काठमाडौं । बुद्व एयरको जहाज जनकपुर विमानस्थलमै पांग्रा छोडेर काठमाडौं आइपुगेको घटना सार्वजनिक भएको छ । बिहीबार जनकपुरबाट काठमाडौं उडान भर्ने क्रममा जहाजको पांग्रा हराएको हो ।
बुद्ध एयरको एटीआर ७२ जहाज अगाडिको एउटा पांग्राबिना नै जनकपुरबाट उडान भरेको थियो । जहाजको पांग्रा नभएकोबारे चालकदलका सदस्यहरूलाइ काठमाडौं ल्याण्ड हुने बेलामा मात्र जानकारी भएको हो ।
बुद्ध एयरका प्रवक्ता रुपेश जोशीले पांग्रा बिनै उडान भरिएको स्वीकार गरे । त्यस्तै, जनकपुर विमानस्थलमा जाँच गर्दा पांग्रा धावनमार्गमै फेला परेको र यो विषयमा अनुसन्धान सुरु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जनाएका छन् ।
बुद्धको युफोर ५०६ उडान नम्बरको एटीआर ७२ नामक एएनएच जहाजले काठमाडौंस्थित त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा अवतरण गरेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले भने जनकपुरबाट काठमाडौं आएको विमानको पांग्रा नभएको विषयमा पार्किङमा पुगेपछि मात्र थाहा भएको र यसको अनुसन्धान अघि बढीसकेको बताए ।
प्रतिक्रिया