ताजा अपडेट »

‘प्रेस स्वतन्त्रतामा अङ्कुश लाग्ने गरी कानुन बन्दैन’

शुक्रबार, २३ फागुन २०८१, १३ : ३५
18 Shares
शुक्रबार, २३ फागुन २०८१
18 Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाबाट प्रेस स्वतन्त्रता कुण्ठित हुने कुनै पनि प्रकारको कानुन नबन्ने स्पष्ट पारेका छन् । 

अर्थप्रधान सञ्चार माध्यमहरुको छाता संस्था इकोनोमिक मिडिया एशोसिएशन नेपाल (इमान)को आज राजधानीमा सम्पन्न दोस्रो वार्षिकोत्सव तथा साधारण सभालाई सम्बोधन गर्दै सभामुख घिमिरेले संविधान प्रदत्त प्रेस र अभिव्यक्ति स्वतन्त्रताको मर्म विपरीत जान नहुनेमा आफू स्पष्ट बताए । 

“संसद्मा विचाराधीन विधेयकबारे तपाईंहरूको चासोबारे म जानकार छु । प्रेस स्वतन्त्रतामाथि कुनै पनि हालतमा बन्देज लगाउने काम हुँदैन-हुने छैन”, उनले भने । उनले कुनै पनि कानुनले पत्रकारिताको स्वतन्त्र अभ्यासमा अवरोध पुर्याउने, सूचनाको पहुँच रोक्ने वा पारदर्शीतालाई कमजोर पार्ने प्रयत्न गर्नु नहुनेमा पनि जोड दिए । 

देश अहिले सङ्क्रमणकालीन अर्थतन्त्रको चरण पार गर्दै उद्योग, पूर्वाधार विकास, वित्तीय स्थायित्व र लगानीमैत्री वातावरणको निर्माण गर्ने दिशामा अगाडि बढिरहेको उल्लेख गर्दै उनले विगतका आर्थिक नीतिलाई परिमार्जन गर्दै नयाँ सम्भावना खोज्ने क्रममा सरकार, निजी क्षेत्र, वित्तीय संस्था र सञ्चार क्षेत्रबीच सुदृढ सहकार्य आवश्यक रहेको धारणा समेत राखे । 

तथ्यमा आधारित समाचारका लागि आवश्यक तथ्याङ्क उपलब्ध गराउने प्रवृत्ति विकसित हुन नसकेको, विज्ञापन र आर्थिक लाभका कारण कतिपय अवस्थामा समाचार सङ्कलनमा प्रभाव पर्ने गरेको उल्लेख गर्दै चिन्ता व्यक्त गरे । आर्थिक पत्रकारिता केवल समाचार सम्प्रेषणको माध्यम मात्र नभई, नीति–निर्माण र दिगो विकासलाई दिशा दिने एक महत्त्वपूर्ण साधन हुनुपर्ने उनको धारणा थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।