काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उनलाई आर्थिक वर्ष २०८०/८१ मा गरेका कार्यसम्पादन मूल्यांकनमा यस्तो अंक प्रदान गरेको हो ।
मन्त्रालयकै सहसचिवमा जीवछ मण्डलको संयोजकत्वमा कार्यसम्पादन रहेको मूल्यांकन समितिले घिसिङलाई उक्त नम्बर दिएको हो । घिसिङले कार्यसम्पादन करार बमेजिम प्रगति प्रतिवेदन समयमा नबुझाएकाले उनलाई शून्य नम्बर दिइएको ऊर्जा मन्त्रालय स्रोतले जनाएको छ ।
कार्यसम्पादन करार गर्दा नै सार्वजनिक संस्थानका प्रमुखको कार्यसम्पादन मूल्यांकन भदौ मसान्तसम्म बुझाउनुपर्ने भन्ने व्यवस्था थियो । ‘उहाँले त्यो समयभित्र बुझाउनुभएन । मन्त्रालयले बारम्बार ताकेता गरेपछि पुस २५ गते मात्रै ल्याएर बुझाउनुभयो,’ मन्त्रालयका एक अधिकारी भन्छन्, ‘जाँच दिएर समयमा कापी बुझाउनुभएन, पछि ल्याएर बुझाउनुभयो भने त्यसमा के हुन्छ रु अहिले भएको यस्तै हो ।’
कार्यकारी निर्देशक घिसिङले भने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पेस गरेको कार्यसम्पादन मूल्यांकनमा ९८.९९ प्रतिशत अंक दाबी गरी कार्यसम्पादन सूचकांक विवरण पेस गरेका थिए । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले केही दिनअघि सोधको प्रष्टीकरणमा घिसिङले प्राधिकरणले गरेको प्रगति नै आफ्नो मूल्यांकन भएको जवाफ मन्त्रालयमा पठाएका थिए ।
मन्त्रालयमा प्रष्टीकरण बुझाएसँगै कार्यकारी निर्देशक घिसिङले आफू आएपछिका आठ वर्षमा प्राधिकरणले कमाएको नाफाको विवरण सार्वजनिक गरेका थिए । उनले आफू आउँदा ५०–५५ प्रतिशत रहेको विद्युत्को पहुँच ९९ प्रतिशत पुर्याएको, लोडसेडिङ अन्त्य गराएको र निरन्तर नोक्सानमा रहेको प्राधिकरणलाई नाफामा लैजान सफल भएको बताएका छन् ।
प्राधिकरणले गत आवमा १४ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको थियो । यो आर्थिक वर्षको ६ महिनामा मात्रै प्राधिकरणले ११ अर्ब बढी नाफा कमाएको विवरण प्रस्तुत गरेको छ ।
प्रतिक्रिया