बुटवल । राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीको आइतबार बुटवलमा सम्पन्न १४ औँ जिल्ला अधिवेशनले कृष्ण कुमालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । बुटवलको पुष्पलाल स्मृति भवनमा सम्पन्न अधिवेशनले ७१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
संघको उपाध्यक्षमा नवराज मल्ल, सचिवमा दिपेश कंडेल, उप सचिबमा सुदर्शन खाम्चा र वसन्त गौचन तथा कोषध्यषमा श्रीराम न्यौपाने निर्वाचित भएका हुन् । अधिवेशनको उद्घाटन समारोहमा बोल्दै लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमालेका पोलिटव्यूरो सदस्य लिला गिरीले संघलाई थप सक्रिय र संगठित बनाएर अगाडि बढाउन आग्रह गरे । नेकपा एमालेले अघि बढाएका समृद्ध मुलुक, सुखी नेपालीको नारालाई सफल बनाउनका लागि युवाहरु एक ठाउँमा उभिन आवश्यक रहेको उनले बताए ।
राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष क्षितिज थेवे, महासचिव सुमन पुरी लगायतले बोल्दै मुलुक परिवर्तनका हरेक आन्दोलनहरुमा राष्ट्रिय युवा संघको भूमिका अहम रहेको उल्लेख गरे । निर्वाचित अध्यक्ष कुमालले रुपन्देहीमा युवा आन्दोलनलाई थप सशक्त बनाएर अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।
प्रतिक्रिया