बुटवल । हाम्रो सामाजिक मनोविज्ञानमा अझै पनि सफल महिला उनै हुन जसले गृहिणी जीवन बिताएर परिवारलाई खुसी पारेकी हुन्छिन् वा परिवारको स्याहारमा बिताउँछिन् । बिस्तारै यसको परिभाषा परिवर्तित भने हुँदैछ । महिलाहरु चुलो–चौका र दैलोबाट बाहिर आएर आफूलाई समाजमा स्थापित गर्न सफल भएका छन् ।
राजनीतिक परिवर्तन र सामाजिक चेतना स्तर बढ्दै जाँदा महिलाहरू आर्थिक सबलीकरण र सशक्तीकरणको बाटोमा लागेका मात्र छैनन् आफूलाई पुरुष समान अब्बल साबित गर्न समेत सफल भएका उदाहरणहरू पनि प्रशस्त देखिन थालेका छन् ।
यही उदाहरणको सफल पात्रको रूपमा स्थापित भएकी नारी हुन लक्ष्मी टेक्नोप्लाष्टकी मार्केटिङ हेड जिना खड्का । ललितपुरको कुमारीपाटीमा जन्मिएकी जिनाको बाल्यकाल त्यति अभाव वा भरिपूर्णमा पनि बितेन । उनको परिवार रामेछापबाट ललितपुर आएको थियो । ठिकै–ठिकैको पारिवारिक पृष्ठभूमिमा विद्यालय तहको अध्ययन पूरा गरेसँगै आम महिला सरह जागिरे जीवन सुरुवात गरेकी उनी एउटै कम्पनीका ४ वटा ब्रान्डहरुको बजार व्यवस्थापनको एक्लै नेतृत्व सम्हाल्ने भएकी छन् ।
सुरुका दिनमा कक्षा १२ पढ्ने क्रममा इन्टर्न गर्ने बेलाका शिक्षक सुनिल कुमार श्रेष्ठले सञ्चालन गरेको कम्पनीमा एकाउन्टेन्ट रूपमा जागिरे जीवनमा प्रवेश गरेकी उनले रकमको मात्रै जोड घटाउ गर्न होइन जीवनकै जोड घटाउ र समीकरण मिलाउन सक्ने अब्बल पात्रको रूपमा आफूलाई स्थापित गराउँदै लगिन । यसै गरी उनले अध्ययनलाई पनि अगाडि बढाइनै रहिन ।
एकाउन्टेन्ट बनेर जागिर जीवनमा प्रवेश गरेकी उनी दुई वर्षमै अन्तरालमै आफूलाई अब्बल बनाउँदै सोही कम्पनीको अफिसरका रूपमा बढुवा हुन सफल भइन् । आइएसओ रनिङ उक्त कम्पनीमा ५ वर्ष बिताएकी उनले त्यो अवधिलाई सिकाईको अवधिको रूपमा लिन्छिन् ।
उक्त कम्पनीमा ५ वर्ष बिताएकी उनले जागिर परिवर्तन गरेर होप इन्टरनेशनल कलेज (मेडिकल कलेज)मा एडमिनिस्ट्रेटिभ हेड र पब्लिक रिलेसन म्यानेजरको रूपमा काम गर्न थालिन । उक्त कलेजमा उनले करिब २ वर्ष मात्रै बिताइन् ।
यसबिचमा उनलाई थुप्रै कम्पनीबाट राम्रो सेवा सुविधासहितको जब अफर आयो । लगत्तै उनलाई पाटन औद्योगिक क्षेत्रमा रहेको उड कार्भिङ इन्डष्ट्रिजमा फ्याक्ट्री म्यानेजर र सहायक अफिस म्यानेजरको रूपमा काम गर्ने अफर आयो । उक्त कम्पनीमा पनि उनले करिब ४ वर्ष सेवा गरिन । उक्त कम्पनीमा ४ वर्षा काम गर्दै गर्दा उनको डिलिङ पावर,पब्लिक रिलेसन र कुशल व्यवस्थापकीय क्षमता देखेर अहिले कार्यरत लक्ष्मी टेक्नोष्टमा एच.आर म्यानेजरको रूपमा अफर प्राप्त गरिन । त्यो विकल्प उनलाई ठिकै लाग्यो र उनले कम्पनी परिवर्तन गरी लक्ष्मी टेक्नाेप्लाष्टमा एचआर म्यानेजरको रूपमा नियुक्त भइन् ।
नियमित कार्य सम्पादन क्षमता र उनको कार्यशैलीलाई नजिक बाट देखिरहेका उक्त कम्पनीका निर्देशक रगुनन्दन मारुले उनको प्रतिभा देखेर फरक प्रयोग गर्ने मनसायले अर्को प्रस्ताव राख्दै भने, ‘तपाईँसँग क्षमता छ, एचआर नहेर्नुस मार्केट हेर्नुस् ।’ निर्देशकको उक्त प्रस्ताव उनलाई पनि ठिकै जस्तो लाग्यो । प्राय खुल्ला र स्वतन्त्र भएर काम गर्न रुचाउने उनका लागि यो बजार चिन्ने अवसरसहितको विकल्प उपयुक्त हो जस्तो लाग्यो । त्यसपछि उनले नेशनल सेल्स कोर्डिनेटरको पोजिसन मागेर उक्त कम्पनीमा काम गर्न थालिन् ।
पहिलो वर्ष मार्केटिङमा, त्यसमा पनि हार्डवेयर लाइनमा महिला भएका कारण मार्केटले हेर्ने दृष्टिकोणले उनलाई केही असहज महसुस पनि गरायो। ‘त्यस अवधिमा केहीले त अन्डरस्टिमेट नै गर्ने पनि गर्नु भयो ।’–विगतका अनुभव कोट्याउँदै उनी भन्छिन्, ‘लेडिज मान्छे त पार्लर, गाडी शोरुम वा बैकहरूमा ठिक हुन्छ, तपाई किन हार्डवेयर लाइनमा आउनु भयो भनेर प्रश्न गर्नेहरू पनि धेरै भेटिए ।’ तर एउटा निश्चित लक्षका साथ हिँडेकी उनले ती कुराहरूको कुनै प्रवाह नगरी आफूलाई अगाडि बढी नै रहिन् ।
दिन रात कडा परिश्रमपछि उनी बजार चिन्न सफल भइन् । त्यसको फलस्वरूप अहिले लक्ष्मी टेक्नाेप्लाष्टकाे मार्केटिङ हेड भएर देश घुम्ने अवसर पाएकी छन् । कम्पनीको बजार बिस्तारका लागि पूर्व मेची देखि पश्चिम महाकाली सम्मका सहर तथा गाउँ–गाउँमा पुगेकी उनले यो कामलाई जागिरको रूपमा मात्रै लिएकी छैनन्, नेपाल चिन्ने अवसरको रूपमा पनि लिएकी छन् । अत्यावस्यक पर्दा आफैले समेत एक्लै गाडी हाकेर बजारीकरणाकालागि देश दाैडाहामा निस्कन पछि नपर्ने उनी हालसम्म नेपालका केही हिमाली जिल्ला बाहेक ६९ जिल्लामा पुग्न सफल पनि भएकी छन् ।
जागिरमा मात्रै होइन शारीरिक र मानसिक रूपमा समेत उनले आफूलाई स्फूर्त राखेकी छन् । आत्मरक्षाका लागि सानैदेखि नै तेक्वान्दो खेलेकी उनी ब्ल्याक बेल्ट उत्तीर्ण खेलाडी समेत हुन् । बडी बिल्डिङमा समेत रुचि भएकी उनले यस खेलमा प्रवेश गर्न लाग्दै गर्दा विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका करण खेलाडीको योजना भने स्थगित गरिन् । हाल उनी पूरा समय जागिरे जीवनमा देश दौडाहामै व्यस्त हुने गरेकी छन् ।
‘यो अवधिमा मार्केटमा इस्टाविलिटि क्रियट गर्न सफल भएकी छु । यो नै मेरो लागि सबै भन्दा ठुलो खुसीको कुरा हो ।’–जिनाले निर्धक्कसँग भन्ने गर्छिन् । अहिले उनको मातहतमा १५ कर्मचारीले मार्केट सम्हाल्ने गरेका छन् । हाल कार्यरत कम्पनीमा आफू सेल्स हेड हुँदाको अवस्थामा भन्दा ५० प्रतिशत बजार विस्तार तथा विक्री बढाउन सफल भएको उनले दाबी गर्छिन् । यद्यपि मुलुकको आर्थिक मन्दीले गर्दा बजारको अवस्था पहिलेको जस्तो नरहेको उनको एउटै गुनासो छ । ‘सोचेजस्तो बजार नभए पनि कम्पनी घाटामा जानु परेको छैन ।’–जिना बताउँछिन् ।
परिवारमा पहिलो सन्तानको रूपमा जन्मेकी जिना उमेरले मात्र ३१ वर्ष पुगेकी छन् । आमा–बुवा र बहिनीलाई उनको जागिरले सुखी परिवार बनाएको छ । जागिरे जीवन सुरु गर्दा देखिनै परिवारको समेत राम्रो साथ र सहयोग पाएकी जिनाले गर्ने हरेक निर्णय उपयुक्त हुन्छ भन्ने छाप परिवारमा पनि परेको छ ।
जेवि मारु ग्रुप अन्तर्गतका ३ वटा ब्रान्डको बजार हेर्ने जिम्मा अहिले जिनालाई छ । यस अन्तर्गत लक्ष्मी टेक्नो प्लाष्ट लि.काे ओम शिवम् पाइप्स एण्ड फिटिङ्स, मेरिगोल्ड हाउसहोल्ड एण्ड फर्निचर, पीबीडी एण्ड पीबीआई बकेट रहेका छन् । उनले काम गरिरहेको लक्ष्मी टेक्नोप्लाष्टले सीपीभीसी र यूपीभीसी पाइप उत्पादन गर्छ । जुन नेपालका हरेक जसो सहरका घर–घरमा प्रयोग हुँदै आएको छ । मेरी गोल्ड ब्रान्डले हाउस होल्ड फर्निचर (प्लास्टिकका) आइटम उत्पादन गर्दै आएको छ भने पीवीडी र पीबीआई ब्रान्डले पेन्ट बकेट र फर्टिलाइजर बकेट लगायत प्लाष्टिकजन्य उत्पादन गर्दै आएको छ । यी कम्पनीहरूलाई ग्राहकसम्म पुर्याउने काम भने जिनालेनै गर्दै आएकी छन् । जसले जिना मात्र होइन कम्पनी सञ्चालक पनि खुसी छन् ।
जागिरे जीवनसँगै उनले औपचारिक अध्ययनतर्फ मास्टर्स पनि पूरा गरेकी छन् । उनको मान्यता छ कि जीवनमा अवसर एक पटक मात्रै आउँछ, त्यसलाई कसैले पनि गुमाउनु हुँदैन तब मात्र सफल हुन सकिन्छ । काम गर्दा डराउनु हुँदैन भन्ने मान्यता राख्ने उनी सेल्स एन्ड मार्केटिङ यो यात्रामा मौका दिने, सधैँ ऊर्जा हिम्मत दिई आफ्नो यो सफलतामा बाटो देखाउने रघुनन्दन मारू प्रति सदैव आभारी रहने बताउँछिन् ।
चर्चित कलाकार तथा सामाजिक अभियानकर्ता एम्मा वाटसनको भनाइ छ, ‘महिलाहरू कहिलेकाहीँ शक्तिशाली, बलियो र साहसी महसुस गर्न डराउँछन् । डराउनु कुनै गलत होइन, डरको अनुपस्थिति चाहने होइन बरु यसलाई जित्न सक्नुपर्छ । बस् अगाडि बढिरहनुपर्छ र आफूलाई विश्वास गर्नुपर्छ । ’यही भनाइको चरितार्थ प्रस्तुत गर्न सफल जिना महिला सशक्तिकरणरको असल उदाहरण बन्न सफल भएकी छन् ।
प्रतिक्रिया