ताजा अपडेट »

उद्योगीसँग ५ बुँदे सहमति, उपभोक्तालाई एलपी ग्यासको मुल्य बढेको हो ?

मंगलबार, २० फागुन २०८१, २२ : ३८
62 Shares
मंगलबार, २० फागुन २०८१
62 Shares

काठमाडौं । एलपी ग्यास उद्योगीहरुले आव्हान गरेको आन्दोलनका सबै कार्यक्रमहरु स्थगित भएका छन् । मँगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको ५ बुँदे सहमतिका आधारमा उद्योगीले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् ।

मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीसहितका सरकारी प्रतिनिधि र एलपी ग्यास व्यवसायीबीच भएको वार्ताबाट सहमति भएको हो । सहमतिमा फागुन १८ गते वाह्य ढुवानी र आन्तरिक ढुवानी भाडा समायोजन गरेको जानकारी गराइएको छ भने, मुनाफा प्रतिशतमा हुनुपर्ने मागलाई निरन्तरता दिई एलपी ग्यासको आपूर्ति सहज बनाउने उल्लेख छ । निगमले उपसमिति बनाइ अध्ययन गरी अघि बढाउने, व्यवसायीले कमिसन २.५ बाट ५ प्रतिशत गरेको मागका सन्दर्भमा भने निगमले उपसमिति बनाई काम अघि बढाउने कुराहरु उल्लेख गरिएका छन् ।
मन्त्रालयमा भएको छलफलपछि एलपी ग्यासको प्रति सिलिन्डिर १२ रुपैयाँ ७५ पैसा मूल्य बढाउने सहमति भएको छ । नेपाल आयल निगम र ग्यास उद्योगीबीच मूल्य बढाउने सहमती भएपनि उपभोक्तामाथि भने उक्त भार नथपिने निगमले जनाएको छ ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्टका अनुसार ग्यासमा प्रतिसिलिन्डिर १२ रुपैयाँ ७५ पैसा मूल्यवृद्धि भए पनि त्यो उपभोक्ताले तिर्नुपर्दैन । थप मूल्य निगमले नै व्यहोर्नेछ । 
आयल निगमलाई अहिले प्रतिसिलिन्डिर ३३० रुपैयाँ घाटा रहेको छ । उक्त घाटा पेट्रोल, डिजेल र हवाई इन्धनबाट मेकप भइरहेको निगमले जनाएको छ । अहिले दैनिक रूपमा १ लाख सिलिन्डर बिक्री हुने गरेको निगमले जनाएको छ । उद्योगीसँगको सहमतिअनुसार बढेको मूल्य जोड्दा प्रतिसिलिन्डिर ३४२ रुपैयाँ ७५ पैसा घाटा हुनेछ । ग्यास उद्योगीहरुसँग भएको सहमती अनुसार आन्तरिक र बाह्य ढुवानी भाडा समायोजन भएको छ । 
उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले उद्योगीका समस्याहरु समाधान गर्ने विषयमा सरकार सकारात्मक रहेको बताएकाछन् । उद्योगीका उपयुक्त मागहरु सरकारले प्राथमिकतामा राख्ने बताउँदै उनले सरकार सबैको हो भन्ने भावनाको विकास हुनुपर्नेमा जोड दिए ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।