कोहलपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खुलकुदलाई पर्यटनसँग जोडेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । लुम्बिनी प्रदेश खेलकुदको क्षेत्रमा समृद्ध बन्दै गएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले यसलाई पर्यटनसँग जोड्नुपर्ने बताएका हुन् ।
तेस्रो कोहलपुर गोल्डकपको शनिबार उद्घाटन गर्दै उनले खेलकुदले बाह्य देशका नागरिकलाई समेत भित्र्याउने भएकाले यसको भूमिका महत्वपूर्ण बन्दै गएको उल्लेख गरे । लुम्बिनी प्रदेशमा खेल पूर्वाधार निर्माण, खेलाडी पहिचान, उत्पादन र क्षमता विकासलाई प्रदेश सरकारको प्राथमिकतामा राखिएको जानकारी गराए । खेल पूर्वाधार सुधार गर्न स्थानीय तहसँग सहकार्य गर्दै प्रदेश सरकारले अगाडि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
प्रदेश सरकारले खेल क्षेत्रको विकासका लागि आवश्यक सबै उपायहरू अवलम्बन गर्ने बताउँदै उनले बाँके र बर्दिया जिल्लालाई विशेष प्राथमिकता दिएको स्पष्ट उल्लेख गरे । उनका अनुसार चालू आर्थिक वर्षमा बाँके जिल्लाका लागि मात्र २ अर्ब ४० करोड रुपैयाँ पुँजीगत बजेट विनियोजन गरिएको छ।
प्रतिक्रिया