बुटवल । राष्ट्रिय महिला क्रिकेट टिमकी सदस्य तथा यू-१९ क्रिकेटकी कप्तान पूजा महतो र क्रिकेटर कविता कुंवर एक्स्ट्राटेक ओभलको ब्राण्ड एम्बास्डर नियुक्त भएका छन् । उनीहरुलाई आइतबार एक औपाचारिक कार्यक्रमका बीच एक्स्ट्राटेकका प्रवन्ध निर्देशक विनोद कुंवरले नियुक्तीपत्र हस्तान्तरण गरी एम्बास्डर घोषणा गरेका हुन् ।
रुपन्देहीको तिलोत्तमा स्थित एक्स्ट्राटेक ओभल मैदानमा आयोजित कार्यक्रममा बोल्दै नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंहले खेलाडीको प्रोत्साहनका लागि यो महत्वपूर्ण समझदारी भएको उल्लेख गरे । यसैगरी नेपालका अन्य व्यवसायिक प्रतिष्ठान र घरानाहरुले खेलाडीहरुलाई एम्बास्डर नियुक्त गरी आफ्नो व्यापार, प्रतिष्ठानहरुको प्रवर्द्धन गर्न सक्ने र खेलाडीहरुको लागि ठूलो आर्थिक आधार निर्माण गर्न सकिने उल्लेख गरे । निजी लगानीबाट एक्स्ट्राटेकले छोटो समयमै फ्लोर लाइटसहितको मैदान निर्माण गरेको देख्दा आफू चकित भएको उल्लेख गर्दै उनले अन्य खेलाडीहरुलाई समेत अनुबन्धित गरेर अवसर सिर्जनाका लागि भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
उपाध्यक्ष सिंहले सन् २०२७ हुने विश्वकपका लागि समेत एक्स्ट्राटेक ओभल क्रिकेट मैदानलाई क्यानले नजिकबाट हेरिरहेको उल्लेख गर्दै अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि काठमाडौं बाहिर पनि जानुपर्छ भन्नेमा क्यान पुगेको उल्लेख गरे । सोही अनुसार पहिलो पटक काठमाडौं बाहिर पीएम कपका सबै खेलहरु आयोजना गरिएको उनले बताए । फागुन २५ गतेदेखि चैत्र १६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिता लुम्बिनीका ३ वटा मैदानमा हुँदै छन् । जस अन्तरगत एक्स्ट्राटेकमा १५ वटा रुपन्देहीकै सिद्धार्थनगरमा १७ वटा तथा दाङमा १४ वटा खेल हुँदैछन् ।
अम्बास्डर नियुक्त भएपछि खुसी व्यक्त गर्दै राष्ट्रिय महिला क्रिकेटकी सदस्य तथा यू–१९ क्याप्टेन पूजा महतले सबैभन्दा खुसीको दिनको रुपमा वर्णन गरिन् । एक्स्ट्राटेक ओभल आफ्ना लागि लक्कि भएको उल्लेख गर्दै उनले भनिन्, ‘मेरो लागि यो मैदान एकदमै लक्कि साबित भएको छ । विश्वकप छनोटका लागि पनि यही मैदानबाट सेलेक्सनमा परेर म यू–१९ क्याप्टेन भई खेल्ने अवसरा पाए । यही मैदानमा पहिलो ब्राण्ड एम्बेस्डर पनि हुन पाएँ ।’ यसैगरी अर्का क्रिकेटर कविता कुंवरले आफ्नो लागि यो पहिलो खुड्किलो भएको उल्लेख गर्दै थप उत्साहित भएको अनुभूति सुनाइन् । अम्बास्डरका लागि नेपाल क्रिकेट संघ (क्यान)ले अनुमति दिएकोमा धन्यवाद ज्ञापन गरिन् ।
एक्स्ट्राटेकका प्रवन्ध निर्देशक विनोद कुंवरले आफू पनि क्रिकेट प्रेमी भएकै काराण करोडौं लगानीमा मैदान निर्माण गरेको र आफ्ना लागि भन्दा पनि सम्पूर्ण खेलाडी र देशका लागि भएको उल्लेख गरे । आफूसँग अनुबन्धित भएका खेलाडीहरुको खेल प्रवर्द्धनका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता गरे । ‘नेपाली खेलकुदमा यतिसम्म पनि सुविधा र अवसर पाइँदो रैछ, भन्ने उदाहरण बनाउनु भन्ने मेरो उद्देश्य छ ।’–कुंवरले भने, ‘खेलाडीहरुले अब खेलको मात्रै चिन्ता गर्ने हो, अरु चिन्ता गर्नुपर्दैन ।’ दुई खेलाडीलाई २ वर्षका लागि अनुबन्धित गरिएको र यसको अवधि थप गर्दै जान सकिने कुंवरले जानकारी दिए । खेलकुद पत्रकार मंच रुपन्देहीका अध्यक्ष सुमन अधिकारीले क्रिकेटको बिकासका लागि मंचले सधै सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।
प्रतिक्रिया