बुटवल । ‘साहित्य’ कल्पनाको प्रयोग गरी विशिष्ट शैलीमा लेखिएका रचनाहरूलाई बुझाउँछ। यसै सन्दर्भमा, साहित्य सिर्जनाको पुरानो साझा थलो साहित्य संगम, बुटवलले आफ्नो ३२०औं नियमित मासिक शृङ्खला फागुन २४ गते न्यू होराइजन माध्यमिक विद्यालय, कालिकानगर बुटवलमा सम्पन्न गर्यो । साहित्यमा लागेका स्रष्टाहरूले सामाजिक विकृतिहरूको चिरफार गर्न जागरुक हुनुपर्ने कुरामा जोड दिए। प्रमुख अतिथि बालकृष्ण भण्डारीले समकालीन साहित्य तथा लेखकीय प्रवृत्तिबारे आफ्ना विचार प्रस्तुत गरे।
वाचन गरिएका रचनाहरूको समीक्षा गरिएको थियो। समीक्षक एवम् कवि गिरी श्रीषले समकालीन साहित्य लेखन प्रवृत्ति, कवि र कविताले उठाउनुपर्ने विषयहरूबारे चर्चा गर्दै प्रस्तुत रचनाहरूको समालोचना गरे। उनले समीक्षात्मक टिप्पणीसहित रचनाहरूलाई पृष्ठपोषणसमेत गरेका थिए। उनका अनुसार, वाचन गरिएका रचनाहरू राष्ट्रियता, समसामयिक परिस्थिति तथा प्रेम जस्ता विषयवस्तुमा केन्द्रित थिए। कार्यक्रमका अध्यक्ष कवि दलबहादुर गुरुङले साहित्यकारहरूको समय अनुशासन, कार्यक्रम व्यवस्थापन र साहित्यिक दायित्व सम्बन्धी विषयहरूमा प्रकाश पारे।
कार्यक्रमको सुरुवात स्रष्टा सागर के।सी। द्वारा वाचन गरिएको कविताबाट गरिएको थियो। त्यसपछि क्रमशः बालकृष्ण भण्डारी, दलबहादुर गुरुङ, कृष्ण गाउँले, दुर्गा थापा मगर, हरिप्रसाद पौडेल, यज्ञलाल सुवेदी, दिपा अर्याल लगायतका स्रष्टाहरूले आफ्ना रचनाहरू वाचन गरेका थिए । साहित्य संगम, बुटवलले हरेक महिनाको अन्तिम शनिवार न्यू होराइजन माध्यमिक विद्यालय, कालिकानगर बुटवलमा मासिक शृङ्खला सञ्चालन गर्दै आएको छ।
प्रतिक्रिया