काठमाडौं । प्रतिपक्षी दलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिएकामा आपत्ति जनाएका छन् । आज प्रतिनिधिसभाको बैठकमा ऊर्जा मन्त्रालयले शून्य अंक दिएको विषयमा नेकपा ९माओवादी केन्द्र०, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले आपत्ति जनाएका हुन् ।
आज बैठक सुरु भएलगत्तै प्रतिपक्षी दलका सांसदहरू उठेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डलाई समय दिएका थिए । उनले घिसिङलाई शून्य अंक दिएकोबारे प्रश्न गरे ।
“शून्य अंक दिएको भनेको सुनेका छौँ, त्यो के हो ?,” उनले प्रश्न गरे ।उनले घिसिङलाई पटकपटक स्पष्टीकरण सोधेर सरकारले के भनेको हो ? भनेर पनि सोधे ।
आकस्मिक समयमा रास्वपाका सांसद मनिष झाले पनि राम्रो काम गरेका घिसिङलाई हटाउन लागिएको भन्दै आक्रोश पोखे । “एउटा कुलमानलाई लखेट्यौ भने हामी हजारौँ कुलमान लिएर आउनेछौँ,” उनले भने ।
राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले पनि घिसिङलाई के गर्न खोजेको हो रुु भनेर प्रश्न गरे । “कुलमान घिसिङलाई कारबाहीमात्रै होइन कि शून्य नम्बर दिने रे उहाँहरूको बस चल्ने हो भने त पास हुनेलाई फेल फेल हुनेलाई पास यो कस्तो हो ?,” उनले भने ।
उनले घिसिङलाई हटाउने प्रपञ्च गरेको भन्दै हटाए सदन र सडकबाट आवाज उठाउने चेतावनी दिए । “घिसिङलाई हटाउन प्रपञ्च गरिँदै छ रे, मन्त्रिपरिषद्को निर्णय हुँदै छ भन्ने सुन्न आएको छ । यदि कुलमान घिसिङलाई हटाइयो सदन र सडकबाट आवाज उठ्छ,” शाहीको चेतावनी छ ।
त्यसपछि सभामुख घिमिरेले उठेका विषयमा सभालाई जानकारी गराउन रुलिङ गरे । “उठेका विषयमा सभालाई जानकारी गराउन म निर्देश गर्दछु,” उनले भने ।
प्रतिक्रिया