बुटवल । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनरसिंह केसीले संविधान संशोधनको प्रक्रिया सुरु गर्नुपर्ने बताएका छन् । संसदमा सबैभन्दा ठूलो दल नेपाली काँग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेको वर्तमान सरकार संविधान संशोनका लागि निर्माण भएको बताउँदै उनले संविधान संशोधनको प्रक्रिया सुरु गर्नुपर्नेमा जोड दिएका छन् ।
‘अहिले देशमा दुई ठूला दल मिलेर सरकार गठन हुनुको कारण देशमा देखिएको अस्थिरता हटाउनु हो । जनतामा देखिएको निराशालाई हटाउन संविधान संशोधनका लागि गठन भएको हो । जनतालाई ढाट्नु हुँदैन, अब संविधान संशोधनको प्रक्रिया सुरु गर्नुपर्छ ।’–नेता केसीले भने संविधान संशोधनका लागि सबै पार्टी भित्रै पुनः मुल्याङ्कन हुन जरुरी छ । सरकारमा रहेका, नरहेका सबै दलसँग छलफल गरेर सहमतिपूर्ण निश्कर्ष निकाल्नु पर्छ ।’ संविधान संशोधनका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले झुक्क्याएको नेता केसीले बताए । ‘प्रधानमन्त्रीले कुन परिवेशमा ०८७ मा संशोधनको कुरा गर्नु भयो थाहा भएन तर सात बुँदे सहमतिको स्पिरिट विपरीत हो,यसो गरिनुहुँदैन’ उनले भने । अहिलेको अस्थिरताबाट देशको बिकास हुन नसक्ने बताउँदै उनले अहिलेको निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने बताए । प्रत्येक्ष कार्यकारी प्रधानमन्त्री प्रणालीमा जानु पर्ने बताउँदै उनले संविधान निर्माणको समयमा नेकपा एमालेले अघि सारेको प्रत्यक्ष प्रधानमन्त्रीको प्रस्तावलाई स्मरण गरे । ‘माओवादीले प्रत्येक्ष निर्वाचित राष्ट्रपतिको प्रस्तावमा थियो, एमाले निर्वाचित प्रधानमन्त्रीको प्रस्तावमा तर सहमति खोज्ने क्रममा अहिलेको व्यवस्था बन्यो ।’–उनले भने, ‘प्रत्येक्ष राष्ट्रपति प्रणालीमा जाँदा निरंकुशता हुन सक्छ, अब प्रत्येक्ष प्रधानमन्त्री प्रणालीमा जानुपर्छ भन्ने मेरो विचार हो ।’
नेपाल प्रेस युनियन रुपन्देहीले मँगलबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता केसीले सरकारले ल्याएको अध्यादेशलाई प्रतिस्थापन विधेक ल्याउनुपर्ने बताए । संसदलाई छलेर अध्यादशे ल्याउने विषयमा आफू सधै विपक्षमा रहेको उल्लेख गर्दै उनले अध्यादेशमा महत्वपूर्ण विषयहरु समेटिएको भए पनि गलत भएको बताए । अध्यादेशमा धेरै कुरा राम्रा हुँदाहुँदै पनि केही कुराहरु संशोधन गर्नुपर्ने भएकाले आफू प्रतिस्तापन विधेयकको पक्षमा रहेको उल्लेख गरे ।
फरक प्रसङ्गमा नेता केसीले काँग्रेसको १५ औँ महाधिवेशन समयमै गर्नुपर्नेमा जोड दिएका छन् । निर्वाचनपछि महाधिवेशन गर्नु उपयुक्त नहुने र यसले पार्टीको वैधानिक अस्तित्वमा नै संकट आउने बताउँदै उनले समयमै निर्वाचन गर्नुपर्नेमा जोड दिए । ‘काँग्रेसको विधान अनुसार ३ वर्षमा महाधिवेशन गर्नुपर्ने व्यवस्था छ । त्यसमा थप एक वर्ष म्याद थप्न पाउने व्यवस्था पनि गरिएको छ । यो अधिकारलाई प्रयोग गर्ने कुरालाई अन्यथा मान्न मिल्दैन ।’–नेता केसीले भने, ‘विधानमा एक वर्ष म्याद थप गरेपछि पनि विशेष अवस्थामा पुनः ६ महिना थप गर्न पाउने व्यवस्था भएपनि त्यसले निर्वाचनलाई प्रभावित गर्ने भएकाले त्यहाँसम्म जानु हुँदैन ।’
उनले १४औँ महाधिवेशनमा रहेको समूहलाई नै अगाडि बढाउनुपर्ने बताउँदै आफू नेतृत्व गर्न तयार रहेको संकेत पनि गरे। नेता केसीले आफूले उठाएका एजेन्डामा अरू नेताहरू सहमत नभए नेतृत्वको लागि तयार भएको बताए ।
प्रतिक्रिया