बुटवल । रूपन्देहीको सैनामैनामा जारी सुनगाभा सैनामैना गोल्डकपमा अभिषेक चर्च रजहर विजयी भएको छ । मुर्गिया फुटबल क्लबको आयोजनामा सैनामैना फुटबल रंगशाला मुर्गियामा जारी प्रतियोगिता अन्तरगत बुधबार भएको खेलमा एपीएफलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।
खेल शुभारम्भ भएको २ मिनेटमा नै अभिषेक चर्चका लागि जर्सी नम्बर ७ का सूचित बुढाथोकीले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । खेलको ११ औं मिनेटमा सशस्त्रका लागि जर्सी नम्बर ७७ का भरत कपालीले गोल गर्दै टिमलाई बराबरीमा पुर्याएका थिए। पहिलो हाफमा दुबैतर्फबाट गोलपोष्टमा एकपछि अर्को प्रहार भएपनि जाली चुम्न भने सकेन । दुबैतर्फका गोलरक्षकले उत्कृष्ट बचाउ गरिरहे । अभिषेक चर्चको उत्कृष्ट प्रहारलाई सशस्त्रका गोलकिपर अतिप श्रेष्ठले पटकपटक बचाएका थिए।
खेलको दोस्रो हाफको ४६ औं मिनेटमा भने अभिषेक चर्चका शक्ति गुरुङले गोल थप्दै आफ्नो टिमलाई २–१ को अग्रता दिलाएका थिए। निकै नै प्रतिशतप्रधात्मक खेलमा नतिजाका लागि अन्तिम समयसम्म नै कुर्नुपर्ने देखिएको थियो । यद्यपि उत्कृष्ट प्रहारहरूलाई अभिषेक चर्चका गोलकिपर तोप बहादुर राणाले उत्कृष्ट रक्षा गर्दै आफ्नो टिमलाई जित दिलाएका थिए । यो जितसँगै अभिषेक चर्च सेमिफाइनल प्रवेश गरेको छ।
खेलमा आफ्नो उत्कृष्ट प्रस्तुति दिएका अभिषेक चर्च नवलपुरका जर्सी नम्बर ७ का खेलाडी सुजित बुढाथोकी म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत बिहीबार महावीर क्लब काठमाडौं र हनामी बिएफसी चितवन बीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ बजे सुरु हुने आयोजकले बताएका छन् ।
प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टिमले नगद ७ लाख रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्र र दोश्रो स्थान हासिल गर्ने टिमले नगद ४ लाख रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सेमीफाइनलमा पुगेर बाहिरीने दुई टिम नगद ४०र४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, राईजीङ्ग प्लेयर र उत्कृष्ट प्रशिक्षकलाई जनही १५ हजार रुपैयाँ र ट्रफि पाउनेछन् । प्रतियोगितामा ए डिभिजन, नेपाल पुलिस र मोफसलका क्लब गरी १० टोलीको सहभागीता रहेको छ ।
प्रतिक्रिया