ताजा अपडेट »

पिएमकप क्रिकेट : रुपन्देहीमा भएको खेलमा एपीएफ र लुम्बिनी विजयी

आइतबार, २५ फागुन २०८१, १७ : ११
64 Shares
आइतबार, २५ फागुन २०८१
64 Shares

बुटवल । आजदेखि सुरु नेपाली क्रिकेटको एकदिवसीय फर्म्याटको राष्ट्रिय प्रतियोगिता प्रधानमन्त्री कप अन्तरगत रुपन्देहीका दुई मैदानमा भएको खेलमा एपीएफ र लुम्बिनी प्रदेश विजयी भएका छन् । रुपन्देहीको एक्स्ट्राटेकमा सम्पन्न खेलबाट एपीएफ विजयी भएको हो भने भैरहवास्थित सिद्धार्थ रंगशालामा लुम्बिनी प्रदेश विजयी भएको हो । 


रुपेन्द्रहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभलमा भएको खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले बागमती प्रदेशलाई १०० रनले हरायो। बागमतीले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको एपिएफ ४४ ओभरमा १७४ रनमा अलआउट भयो। एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ३७ रन बनाए। बलिङमा बागमतीका रिजन ढकालले ५ विकेट लिए भने नन्दन यादवले ३ विकेट लिन सफल भए। 

१७५ रनको लक्ष्य पछ्याएको बामगती २८.२ ओभरमा ७४ रनमा अलआउट भयो। बामगतीका लागि शुभ कंसाकारले सबैभन्दा बढी १६ रन जोड्दा अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। बलिङमा एपिएफका कलमसिंह ऐरीले ४ विकेट लिए। प्लेयर अफ दि म्याच ऐरीले ८।२ ओभरमा २ मेडन राख्दा २७ रन बनाए। कप्तान रोहित पौडेल र अमरसिंह रटेउलाले २(२ विकेट हात पारे।

यसैगरी भैरहवामा भएको खेलमा घरेलु टोली लुम्बिनीले कोशी प्रदेशलाई २६ रनले पराजित गर्‍यो। टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी ४८ ओभरमा २०८ रनमा अलआउट भयो। लुम्बिनीका लागि आकाश त्रिपाठीले ६६ रन र ओपनर मृनाल गुरुङले ४४ रन बनाए। नर सार्कीले ३२ बलमा ४५ रनको योगदान दिए।

२०९ रनको लक्ष्य पछ्याएको कोशी ४२.२ ओभरमा १८२ रनमा अलआउट भयो। कोशीका लागि सुजन थपलियाले ३५ रन र ओपनर चिराग साहले ३१ रन बनाए। बलिङमा लुम्बिनीका अजय चौहानले ५ विकेट लिए। प्लेयर अफ दि म्याच चौहानले ८।४ ओभरमा ३२ रन दिए। लुम्बिनीका लागि रमेश कुर्मीले लिएको ३ विकेट जितको आधार बन्यो। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।