बुटवल । बुटवलमा आयोजित सर्वाधिक पुरस्कार राशीको अल नेपाल ओपन बुटवल मेयर कप स्नुकर च्याम्पियनशिपको उपाधी हेटौडाका सोम लामाले जितेका छन् । खस्यौली स्नुकर क्लब बुटवलमा भएको ७ घण्टा लामो खेलमा सोमले बिर्तामोडका सरोज गौतमलाई ७–५ अंक अन्तरले पछाडि पार्दै उपाधि जितेका हुन् ।
वेस्ट अफ १३ का आधारमा खेलाईएको खेलमा शुरुका ५ सेट सोम लामाले लगातार जितेका थिए । त्यसपछि सरोजले लगातार ४ सेट जितेका थिए । दशौं सेट सोमले जितेर अग्रता बढाउँदा एघारौं सेट सरोजले जितेपनि बाह्रौं सेट जितेर सोमले उपाधीमाथि कब्जा जमाउन सफल भए । नेपाल विलियर्डस स्नुकर तथा पुल संघ रुपन्देही र खस्यौली स्नूकर क्लबको संयुक्त आयोजनामा फागुन १२ देखि सुरु भएको प्रतियोगितामा देशभरबाट १२८ जना खेलाडीले भाग लिएका आयोजक संघका महासचिव प्रकाश क्षेत्रीले बताए ।
प्रतियोगिताको उपाधी विजेता सोम लामाले ३ लाख ३ हजार, उपविजेता सरोजले एक लाख एक हजार नगद राशी हात पारे । उपाधि विजेता लामाले हाइएस्ट ब्रेकरको समेत उपाधि चुम्न सफल भए । सो उपाधि बापत हुने नगद ५५ हजार पुरस्कार राशी प्राप्त गरे । यसैगरी सेमिफाइनलमा पुगेका बुटवलका रेगन श्रेष्ठ र काठमाडौंका वाङ चु तामाङले नगद ३०÷३० हजार रुपैया प्राप्त गरे । विजेता खेलाडीहरुलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, नगरका प्रवक्ता शिव राना, आयोजक संघका अध्यक्ष सुजन पुन, बुटवल ५ का वडाध्यक्ष हरिप्रसाद श्रेष्ठ, ६ का वडाध्यक्ष लोकनाथ न्यौपाने, खेल संयोजक शिशिर गुरुङले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।
हाल सम्मकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताले स्नुकर खेल र बुटवलको नाम थप उचाइमा पुराएको वक्ताहरुले बताएका थिए । प्रतियोगितालाई बुटवल उपमहानगरले मुख्य आर्थिक सहयोग गरेको थियो भने सिंह कम्प्लेक्सका महेशमान सिंह, आवास ग्रुपका महेश थैब, आयोजक संघका पूर्व अध्यक्ष हरी क्षेत्री, बुटवल वडा न १, ४,५,६,१० लगायत विभिन्न व्यक्ति, संघ संस्थाले आर्थिक सहयोग गरेका थिए ।
प्रतियोगिताको समापन समारोहमा सञ्चार क्षेत्रबाट योगदा पुर्याएको भन्दै संघले नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वाष ढकाल र पत्रकार टोपराज शर्मालाई नगद राशीसहित सम्मान गरेको थियो ।
प्रतिक्रिया