरअन्दाज गर्ने गल्ती नगरौँ ।
दुनियाँको उन्नत व्यवस्था लोकतन्त्र /गणतन्त्र नै हो । यसमा विमति छैन । मुख्यतः चल्तीका पुराना दलले लोकतन्त्र/गणतन्त्र जोगाउने हो भने,यथाशीघ्र सुधारतिर लाग ।
तत्काल शासकीय स्वरूपको संरचना सहित सुधार गर्नु पर्ने मुख्य विषय:
१) प्रदेश संरचना खारेज ।
२) प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यले राष्ट्रपति निर्वाचित गर्ने । विगतमा कुनै पनि दलको दलीय सदस्यता लिएको व्यक्ति राष्ट्रपतिको उम्मेदवार बन्न अयोग्य रहने ।
३) प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री । संसद् सदस्य मन्त्री बन्न नपाउने । बढीमा ११ जनाको मन्त्रीमण्डल ।
४) प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा बढीमा ९९ जना ।
५)पुर्ण समानुपातिक राष्ट्रिय सभा बढीमा ३३ जना ।
६) हिन्दु, बौद्ध, किरात संस्कृतिको संरक्षण, प्रवर्द्धन र सबै धर्मावलम्बीको सम्मान गर्दै हिन्दु राज्य ।
७) पालिकाहरूको सङ्ख्या बढीमा ३५० हाराहारी । पालिकमा दलगत चुनाव चिन्ह लिएर दलगत उम्मेदवार नहुने व्यवस्था । सबै उम्मेदवार स्वतन्त्र रुपमा उम्मेदवार रहने । पालिकालाई थप अधिकार सहित पालिका अध्यक्षलाई निर्णय पास गर्ने पकेट भिटोको व्यवस्था ।
८) राज्य र निजी क्षेत्र, शैक्षिक संस्था सहित सबै ठाउँमा दलगत ट्रेड युनियन र भातृ सङ्गठन खारेज । वालवाला प्राध्यापक,शिक्षक, कर्मचारीलाई दलीय सदस्यता लिन रोक ।
९) २०४६ शाल पछि अहिलेसम्म राज्यको नेतृत्व तहमा पुगेका जनप्रतिनिधि सहित उच्च ओहदामा रहने कर्मचारी समेतको सम्पत्ति छानबिन र भ्रष्टाचारको आरोप वारे छानिन गर्न सर्वाधिकार सम्पन्न आयोगको गठन ।
१०) गुणस्तरीय शिक्षा र स्वास्थ्यमा राज्यका सबै नागरिकको समान पहुँचको ग्यारेन्टी ।
हाम्रो विनम्र आग्रह छ । हिजो लोकतन्त्र/गणतन्त्र ल्याउन लागेका दलहरूको नेतृत्व एक ठाउँमा बसेर गम्भीर आत्मसमिक्षा गर्नुस् । जनताको चाहना र आकाङ्क्षालाई तत्काल सम्बोधन गर्नुस् । शासकीय स्वरूपको संरचना परिवर्तन सँगै इमानका साथ तीव्र गतिको आर्थिक सुधार, सुशासन, सामाजिक न्याय सहितको भ्रष्टाचाररहित सुन्दर देश बनाउने बाटोमा अघि बढ्नुस् । अन्त्यमा, सुन्दर लोकतन्त्र/ गणतन्त्रमा जनता नै सर्वशक्तिमान् छन् । जनताले चाहे असम्भव केही पनि छैन ।
प्रतिक्रिया