ताजा अपडेट »

कुलमानबारे ऊर्जामन्त्रीलाई गगनको सुझाव : नचाहिने काममा नलाग्नु

शनिबार, २४ फागुन २०८१, १७ : ३५
92 Shares
शनिबार, २४ फागुन २०८१
92 Shares

सिन्धुली । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ऊर्जामन्त्री दीपक खड्कालाई नचाहिने काममा नलाग्न सुझाव दिएका छन् । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङप्रति इंगित गर्दै थापाले अहिले सरकार नै एउटा व्यक्तिको पछि लागेको जस्तो देखिएको टिप्पणी गरेका हुन् ।

सिन्धुलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले भने, ‘अहिले हामी सुनिरहेका छौँ, ऊर्जा मन्त्रालयको । मन्त्रालय अन्तर्गत विद्युत् प्राधिकरण छ । मैले बुझ्न सकेको छैन, बदनियत हो कि ढंग नपुगेको हो । तीन–चार महिनामा सेवा निवृत्त हुने एउटा व्यक्तिको पछि सरकार नै लागेको देखिन्छ । यस्ता कुरा ठिक होइन । यस्तो, नचाहिने काममा कोही पनि मन्त्रीहरू लाग्नु हुँदैन । सेवा निवृत्त भएपछि उपयुक्त मान्छे ल्याउने, त्यो संस्थाको नेतृत्व गर्न दिने हो ।’
थापाले मन्त्रीहरू नचाहिने काममा लागे भने त्यसलाई रोक्ने काम प्रधानमन्त्रीको भएको पनि स्पष्ट पारे । प्रधानमन्त्री भनेको सरकार र क्याबिनेटको मास्टर भएको उनको भनाई थियो ।

‘प्रधानमन्त्रीले राम्रो कामको श्रेय पनि पाउँछ, नराम्रो कामको अपजस पनि लिनुपर्छ । हामीहरू सहयोगी हौँ । सबैको कुरा एउटै छ, सरकारले राम्रो काम गरोस्, सफल होस् । प्रदेशको सरकारको सन्दर्भमा पनि त्यही हो,’ उनले भने ।
उनले कि राम्रो काम गर्न र राम्रो गर्न नसके भने नराम्रो काम नगर्नु सुझाव दिए । उनले भने, ‘५० वटा राम्रो काम गरे पनि एउटा मात्र नराम्रो काम गरियो भने त्यो एउटा कामको हल्लाले सबै राम्रो काम छोपिन्छ ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।