ताजा अपडेट »
यात्रा संस्मरण

मनका कुरा वनमा

विहीबार, २२ फागुन २०८१, ०७ : १९
162 Shares
विहीबार, २२ फागुन २०८१
162 Shares

आँखा मिच्दै बुटवलबाट पाल्पातिर हिड्दा विहानको पाँच बजेको थियो । गोलपार्कबाट इभी मोटर बर्तुङ्गसम्मका लागि चढियो । तिनाउको दोभानबाट रोमबहादुर लम्तरी चढे । डिभिजन वन कार्यालयका प्रमुख नारायणदेव भट्टराई सरसँग बर्तुङ्गमा भेट भएपछि पूर्वीपाल्पाका लागि दौडाए चालक लक्षुले । अघि बढ्दै गर्दा रम्भा गाउँपालिका-३, पीपलडाँडा, सिमीघारीमा रहेको नर्सरी हेरियो । खयरको बेर्ना उत्पादन गर्नका लागि उक्त नर्सरी बनाइएको रहेछ । निसर्दीमा रहेको खहरेखोला सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ताहरुसँग भेटघाट गरियो । उनीहरुले आफ्नो सामुखायिक वनमा तारबार गर्न सहयोग मागे । वृक्षरोपण गरिएपनि बस्तुभाउबाट जोगाउन कठिन भएको सुनाए । बुढा खयरका बुटा काट्ने अनुमति मागे । वनको खाता खुल्ला गर्न अनुरोध गरे । हाकिम साहेवले उपभोक्ताहरुका मन बुझाएपछि अघि बढियो । त्यहाँबाट हामी रामपुर नगरपालिका-८, भुजातमा रहेको नमस्ते कटेजमा कालीगण्डकीको माछासँग भात खान पुगियो । विहान नौ नबज्दै खाना खाएपछि यात्रामा वन,वातावरण र जैविक विविधता संरक्षणका बारेमा लामो कुरा गरियो । 

काउलेडाँडा : अम्रिसोको राजधानी 
कबुलियती वनकै कारण पूर्वीपाल्पा,निस्दी गाउँपालिकाका काउलेडाँडा र झ्याल्टुङ्ग प्रख्यात छन् । अम्रिसोको राजधानी भनेर चिनिने काउलेडाँडालाई इलामको चियाबगानसँग दाँजिन्छ । वर्षेनी हजारौंका संख्यामा आन्तरिक पर्यटकहरु काउलेडाँडाको अम्रिसो हेर्न पुग्छन् । यतिबेला पर्यटकका गास, बासका लागि स्थानीयहरुले होमस्टे सुरु गरेका छन् । अम्रिसो बेचेर गाउँलेहरुले मनग्यै आम्दानी गरेका छन् । आम्दानी गरेका पैसालाई स्थानीय काउलेडाँडा कबुलियती वन कृषि सहकारी संस्था र इन्द्रेणी कृषि बहुउद्देश्यीय सहकारी संस्थामा जम्मा गरेका छन् । घरखर्च, वरव्यवहार, सन्तानका शिक्षादीक्षा, ओखतीमूलो गर्ने काम यिनै सहकारीबाट कर्जा लिइ गर्जो टारेका छन् । 

gaun

दुई सय २७ हेक्टर क्षेत्रफलमा १९ वटा कबुलियती सामुदायिक वन समूहहरु गठन गरेर करिव दुई सय ५० घरहरुलाई समावेश गरी २०६६ सालबाट कबुलियती वनको प्रारम्भिक कामले २०७० तिर आउँदा सफलता हाँसिल गरेको थियो । कबुलियती वन समूह बनाउने,परिचालन गर्ने अनि अम्रिसो खेतीलाई व्यवसायिक खेतीका रुपमा लैजान पहल गर्ने यतिबेलाका डिभिजन वन कार्यालयका वरिष्ठ डिभिजनल वन अधिकृत नारायदेव भट्टराई त्यतिबेला अधिकृतका रुपमा काम गर्दा रहेछन् । युएनको आर्थिक एवम् प्राविधिक सहयोगमा निस्दीका गाउँहरुमा उनै नारायण सरले स्थानीयहरुसँगै काम गरेर वन विभागको सहयोगमा आजको काउलेडाँडा बनेको हो । उनले चारवर्ष पूरै समय कबुलियती वनका लागि ग्रामीण क्षेत्रमा बसेर बिताए । हैसियत बिग्रेका सरकारी जग्गामा वनमाराका झ्याङ्गहरु थिए । समूहहरु गठन गरेपछि गाउँलेहरुले वनमाराहरुलाई मासे । पहिलो वर्ष मकै लगाए । प्रशस्तै उब्जनी भयो । दोस्रो वर्षदेखि अम्रिसो रोपण सुरु गरे । 

अम्रिसोबाट आम्दानी 
अम्रिसोको गाँज यतिबेला काउलेडाँडामा मात्र १५ हजारभन्दा बेसी छ । वर्षमा तीन करोडभन्दा धेरैको अम्रिसो बेचेकै छन् गाउँलेहरुले । पशुपालन गरेका छन् । भेटेनरी पसल चलेकै छ । पशुपालनबाट पैसा आम्दानी गर्नेको संख्या बाक्लै छ । अम्रिसोको गाँज पुराना हुन थालेका छन् । नयाँ गाना लगाउनु पर्नेबेला आएको छ । प्रत्येक गाँजमा एक किलोका दरले मल हाल्नुपर्ने बेला भएको वनका हाकिम नारायण सरले बताए । अम्रिसोको गाँज पुरानो हुन थालेपछि उत्पादन घट्दै जाने रहेछ । जसका  कारण आम्दानीमा पनि कमी हुने उनले बताए । 

अर्निपानी : कुराकानी 
वनमारा फाँड्ने, खोरिया सफा गर्ने, अम्रिसोको गाना लगाउने कामका लागि स्थानीयहरुसँगै आफूले पनि सँगै काम गरेको अनुभव नारायण सरले सुनाए । गाउँलेहरुसँगै अर्निपानी खाने, रमाउने उतिबेलाकै मिहिनेत र श्रमले होला यतिबेलासम्म आफूलाई रोग लागेर नियमित कुनै औषधी खान नपरेको खुसी बाँडे । उतिबेला गाउँलेहरुमा उर्जा, जाँगर थप्नका लागि गरेको आफ्नो प्रयासले यतिबेला आफू हर्षित भएको सुनाए । लहलह अम्रिसोको फूल झुलेको देख्दा उनी क्षणभर नोष्टालजिया भए । सम्झे पुराना दिन । गाउँहरुलेका घर आगनमा पुगेको, गुन्द्रीमा बसेर मकै, भटमास खाएको । खोरियामा काम गर्दागर्दै थाकेर ढुंगामा आड लगाएर बसेको, गाउँलेहरुले ल्याएका अर्निलाई प्लाष्टिकमा दछ्छाएर मिलेर खाएको, बेलामौकामा चोंचे काटेको, झाम्रे नाँचेको । उनले यी कुरा भनिरहँदा उनको मस्तिष्कमा फिल्मको रील घुमेझैं घुमिरहेका थिए अतीत । त्यही भएर नारायण सरलाई वन विभागतिर कबुलियतीको नारायण भनेर चिन्दा रहेछन् । 

amriso

निस्दीको वडा नं.५, बेल्डाँडामा रहेको बुढीकोट सामुदायिक वनका अध्यक्ष हिमबहादुर पचभैयालगायत उनको टोलीसँगै केहीबेर वन डढेलो, वन संरक्षणका कुरा गरेर हामी निस्दीको काउलेडाँडा पुगेका थियौं । काउलेडाँडामा अम्रिसोका कुरा गर्न स्थानीयहरु जम्मा भएका रहेछन् । निस्दी सवडिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत नन्द अधिकारीले गाउँलेहरुसँग कबुलियती वनका बारेमा भए गरेका वा आफूलाई आवश्यकताका परेका बोटविरुवाका बारेमा आफ्ना कुरा राख्न अनुरोध गरे । गाउँलेहरुले अम्रिसोको नयाँ गाना रोप्नुपर्ने, कागती, टिम्बुरको बेर्नाको माग गरे । 

नारायण सरलाई देखेर स्थानीय कबुलियती वन समूहका उपभोक्ताहरु झ्याम्मिए । मनका कुरा खुलेर राखे । अम्रिसोले आफ्ना जीवनमा उन्नति भएको कुरा सुनाए । आम्दानीका थप नयाँ बाटाहरु खोजिदिन समेत अनुरोध गरे उपभोक्ताहरुले । नारायण सरले पनि अम्रिसो लगाउने बेलाको कुरा सम्झाए उनीहरुलाई । यतिबेला टिम्बुर,आँप,सुन्तला,कागतीको बेर्ना उपलब्ध गराउन सकिने बताए । गाउँलेहरुको एकतालाई सलाम गरे । 

केमबहादुरको गाउँ खोप्लाक पुग्दा...
साविक मित्याल गाविसका अध्यक्ष रहेछन् केमबहादुर खाम्चा । उनलाई तत्कालीन बिद्रोही माओवादीहरुले सफाया गरेका रहेछन् । सुराकीका नाममा । उनले सुराकी गरेका थिए वा उनको राजनीतिक प्रतिशोधपूर्ण हत्या के थियो ? खोज, अनुसन्धानकै विषय रहला । उनकै नाममा मित्यालमा केमबहादुुर खाम्चा स्मृति प्रतिष्ठान खोलिएको रहेछ । तीन तले भवन रहेछ । यतिबेला देवीलाल लामिछाने उक्त प्रतिष्ठानका अध्यक्ष रहेछन् । उक्त भवनमा नेकपा एमालेको स्थानीय पालिका कमिटीको सम्पर्क कार्यालय समेत रहेछ । 

केमबहादुर खाम्चाको गाउँ खोप्लाक पुगियो । उनका घरपरिवारलाई भेट्ने रहर पूरा हुन सकेन । त्यहाँ नजिकै न्यौबहादुर सुनारीको घर समेत रहेछ । न्यौबहादुर, पुरानो शिक्षक र निस्दी वडा नंं.४, मित्यालको वडाध्यक्ष समेत थिए । उनको मृत्यु भएकोले उनकै स्मृतिमा गाउँपालिकाले न्यौबहादुर स्मृति भवन बनाउन थालेको रहेछ । भवनमा महिला,युवा क्लवको कार्यालय बनाउने कुरा स्थानीय जनकल्याण आधारभूत विद्यालयका प्रअ लोकबहादुर सारुले बताए । न्यौबहादुरको असामायिक मृत्यु भएको रहेछ । उनीसँग मेरो परिचय र भेटघाट २०५२/०५३ तिर पाल्पाको तानसेनमा भएको थियो । गोरो,चिटिक्क परेका लोर्के उनी हेर्दै राम्रा थिए । पेन्सन पाकेपछि उनी वडाध्यक्ष भएका रहेछन् । उनकै स्मृतिमा बन्न लागेको भवन छिट्टै निर्माण कार्य पूरा होस् । 

खोप्लाकमा ३६ घरहरुमै सबै मगरजातिको बसोबास रहेछ । एक घर दलित परिवार पनि अरुणखोलातिर बसाइ सरेको कुराले नमिठो लाग्यो । गाउँले दिदीबहिनीहरुले हिड्नेबेला असुरोको फूलको मालाले बिदाइ गरे । अनौठो माला लगाइयो । फर्केर आउँदा हामीलाई निस्दी वडा नं.३, झिरुवासका अध्यक्ष नवीन थापा सोतीले मित्याल बजारमा पर्खि बसेका रहेछन् । क्षणको कुराकानी पछि हामी झ्याल्टुङ्गमा रहेको निस्दी सबडिभिजन वन कार्यालय पुगियो । कर्मचारी साथीहरुले खाजा र खाना पकाएका रहेछन् । गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुलगायतका पाका पुराना साथीहरुसँग भेट्ने, कुराकानी अवसर मिल्यो । खाना खाएर मुक्तबहादुर जीका सुत्न गइयो रोमबहादुर लम्तरी मगर र म । नारायण सरहरु आफ्नै कार्यालयमा सुते । 

dfgfdd

गाउँलेका गुनासा : वन्यजन्तुहरुले बाली नाश 
विहानै उठेपछि बारीका पाटाहरुमा मल बोक्ने माँचो देखें । मलका पहाडहरुले आकासतिर फर्केर पानीको आशा गरेको समेत भेटें । विहान आठ बजेतिर स्थानीय कबुलियती वन उपभोक्ताहरु वन उपभोक्ता समूहको कार्यालयमा आइपुगे ।  छोटो सूचनाले पनि करिव सय जनाजतिको उपस्थिति भएको देख्दा दङ्ग परे । स्थानीयहरुको एकता, उपस्थिति र चासोप्रति म कृतज्ञ भएँ । वनलाई जोगाउने र सही सदुपयोग गर्ने विषयमा मैले पनि केहीबेर आफ्ना कुराहरु राखें । आम्दानीसँग वनलाई जोड्ने कुरा उनीहरुलाई राम्रो लागेछ क्यारे । हिड्नेबेला केही साथीहरुले जिज्ञासा राखेको कारण थाहा लाग्यो ।

वन डढेलो र वन्यजन्तुका कारेमा नारायण सरले आफ्ना कुरा राखेका थिए । आफ्ना उब्जनीहरु बाँदर, बंदेल, दुम्सीले सत्यानाश गरेको पीडा उपभोक्ताहरुले पोखेका थिए । नारायण सरले कानूनी व्यवस्थाका बारेमा जानकारी दिए । वन संरक्षणका बारेमा बताए । उनका कुरा सुनेपछि गाउँलेहरु मख्ख परे । उनलाई नचिन्ने कोही रहेनछन् । धेरैसँग उनले भलाकुसारी गरे । अतीतका कुरा साटासाट गरे । वनमा काम गर्नेहरुसँग मनका कुराहरु गर्ने धेरै भेटे । मनका कुराहरु वनका साथीहरुसँग पोख्न पाउँदा खुसी लाग्दोरहेछ । 

निस्दीबाट निस्किदा... 
निस्दी गाउँपालिकाका जनप्रतिनिधिहरुसँग नारायण सरले वन डढेलो रोकथामका बारेमा छलफल कार्यक्रम गरे । रोमबहादुर सर र म भने केमबहादुर खाम्चा स्मृति भवनतिर लागियो । प्रतिष्ठानका साथीहरुसँग केहीबेर कुराकानी गरियो । उनीहरुको आफ्नै कार्यक्रम रहेछ । केहीबेर मलाई आफ्ना प्रशिक्षणात्मक कुराहरु समेत राख्ने अवसर मिल्यो । स्थानीय नरबहादुर सुनारी लगायतका साथीहरुप्रति कृतज्ञ छु । निस्दीबाट बुटवलतिर निस्क्दिा दिउँसोको एक बज्नै आँटेको थियो । बर्तुङसम्म नारायण सरको सारथी भइयो । म बुटवल आउँदा साँझको ६ बज्नै लागेको थियो । वनका कुरा मनमा खेलाउँदै घरमा आइपुगें ।

ddddddddd

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार