बुटवल । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले देशको अस्थिरता र निराशा चिर्न मुलुकका प्रमुख पार्टी बीचको सहमतिमा वर्तमान सरकार बनेको बताएका छन् । उनले राजनीतिक अस्थितरताका कारण उद्योग, व्यवसायिक क्षेत्रका समस्या समाधान हुन नसकेको अवस्थामा निजी क्षेत्रमा निराशा बढेको बताउँदै राष्ट्रिय समस्या समाधान गर्न मुलुकका प्रमुख प्रतिष्पर्धी दल मिलेर वर्तमान सरकार बनेको बताए ।
नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघको २४ औं वार्षिक साधारणसभा तथा ११ औं महाधिवेशनको शनिबार बुटवलमा उद्घाटन गर्दै मन्त्री भण्डारीले वर्तमान सरकारले पछिल्लो समय ल्याएको अध्यादेश नेपालको आन्तरिक पूँजी प्रवर्द्धन गर्ने र वैदेशिक पूँजी भित्राउने विषयमा आधारित रहेको बताए । “हामीले हाम्रा उत्पादनको राम्रो प्याकेजिङ र ब्रान्डिङ गर्न सकेका छैनौ सामान्य ढङ्गले निर्यात गर्छौ तर हाम्रा उत्पादनलाई अरुले राम्रो प्याकेजिङ र ब्रान्डिङ् गरेर बढी नाफा कमाइरहेका छन् ।"-मन्त्री भण्डारीले भने, “निर्यातजन्य वस्तुमा प्याकेजिङ र ब्रान्डिङ् गरौं ।”
उनले सरकारले उद्योगी, व्यवसायी र निजी क्षेत्रले सुन्ने, देख्ने र अनुभूति गर्ने र निजी क्षेत्रका निराशा चिर्ने गरी आगामी निती कार्यक्रम ल्याउने प्रतिवद्धता समेत जनाए । उनले भने, “सरकारले नितीगत सुधारका प्रयासबाट उद्योगी व्यवसायीहरु उत्साहित हुने अवस्था निर्माण गर्दै छ ।”
उनले सरकारले सातवटै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने गरि योजना अगाडि बढाउने बताउँदै लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्र, बाँकेको नौवस्ता र दाङको लक्ष्मीपुरमा औद्योगिक क्षेत्र निर्माणको योजना अघि बढाउन लागेको जानकारी दिए ।
उनले औद्योगिक क्षेत्र भित्र उद्योगिहरुका समस्या समाधानका लागि मन्त्रालयले छिट्टै आवश्यक निर्णय लिने समेत बताए ।
कार्यक्रममा प्रतिनिधीसभा सदस्य बाशुदेव घिमिरेले सरकारले पछिल्लो पटक ल्याएका अध्यादेशले निजी क्षेत्रलाई नीतिगत रुपमा सहज व्यवस्था गरिएको बताए । लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले उद्योगी व्यवसायीले उद्योग व्यवसाय सञ्चालनमा परम्परागत ढंगले नभएर नयाँ ढंगले उत्पादन लागत कम गरेर उद्योग व्यवसाय सञ्चालन गर्नुपर्ने सुझाव दिए ।
प्रतिक्रिया