ताजा अपडेट »

धार्मिक स्थलको ‘ब्रान्डिङ’ ले पार्ने प्रभाव

सोमबार, २६ फागुन २०८१, ०८ : २०
38 Shares
सोमबार, २६ फागुन २०८१
38 Shares

बीपी गौतम

फागुन १४ गतेको महाशिवरात्री पर्वसँगै भारतको उत्तरप्रदेशको प्रयागराजमा महाकुम्भ मेला सकिएको छ । महाकुम्भ मेलाका अनेक आयाम छन् । महाकुम्भ मेलाले विश्वमैं एउटा तरङ्ग ल्यायो । यसबाट छिमेकी मुलुक नेपालमा पनि अनेक बहसको प्रारम्भ गराएको छ । किनकी सामाजिक सञ्जालमा महाकुम्भ मेलाको विषयमा अनेक टिकाटिप्पणी मात्र भएननस नेपालबाट हजारौं भक्तजनहरु महाकुम्भ मेलामा गए । भारत सरकारले महाकुम्भको ब्रान्डिङ यसरी गर्यो की नेपाली भक्तजनहरुलाई समेत त्यहाँ जानलाई अभिप्रेरित गरिरह्यो ।

भारतको महाकुम्भ मेलाबाट नेपालले पनि केही कुरा सिक्न जरुरी देखिन्छ । किनकी नेपालमा हिन्दु, बौद्ध लगायत सनातन धर्मसँग सम्बन्धित अत्यन्त पावन भूमिहरु छन् । यी पावन भूमिको ब्रान्डिङ गर्न सक्दा यहाँ धार्मिक पर्यटनको अथाह सम्भावना छ । नेपालमा रहेका पवित्र पावन भूमिहरुको विश्वव्यापी रुपमा ब्रान्डिङ गर्न हामीहरुले सकिरहेका छैनौं । धार्मिक पर्यटनको प्रवर्द्धन गर्न सक्दा यसले देशलाई विश्वमै परिचित गराउने मात्र होइन आर्थिक विकासमा समेत टेवा पुर्याउँछ भन्ने गतिलो उदाहरण भारतको महाकुम्भ मेला हो । किनकी महाकुम्भ मेलामा ६६ करोड भक्तजनले सहभागिता जनाएका छन् । जहाँ मानिसको चहलपहल हुन्छ त्यहाँ स्वभाविक रुपमा आर्थिक क्रियाकलाप बढी हुन्छ ।

नेपालका पशुपतिनाथ, मुक्तिनाथ, जनकपुर, रिडी, देवघाट, राम्दी लगायतका कतिपय तीर्थस्थल नपुगी हिन्दुहरूको धार्मिक यात्रा पूर्ण नहुने भएकाले नेपालले पनि यी ठाउँहरुमा ठूला-ठूला धार्मिक कार्यक्रम, महोत्सव सञ्चालन गरेर लाभ प्राप्त गर्न सक्छ । हामीकहाँ भगवान् बुद्धको पवित्र जन्मस्थल लुम्बिनी छ । विश्वभरका केही प्रतिशत बौद्ध धर्मावलम्बीहरुलाई मात्र लुम्बिनी ल्याउन सकियो भने त्यसले धार्मिक पर्यटन प्रवर्द्धनमा ठूलो योगदान दिन सक्छ । यो आलेख लुम्बिनीमा पर्यटन प्रवर्द्धनका लागि के गर्न सकिन्छ भन्ने बारेमा बढी केन्द्रीत छ ।

धार्मिक पर्यटन प्रवर्द्धनका लागि नेपालमा गर्न सकिने तमाम सम्भावना छन् । यो आजको भोली हुने कुरा होइन । यसका लागि राज्यको तर्फबाट लामो तयारी चाहिन्छ । भौतिक पूर्वाधार पर्यटक केन्द्रीत रुपमा  बनाउँदै लैजानु पर्छ । भारतको महाकुम्भ मेलाको लागि ६ वर्षदेखि तयारी थालिएको थियो । यहीँ कारण त्यहाँ ६६ करोड भक्तजन पुग्दा पनि केही अपवाद घटना बाहेक व्यवस्थापन सहज भयो । नेपालमा धार्मिक महत्वका अत्यन्त महत्वपूर्ण स्थल रहेकाले राज्यले एउटा लक्ष्य तय गरेर धार्मिक स्थलको ब्रान्डिङ्ग र तयारी थाल्दा नेपालमा ठूला धार्मिक कार्यक्रम गर्न सकिन्छ ।  

नेपालमा धार्मिक पर्यटनको एउटा हव लुम्बिनी हो । धार्मिक पर्यटन प्रवर्द्धनको लागि सबैभन्दा पहिला गर्नुपर्ने काम भनेको भौतिक पूर्वाधार विकास नैं हो । महाकुम्भ मेलाका लागि आवश्यक पूर्वाधार बनाउन त्यहाँको सरकारले अर्बौं खर्च गरेको थियो । त्यसपछि सरसफाई, यातायातको सुगमता, सुरक्षा जस्ता विषय पर्छन् । लुम्बिनीमा पर्यटन हव बनाउनका लागि त्यहाँसम्म पुग्ने सडकहरु फराकिला र आकर्षक बनाउनु पर्छ । पूर्व-पश्चिम राजमार्गदेखि लुम्बिनी पुग्ने रामापुर-लुम्बिनी-कक्रहवा र फायरलाइन-रुद्रपुर-लुम्बिनी सडकलाई कम्तिमा डेडिकेट डबल लेन बनाइनुपर्छ । भैरहवादेखि लुम्बिनी पुग्ने सडकका पुलहरु तत्काल निर्माण सम्पन्न गर्नुपर्छ । वर्षौंदेखि यी पुलको निर्माण कार्य सन्तोषजनक छैन । पुल नहुँदा सवारी जामको समस्या छ । फोहोरमैला व्यवस्थापन गर्ने र सरसफाईसँग सम्बन्धित पूर्वाधार बनाउने काम तत्काल गर्न सकिन्छ । अहिले लुम्बिनीमा फोहोरमैला व्यवस्थापन चुस्त छैन । शुल्क तिरेर शौच गर्दा पनि नाक थुन्नु पर्ने अवस्था छ । यस्तो परिदृश्यले पर्यटक आकर्षण गर्न सक्दैन । यसर्थ राज्यको प्राथमिकतामा लुम्बिनीलाई राखेर यस्ता काम एकाध वर्षमा गर्नुपर्छ ।

वास्तवमा सम्यक सम्बुद्धको जन्मस्थल लुम्बिनी हाम्रो मुलुकमा रहनु हामी नेपालीहरुको लागि गौरवको विषय हो । विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी र यस आसपासको क्षेत्रमा पूर्वाधार विकासको कामलाई प्रभावकारी रुपमा अघि बढाउन सक्दा यहाँ आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुने देखिन्छ । अहिले लुम्बिनी भनेको केवल लुम्बिनी विकास कोषको पर्खालभित्रको क्षेत्रलाई मात्र बुझ्ने गरिएको छ । तर, अब हाम्रो बुझाइ र भाष्यमा परिवर्तन जरुरी छ । समग्र रुपन्देही, कपिलबस्तु, नवलपरासीलाई लुम्बिनीको रुपमा बुझ्ने र यहाँको जनजीवन, पूर्वाधार, सडक सौन्दर्यलाई पर्यटनमैत्री बनाउन सकियो भने लुम्बिनीमा आउने पर्यटकको संख्या निश्चित रुपमा बढ्ने छ ।

लुम्बिनीमा पर्यटकको संख्या बढ्ने अपेक्षासहित भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनाइयो । अन्तर्राष्ट्रिय विमानस्थल बन्न थालेपछि पर्यटक आवागमन ह्वात्तै बढ्ने विश्वासको साथ यहाँ ठूला ठूला होटल निर्माणमा निजी क्षेत्रले अर्बौं लगानी गर्यों । तर, दुःखको कुरा विमानस्थल फूलफेजमा चल्न सकेको छैन । लुम्बिनीमा पर्यटकलाई आकर्षित गर्न आसपासको क्षेत्र पनि उत्तिकैं विकशित हुनु जरुरी छ । यहाँका बासिन्दाको आयआर्जन बढाउने, कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधारको विकास, फोहोरमैला व्यवस्थापन, हरियाली प्रवद्र्धनलगायतका कामहरु एकीकृत रुपमा अघि बढ्नुपर्छ । एक पटक लुम्बिनी घुम्न आएको एक जना विदेशी पर्यटकले कम्तिमा दश जना अरु विदेश पर्यटक लुम्बिनी पठाउने वातावरण बनाउन यहाँको सरसफाई र सौन्दर्यलाई विशेष महत्व दिँदै आसपासका पर्यटकीय क्षेत्रको पनि विकास गर्न जरुरी छ ।

लुम्बिनीसँगै कपिलबस्तु र नवलपरासीमा रहेका बौद्ध सर्किटको एकीकृत विकास हुनुपर्छ । बौद्ध सर्किटमा नियमित रुपमा प्रभावकारी यातायातको सञ्चालन गर्न सकियो भने लुम्बिनी आउने आन्तरिक तथा बाह्य पर्यटकको बसाइँ लम्बाउन सकिन्छ । लुम्बिनीमा करोडौं खर्चेर अन्तर्राष्ट्रिय बुद्धिष्ट ध्यान तथा सम्मेलन केन्द्र निर्माण गरियो तर, यस्तो भव्य हल नियमित सञ्चालनमा आउन सकेको छैन । स्पष्ट कार्यविधि बनाएर यो हललाई निजी क्षेत्रसमेतको साझेदारीमा करारमा सञ्चालनमा दिन सकियो भने यहाँ अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम हुने वातावरण निर्माण हुन सक्छ । यसो गर्दा एकातिर यहाँको पर्यटन प्रवर्द्धन हुनेछ भने अर्कोतिर स्थानीय स्तरमा आर्थिक क्रियाकलाप बढ्ने देखिन्छ । यसर्थ यो हललाई नियमित सञ्चालन कसरी गर्न सकिन्छ भन्ने बारेमा पनि आवश्यक नीतिगत निर्णय गर्नुपर्ने देखिन्छ । धार्मिक पर्यटनले केवल धार्मिक विषय मात्र प्रवर्द्धन गर्दैन, त्यसभन्दा कयौं गुणा बढी आर्थिक पाटोलाई लाभदायक बनाउँछ । महाकुम्भले जसरी उत्तर प्रदेशको मात्रै नभई समग्र भारतकै अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको छ, त्यसरी नैं लुम्बिनीको पर्यटनले नेपालको अर्थतन्त्रमा ठूलो योगदान दिन सक्छ ।

मानिस जमघट हुनको लागि एउटा बाहाना चाहिन्छ, धार्मिक महोत्सव, कार्यक्रम यस्तैं विषय हुन् । यसका लागि प्रचार प्रसार चाहिन्छ । प्रचारप्रसारकैं कारण भारतको महाकुम्भमा २५ देशबाट भक्तजनहरूको ओइरो लागेको हो । करोडौं भक्तजन पुग्दा भारतका स्थानीय उत्पादनको मुख्य बजार कुम्भ मेला बन्न पुग्यो । मेलास्थान किसानको आफ्ना उत्पादनको प्रदर्शनी गर्ने थलोमात्रै नभई बजारीकरणको प्रमुख केन्द्र बन्यो । एकैपटक लाखौंलाई रोजगारी सिर्जना भयो । कुम्भमा सामान्य पसल गरेर बसेका केही व्यक्ति पनि रातारात चर्चित बनेर विभिन्न स्थानमा अवसर पाए । लगानीका नयाँनयाँ अवसरको ढोका खुले । कुम्भ मेलालाई भनेर अर्बौं लगानी भित्रियो ।

धार्मिक पर्यटनले आध्यात्मिक उन्नतिमात्र होइन, स्थानीय र राष्ट्रिय अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्याउन महत्वपूर्ण योगदान गर्छ । यसका लागि राज्यको लगानी सबैभन्दा महत्वपूर्ण पक्ष हो । महाकुम्भ मेलाको बजेट लगभग १२ हजार ६ सय ७० करोड र कुम्भ मेलाबाट आर्थिक लाभ लिनका लागि भारत सरकारले मेलाको ब्रान्डिङमा ३६ सय करोड रुपैयाँ खर्च गरेको तथ्यांक सार्वजनिक भएको छ । राज्यको तर्फबाट स्पष्ट योजना बनाएर लुम्बिनीमा पूर्वाधार बनाउने हो भने पर्यटक थप आकर्षित गर्न सकिन्छ । विश्वको ध्यान लुम्बिनीमा खिच्न सकियो भने यसबाट मुलुकको समृद्धि सम्भव छ ।

(लेखक गौतम दुई दशकदेखि रुपन्देहीमा रहेर पत्रकारितामा क्रियाशील छन् ।)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।