ताजा अपडेट »

सरकारलाई थप बलियो र सुदृढ बनाउँछौँ : देउवा

सोमबार, १९ फागुन २०८१, १६ : ४२
46 Shares
सोमबार, १९ फागुन २०८१
46 Shares

बुटवल । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संयुक्त सरकारलाई थप बलियो र सुदृढ बनाएर लैजानुपर्नेमा जोड दिएका छन् । उनले यो सरकारमा काँग्रेसको उपस्थिति रहेको भन्दै जनसरोकारका विषयहरु हल गर्दै गठबन्धनलाई बलियो बनाउनुपर्ने जनाए ।

कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा सोमबारबाट भैरहवा सुरु क्षेत्रीय सभापतिका लागि प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै देउवाले ठूला दुई दलको सहभागितामा सरकार गठन भएकाले यो सरकार भोलिका दिनमा सफल हुने बताए ।

सरकारमा सहभागी नभएका विपक्षी दलको पनि मुलुक सञ्चालनमा ठूलो भूमिका रहेकाले समावेशी चरित्रको लोकतान्त्रिक शासन रहेको उनले बताए । नेता, कार्यकर्ताबीच कतिपय नमिलेका कुरालाई आपसमा छलफलका माध्यामबाट अन्त्य गरेर पार्टीलाई जीवन्त तुल्याउन भूमिका खेल्नुपर्नेमा उनले जोड दिए । ‘पार्टीलाई जीवन्त र मनमुटावरहित बनाउन सकेमा अझ आकर्षण बढ्दै जानेछ,’ उनले भने, ‘मुलुकभित्र मात्र नभएर बिदेशमा समेत हाम्रो पार्टीका प्रतिनिधिको संख्या बढ्ने देखिन्छ ।’

प्रतिष्ठानका संयोजक तथा पार्टी उपसभापति पूर्णबहादुर खड्काले सोमबार मध्यान्ह सुरु बन्द सत्रमा मुलुकको आर्थिक विषयका साथैं संघीयता कार्यन्वयनको अवस्थाबारे छलफल गरिने जानकारी दिए । ‘पहिलोपटक सामाजिक सञ्जालको प्रयोगमार्फत् पार्टी बिस्तारका सम्बन्धमा पाठ्यक्रम नै समावेश गरेर छलफल गर्दैछौं,’ उनले भने, ‘सँगसँगै पार्टीको क्रियाशील सदस्यता र सांगठनिक अवस्था र समसामयिक मुद्दा लगायत विभिन्न ६ वटा विषयमा बिज्ञहरुले प्रस्तुती दिनुहुनेछ।’

प्रशिक्षण मुुलुकभरका एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाका १ सय ३० जना क्षेत्रीय सभापति, १ सय ३० जना क्षेत्रीय प्रशिक्षण प्रतिष्ठान प्रमुख र एउटै निर्वाचन क्षेत्र भएका जिल्लाका क्षेत्रीय सभापति र उपसभापति ७० जना गरेर ३ सय ३० जनाको सहभागिता रहेको छ ।

यस्तै, पार्टीका जिल्ला, प्रदेश र संघीय प्रतिनिधिको सहभागिता समेत रहेको छ । उद्घाटन सत्रमा सभापति देउवा, उपसभापति खड्का, पार्टीका बरिष्ठ नेताहरु कृष्ण सिटौंला, शशांक कोइराला, पार्टी कोषाध्यक्ष उमेश श्रेष्ठ, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा, डा। प्रकाशसरण महत लगायतका नेताहरुको सहभागिता थियो । प्रशिक्षणमा सहभागि हुन सोमबार दिउँसो महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मापनि आउँदैछन् । केन्द्रीय निति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रमलाई नेपाली कांग्रेस रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिले व्यवस्थापन गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।