बुटवल । आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध शानदार जित निकाल्दै न्युजिल्याण्ड आईसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । उसले दक्षिण अफ्रिकालाई ५० रनले पराजित गरेको हो ।
न्युजिल्याण्डले प्रस्तुत गरेको ३ सय ६३ रनको विशाल लक्ष्य पछ्याएको दक्षिण अफ्रिकी टोलीले ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय १२ रन मात्र बनाउन सक्यो । टोलीका लागि रासी भान डेर डुसेनले ६९ रन जोडे । उनले ६६ बलमा ४ चौका र २ छक्का प्रहार गरे । कप्तान टेम्बा बाभुमाले ७१ बलमा ५६ रन बनाए । उनले ४ चौका र १ छक्का हिर्काए ।
खेलको अन्त्यतिर डेभिड मिलरले ६७ बलमा १०० रनको योगदान दिए पनि टोलीलाई जित दिलाउन सकेनन् । उनले १० चौका र ४ छक्का प्रहार गरे । ऐडन मार्क्रमले ३९ बलमा ३१ रन बनाए भने रायल रिकेल्टनले १७ रन तथा कागिसो रबाडाले १६ रन बनाए । न्युजिल्याण्डका लागि मिचेल स्यान्टनरले १० ओभर बलिङ गर्दै ४३ रन खर्चेर ३ विकेट लिए । ग्लेन फिलिप्स र म्याट हेनरीले २–२ विकेट हात पारे भने माइकल ब्रेसवेल र रचिन रविन्द्रको नाममा १–१ विकेट रह्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा कीर्तिमानी ३ सय ६२ रन बनाएको थियो । कुनै पनि टोलीले च्याम्पियन्स ट्रफीमा बनाएको यो सबैभन्दा ठूलो स्कोर हो । यसअघि यही प्रतियोगितामा अस्ट्रेलियाले इंग्ल्याण्डविरुद्ध लाहोरमा ५ विकेटको क्षतिमा ३५६ रन बनाएको थियो ।
टोलीका लागि रचिन रवीन्द्र र केन विलियमसनले शतकीय इनिङ्स खेले । रचिनले १०१ बलमा १०८ रन जोडे । उनले यसक्रममा १३ चौका र १ छक्का प्रहार गरे । रचिनको एकदिवसीयमा यो पाँचौ शतक थियो । रोचक कुरा, उनले सबै शतक आईसीसी प्रतियोगितामा बनाएका हुन् । कुनै पनि अन्य ब्याटरले यो उपलब्धि हासिल गर्न सकेका छैनन् । यसअघि, बंगलादेशका महमुदुल्लाहले आईसीसी प्रतियोगितामा आफ्ना सबै ४ शतक बनाएका थिए ।
त्यस्तै, विलियमसनले ९४ बलको सामना गर्दै १०२ रन बनाए । उनले १० चौका र २ छक्का प्रहार गरे । ग्लेन फिलिप्सले नट आउट रहेर ४९ रनको योगदान दिए । मात्र २७ बलमा उनले ६ चौका र १ छक्का हिर्काए । डेरल मिचेलले ३७ बलमा ४९ रन जोडे भने माइकल ब्रेसवेलले १६ रन बनाए । दक्षिण अफ्रिकाका लागि लुंगी एनगिडीले १० ओभर बलिङ गर्दै ७२ रन खर्चेर ३ विकेट लिए । त्यस्तै कागिसो रबाडाले २ विकेट तथा वियान मुल्डरले १ विकेट हात पारे ।
आइतबार हुने फाइनल खेलमा न्युजिल्याण्डले पहिलो सेमिफाइनलको विजेता भारतको सामना गर्नेछ । भारतले पहिलो सेमिफाइनल खेलमा अस्ट्रेलियालाई ४ विकेटले पाखा लगाएको थियो । न्युजिल्याण्ड र भारत यो प्रतियोगितामा यसअघि समूह चरणमा आमनेसामने भएका थिए । समूह ए मा रहेका दुवै टोली १२ औँ खेलमा भिडेका थिए । त्यतिबेला भारत ४४ रनले विजयी बनेको थियो ।
यी दुई टोली सन् २००० मा केन्यामा आयोजना भएको च्याम्पियन्स ट्रफीको फाइनलमा भिडेका थिए । त्यतिबेला यो प्रतियोगितालाई आईसीसी नकआउट ट्रफी भनिन्थ्यो । प्रतियोगिताको फाइनल खेलमा न्युजिल्याण्डले भारतलाई चार विकेटले हराउँदै दोस्रो संस्करणको उपाधि चुमेको थियो । फाइनल खेलमा भारतले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर दुई सय ६४ रन बनाएको थियो । भारतका लागि सौरभ गांगुलीले एक सय १७ रन बनाएका थिए । जवाफी ब्याटिङमा ओर्लिएको न्युजिल्याण्डले ४९.४ ओभरमा ६ विकेट गुमाएर विजय लक्ष्य पूरा गरेको थियो ।
प्रतिक्रिया