ताजा अपडेट »

तानसेनमा हरायाे परापूर्वकालदेखिकाे ‘चीर’ ठड्याउने प्रचलन

नाया पुस्तामा चासाे नदेखिदा दशक यता पाएन निरन्तरता

सोमबार, २६ फागुन २०८१, ०६ : ३०
16 Shares
सोमबार, २६ फागुन २०८१
16 Shares

तानसेन (पाल्पा) । फागू पूर्णिमा सुरुआत भएको संकेतस्वरूप सदरमुकाम तानसेनमा परापूर्वकालदेखि चीर ठड्याउने प्रचलन रहेपनि एक दशक यता त्यसले निरन्तरता पाउन छोडेको छ । यहाँ नेवार समुदायले चीर ठड्याएर फागु पूर्णिमाको पूजा गरी होलीको सुरुवात गर्ने परम्परा बसाले पनि आर्थिक अभाव र नयाँ पुस्ताले बेवास्ता गर्दा हराउन थालेको हो ।

धेरै नेवार समुदायको बसोवास रहेको तानसेनस्थित टक्सारटोलमा विसं २०७१ सम्म निरन्तर चीर ठड्याउँदै आइएको थियो । गणेश मन्दिरको मूलद्वार अगाडि रङ्गीचङ्गी ध्वजाले सिङ्गारिएको चीर ठड्याएपछि होली पर्व सुरु भएको मान्ने गरिन्थ्यो । तर पछिल्ला वर्षमा यो परम्परा हराउँदै गएको छ । आठ वर्षपछि टक्सारटोलमा तानसेन भजन संरक्षण समिति र देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठानको सक्रियतामा दुई वर्षअघि जसोतसो चीर ठड्याइएको थियो । त्यति बेला चीर ठड्याउने परम्पराले पुनः निरन्तर पाउनेमा धेरै उत्साहित भएका थिए । तर त्यसले निरन्तरता पाउन सकेन । आर्थिक अभाव र पुराना पुस्ता अशक्त हुँदै गएपछि युवाले चासो नदिँदा चीर गाड्न छाडिएको छ ।

परम्परागत संस्कृति हराउँदै जान थालेपछि यहाँका पुराना पुस्ता चिन्ता व्यक्त गर्न थालेका छन् । परम्परादेखि चलिआएको चलनलाई अहिलेको पुस्ताले ध्यान नदिँदा संस्कृति हराउन थालेकोमा दुःख लागेको देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष मदन देउरालीले बताए । “पुरानो पुस्ता सकिँदै जानु र नयाँ पुस्ताले परम्परागत संस्कृति संरक्षण गर्न नसक्नुले निकै चिन्तित छौँ”, उनले भने । तानसेनमा नेवारको बस्ती बसेदेखि होलीको अवसरमा चीर गाड्ने परम्परा रही आएको हो । पहिले–पहिले तानसेनको शित्तलपाटी, भिमसेनटोल, बसन्तपुर, टक्सारटोललगायतका स्थानमा चीर ठड्याइने गरे पनि आर्थिक अभाव र पुराना पुस्ताको मृत्युपछि विस्तारै हराउँदै गएको देउरालीले बताउछन। उनका अनुसार चीर गाड्ने काम पहिला अन्य टोलमा भएता पनि पछि यो केवल टक्सारटोलमा मात्र सीमित भएको थियो । “चीर ठड्याउन, भजन गाउन र होली खेल्न आर्थिक स्रोत चाहिन्छ, त्यो स्रोत कहीँ कतैबाट आउँदैन, व्यक्ति आफँैले खर्च गरेर कति दिन गर्ने ? पुराना पुस्ता शारिरीक रूपले अशक्त हुँदै गए, नयाँ पुस्तामा कुनै चासो छैन्,” अध्यक्ष देउरालीले भने।

आफु शारीरिक रूपमा अस्वस्थ भएका कारण चीर ठडाउन नसकेको डाफा भजन संरक्षण समितिका अध्यक्ष तथा चीर ठडाउने मुख्य व्यक्ति मङ्गलप्रसाद बज्राचार्य बताउछन्। उनले भ ने,  “अब म उमेरले पनि बूढो भइसकेँ, नयाँ पुस्ताले चासो देखाउँदैन के गर्नु ?” उनले आर्थिक अभावका कारण चीर ठड्याउने संस्कृतिले निरन्तरता पाउन नसकेको गुनासो गरे । चीर ठड्याइँदा भजनसमेत गाउने गरिन्छ ।

हरेक वर्ष फागुन शुक्ल अष्टमीका दिन चीर गाड्ने गरिन्छ । कृष्ण र गोपिनीसँग पनि यो पर्व जोडिएको छ । गोपिनीले निर्वस्त्र भई पोखरीमा नुहाउँदा कपडा लगाइ मात्र नुहाउने प्रतिबद्धता जाहेर गराएको सन्दर्भसँग चीर ठड्याउने प्रसँग जोडिएको हो । यो चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा प्रयोगमा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाउने चलन छ ।

नेवार समुदायमा होली पर्वलाई प्रेम दिवसका रूपमा मनाउँछन । यसदिन युवा युवतीले एकअर्कालाई मन पराएर स्वीकार्ने दिनका रूपमा लिने गर्छन् । सात दिनसम्म चल्ने यो पर्वमा प्रत्येक दिन आफना दाजुभाइ तथा नातेदार भेला भई मीठामीठा खानेकुरा पकाएर खाई रमाइलो गरिन्छ । यस वर्षको होली पर्वको मुख्य दिन फागुन २९ र १ गते परेको छ । २९ गते हिमाली तथा पहाडी जिल्लामा र १ गते तराई जिल्लामा होलीको सार्वजनिक बिदा दिइएको छ ।
---

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।