सैनामैना । प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिताको उदघाटन खेलमा आयोजक मुर्गिया फुटबल क्लबले विजयी सुरुवात गरेको छ । दोश्रो हाफको ४७ औं मिनेटमा मुर्गिया फुटबल क्लबका जर्सी नम्बर १८ का खेलाडी रोशन पहाडीले डि बक्सबाट गरेको प्रहार गोलमा परिणत भयो । त्यसपछिको खेलमा गोर्खा व्याइज बुटवलले बराबरी गर्ने प्रयास गरेपनि सफल हुन सकेन ।
खेलको पूर्वार्धमा मुर्गिया एफसी र गोर्खा व्याईज दुवै टिमले आकर्षक गोल गर्ने अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा रोकियो । मँगलबारको खेल नेपाल पुलिस क्लब र रुपन्देहीको फर्साटिकर फुटवल क्लबबीच हुनेछ ।
त्यसअघि खेल प्रतियोगिताको उदघाटन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले सैनामैनामै राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना हुनु गौरवको कुरा भएको बताउँदै खेलले सैनामैनाको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याएको बताए ।
सैनामैना नगरपालिकाका पूर्व नगर प्रमुख चित्रबहादुर कार्कीले कुनैपनि ठाउँको विकास गर्नका लागि स्थानीय श्रोत साधन र पहलकदमीले धेरै ठूलो काम गर्ने बताउँदै सैनामैनाका प्रत्येक वार्डमा स्टेडियम बनाएर खेलकुद क्षेत्रको विकाससँगै खेलाडी उत्पादनमा जोड दिनुपर्ने बताए । उनले यो स्टेडियमको निर्माण हुँदै गर्दा स्टेडियमले एउटा आकार दिन सफल भएको उल्लेख गर्दै सैनामैनाको खेल क्षेत्रमा यसले उत्साहको संचार गरेको उल्लेख गरे । सैनामैनाबाट पनि अब्बल खेलाडी जन्माउन सकिन्छ र त्यसमा स्थानीय सरकारको ध्यान जानुपर्ने बताए ।
कार्यक्रममा नेकपा माओवादीका पोलिटव्यूरो सदस्य बसन्त श्रेष्ठ खेलले टुटेको मनलाई जोड्ने गरेको बताउँदै खेलकुदले नेपालले गौरव गर्ने खेलाडीको विकास र प्रवर्द्धन गर्न मद्दत गर्ने उल्लेख गरे । सैनामैना फुटबल क्लबका खेल संयोजक अशोक खड्काको अध्यक्षतामा भएको कार्यक्रममा एन्फा रुपन्दहीका अध्यक्ष लोक पुन, सैनामैना नगरपालिका वडा नंं ४ का वडा अध्यक्ष रामप्रसाद अधिकारी लगायतले बोल्दै सैनामैनामा सुरु भएको राष्ट्रियस्तरको प्रतियोगिताले सैनामैना खेल पर्यटनको हब बन्ने विश्वास गरे । उदघाटन कार्यक्रममा स्वागत गर्दै क्लबका अध्यक्ष प्रविन भारीले सैनामैना गोल्डकपलाई सफल बनाउन सवैले गरेको सहयोगप्रति आभार प्रकट गरे । प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।
प्रतिक्रिया