ताजा अपडेट »

नेपाली क्रिकेट टीम सम्हाल्न ६ दर्जन विदेशी प्रशिक्षकको आवेदन, कहिले हुन्छ नियुक्ति ?

शुक्रबार, २३ फागुन २०८१, २० : ४९
106 Shares
शुक्रबार, २३ फागुन २०८१
106 Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को प्रमुख प्रशिक्षकका लागि विभिन्न देशबाट ७० जनाभन्दा बढीले आवेदन दिएका छन् । उनीहरुमध्येबाट क्यानले केही दिनमा प्रमुख प्रशिक्षकको टुंगो लगाउने तयारी गरेको छ ।
भारतीय प्रशिक्षक मोन्टी देसाईको करार समाप्त भएपछि क्यानले नयाँ प्रशिक्षकको खोजी गरेको हो । गत फागुन ३ गते क्यानले विभिन्न मापदण्डहरुसहित प्रमुख प्रशिक्षकका लागि आवेदन खुलाएको थियो । फेबु्रुअरी २८ सम्म अन्तिम मिति तोकिएकोमा ६ दर्जनजति आवेदन परेको क्यान स्रोतले बतायो ।

स्रोतका अनुसार विभिन्न टेस्ट र एसोसिएट्स राष्ट्रहरुबाट प्रशिक्षकका लागि आवेदन आएका छन् । नेपालको प्रशिक्षक बन्न पहिलोपटक यति ठूलो आकर्षण देखिएको स्रोतको भनाइ छ ।
‘टेस्ट राष्ट्रहरुबाट पनि उल्लेख्य आवेदन प्राप्त भएको छ,’ स्रोतले भन्यो । क्यानले केही आवेदन आएका मध्येबाट केही दिनमा सर्टलिस्ट निकाल्ने छ । सर्ट लिस्टमा यति नै जनालाई छनोट गर्ने भन्ने तय भएको छैन । ठूलो नामभन्दा पनि नेपालको आवश्यकता हेरेर प्रशिक्षकको टुंगो लगाइने क्यानका एक अधिकारीले बताए ।

‘हामीलाई नामभन्दा पनि काम चाहिएको हो, हाम्रो टिममा रहेको कमि–कमजोरीहरुलाई कसले सुधार गर्न र नेपालको क्रिकेट माथि उठान सक्ने प्रशिक्षक छनोट गरिनेछ ।’

क्यानले प्रमुख प्रशिक्षकका लागि आवेदन दिन सूचना निकाल्दा विभिन्न मापदण्ड तोकेको थियो । जसमा इसीबी वा क्रिकेट अष्ट्रेलियाको लेभल ३ वा सो सरहको योग्यता सहित ५ वर्षको प्रशिक्षण अनुभव हुनुपर्ने उल्लेख छ । एसोसियट्स राष्ट्रको क्रिकेट बुझेको हुनुपर्ने प्रशिक्षकलाई प्राथमिकतामा राखिने छ ।

पर्सीबाट नेपालको घरेलु एक दिवसीय प्रतियोगिता प्रधानमन्त्री कप सुरु हुँदैछ । क्यानले सकभर प्रधानमन्त्री कप अगाडि नै प्रमुख प्रशिक्षकको टुंगो लगाएर नेपाल बोलाइसक्ने योजना बनाएको थियो । तर, उक्त योजना सफल हुन सकेन । क्यान स्रोतका अनुसार प्रधानमन्त्री कपकै दौरान नयाँ प्रशिक्षक नेपाल आउने सम्भावना छ । प्रधानमन्त्री कप आउँदो फागुन २५ देखि चैत १६ सम्म आयोजना हुँदैछ । नयाँ प्रशिक्षकको पदावधि कति हुने भन्ने खुलाइएको छैन ।

क्यानले सूचनामा प्रशिक्षक विदेशी नै हुनुपर्ने अनिवार्यता गरेको छैन । तर, अन्य मापदण्डहरुका कारण नेपालीहरुबाट खासै आवेदन नपरेको स्रोत बताउँछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।