ताजा अपडेट »

प्रतिनिधिसभा शून्य समय : विकासमा विभेद हुने गरेको सांसदहरुको गुनासो

विहीबार, २२ फागुन २०८१, १६ : ०२
32 Shares
विहीबार, २२ फागुन २०८१
32 Shares

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्नेक्रममा सांसदहरुले शक्ति र पहुँचका आधारमा बजेट विनियोजन हुने गरेको र विकासमा विभेद हुने गरेको गुनासो गरेका छन् ।

सांसद अनिसा नेपालीले राजनीतिक अस्थिरताका कारण विकास योजना प्रभावित बनेको धारणा राखिन् । विकासमा पनि दलीय विभेद हुनेगरेको उनको भनाइ छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउँदा विकास योजना छनोट र रकम विनियोजनमा विभेद नगर्न उनले आग्रह गरिन् । त्यसैगरी सांसद अम्मरबहादुर थापाले मुलुकको हितमा भन्दा पनि कुनै व्यक्ति वा समूहलाई लाभ मिल्ने गरी बजेटमा योजना पारिने बताए । शिक्षा, स्वास्थ्य, कृषिलगायत उत्पादनका क्षेत्रमा बजेट केन्द्रित गरिनुपर्ने उनको भनाइ छ । वितरणमुखी बजेट रोक्न उनले आग्रह गरे ।

सांसद अम्बरबहादुर रायमाझीले चालु आर्थिक वर्षको बजेटमा परेका अधिकांश योजना अहिलेसम्म पनि कार्यान्वयनमा आउन नसकेको र निर्माणको काम अलपत्र परेको बताए । ठेक्का प्रक्रियामा भएको ढिलाइ र ठेकेदारले आयोजना अलपत्र पार्दा समस्या भएको उनको भनाइ छ ।

अर्का सांसद अर्जुन नरसिंह केसीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत नियुक्तिमा बिचौलिया हावी भएको आरोप लगाए । उनले निजी क्षेत्रलाई नयाँ स्टकको लाईसेन्स दिनुअघि नेप्सेको पुनःसंरचना आवश्यक पर्ने बताए ।

सांसद अशोककुमार चौधरीले थारुहरुको हकका लागि भएका व्यवस्थाको कार्यान्वयन हुन नसकेको बताए । थारु समुदायको पहिचान र अधिकारको सुनिश्चितताका लागि उहाँले संसद्मार्फत् सरकारको ध्यानाकर्षण गराए ।

सांसद आश्माकुमारी चौधरीले दाङमा निर्माणाधीन सडक पुलमा भएको ढिलासुस्तीको विषयबारे संसद्मा कुरा उठाइन् ।

अर्का सांसद असिम शाहले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले कार्यसम्पादनमा शून्य अङ्क दिएर अपमान गरेको बताए । राम्रो गर्नेलाई सरकारले नियतवश र पूर्वाग्रही भएर दुःख दिइरहेको उनको आरोप छ ।

सांसद आशा विकले बाँकेमा औद्योगिक क्षेत्र घोषणा भएका स्थानको जग्गा विवाद चाँडो टुङ्गाउनुपर्ने बताइन् ।

सांसद ईश्वरबहादुर रिजालले पछिल्ला दिनमा संसद्मा अशिष्ट, संसदीय र अमर्यादित शब्द प्रयोग गर्ने क्रम बढेको बताए ।

सांसद ईश्वरी घर्तीले अध्यादेश पारित गर्दा सत्तापक्षसँगका सांसद माथि सांसद  किनबेचको आरोप लागेको उल्लेख गर्दै त्यसलाई पुष्टि गर्न चुनौती दिए । अध्यादेश पारित गर्नका लागि सांसद किनबेच भएको र आर्थिक चलखेल भयो भनेर संसद्मै विषय उठेको बताउँदै उनले यस्तो आरोपमा सत्यता नरहेको स्पष्ट पारे ।

सांसद ईश्वरीदेवी न्यौपानेले योगमाया न्यौपानेलाई राष्ट्रिय विभूति घोषणा गर्न माग राखिन् । अर्का सांसद उर्मिला माझीले मेलम्ची खानेपानी आयोजनाका पाइप पटक–पटक फुटेर त्यसले पारिरहेको असर बारे संसद्मा कुरा उठाइन् । कसको कमजोरीका कारण पटक–पटक पाइप फुटेको हो भनेर छानबिन गरिनुपर्ने उनको भनाइ छ ।

अर्का सांसद डा चन्दा कार्की भण्डारीले मेलम्ची खानेपानीको मुहान असुरक्षित र वितरण प्रणाली अस्तव्यस्त रहेको बताए । पाइपको गुणस्तर कमजोर रहेको हुनसक्ने बताउँदै गुणस्तर परीक्षणका लागि प्रयोगशाला स्थापना गरिनुपर्ने धारणा उनले राखे ।  

सांसद एकनाथ ढकालले संसद्को प्रभावकारितामा जोड दिए । निर्माणाधीन नयाँ संसद् भवनमा सबै सांसदलाई कार्यकक्षको व्यवस्था गरिनुपर्ने माग उनले राखे ।

सांसद कान्तिका सेजुवालले नेपालमा प्रयोग भइरहेको नुनमा आयोडिनको मात्रा बढी भएको विषय संसद्मा उठाइन् । सरकारी प्रयोगशालामा परीक्षण गर्दा अत्यधिक मात्रामा आयोडिन रहेको पुष्टि भएको र यसले स्वास्थ्य समस्या निम्ताउन सक्ने उनको भनाइ छ ।

सांसद कालुराम राईले संसदको काम कानून बनाउने र स्थानीय तहले विकास निर्माणका काममा केन्द्रित हुनुपर्ने धारणा राखे । 

सांसद किरणकुमार साहले सरकारी स्वामित्वको गौरस्थित राइस मिलको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने प्रपञ्च भइरहेको बताए ।

सांसद गणेश पराजुलीले चक्रपथको दोस्रो खण्डको निर्माणमा ढिलाइ भएको विषय उठाए । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान र कारबाही प्रक्रिया कहाँ पुगेको छ ? भनेर समेत उनले सरकारसँग प्रश्न गरे ।

सांसद गोकुलप्रसाद बाँस्कोटाले बाढी पहिरोको जोखिम भएका बस्ती सार्नका लागि सुरक्षित स्थानमा जमिनको व्यवस्था मिलाइनुपर्ने बताए । काभ्रेका विभिन्न स्थान बाढीको जोखिममा रहेकाले त्यहाँका बासिन्दालाई अन्यन्त्र सार्न अति आवश्यक रहेको उनको भनाइ छ ।

सांसद गंगा कार्कीले दोलखा–लामबगर–लप्ची नाका खोल्नका लागि काम अघि बढिसकेको बताउँदै यसमा शीघ्रता दिइनुपर्ने बताइन् । त्यस्तै, बाढीले क्षति पुर्याएका सडक निर्माणको पुनःर्निमाणलाई तीव्रता दिनुपर्ने उनको भनाइ छ ।

सांसद गंगाप्रसाद यादवले सिरहामा भूमिगत पानीका स्रोत सुक्दै गएको र पानीको अभाव सृजना भएको बताए ।

सांसद चन्द्रकान्त भण्डारीले सरकारमा रहेका व्यक्तिलाई प्रश्न गरेकै आधारमा पत्रकारको पास रद्द भएको विषय संसदमा उठाए ।

सांसद चन्द्रबहादुर विश्वकर्माले भारतका विभिन्न स्थानमा राम्रो जागिर लगाइदिने भन्दै नेपाली युवाबाट पैसा असुली गर्ने गिरोह सक्रिय रहेको बताए । अवैध नेटवर्किङ धन्दामार्फत् नेपाली युवालाई फसाउन काम भइरहेको उनको भनाइ छ ।

सांसद छिरिङ डम्डुल लामा भोटेले नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने र बिचौलिया तथा दलाललाई प्रश्रय दिने शैलीमा सरकारले काम गरिरहेको आरोप लगाए ।

सांसद छिरिङ ल्हामु लामा (तामाङ)ले सरकारले लोकतन्त्रको धज्जी उडाएर मनोमानी रूपमा काम गरिरहेको आरोप लगाए । अहिलेका शासकबाटै लोकतन्त्र सङ्कटमा परेको उनको भनाइ छ ।

सांसद जावेदा खातुन जागाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सौर्य एअरलाईन्सको जहाज दुर्घटनाका मृतकका परिवारले हालसम्म पनि क्षतिपूर्ति नपाएको विषय संसद्मा उठाए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।