ताजा अपडेट »

बुटवलबाट राप्रपाको उद्घोष : चैतदेखि व्यवस्था परिवर्तनको आन्दोलन लड्छौँ

शनिबार, १७ फागुन २०८१, १८ : १३
122 Shares
शनिबार, १७ फागुन २०८१
122 Shares

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले काँग्रेस–एमालेको सरकारले भ्रष्चारलाई संस्थागत गरेको आरोप  लगाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आगामी चैतदेखि वर्तमान व्यवस्था विरुद्धको लडाई लड्ने उद्घोष गरेको छ । बुटवलमा शनिबार आयोजित प्रदेश स्तरीय विरोध सभामा बोल्दै अध्यक्ष्य लगायत नेताहरुले चैतदेखि काठमाडौं केन्द्रित भएर व्यवस्था विरुद्ध आन्दोलन गर्ने उद्घोष गरेका हुन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले काँग्रेस-एमालेको सरकारले भ्रष्चारलाई संस्थागत गरेको आरोप  लगाएका छन् । ‘ठूला दुई दलको गठबन्धन देशका लागि नभई भ्रष्टाचारलाई संरक्षण गर्न बनाएको बताएका हुन् । अहिले सत्तारूढ दलहरू सांसद किनेर अध्यादेश पास गराउने खेलमा लागि रहेका छन्’–उनले भने,  ‘यी दलहरू सुध्रने कुनै सम्भावना छैन, समय खेर नफालौं, व्यवस्था परिवर्तन गर्न लागौं ।’ अध्यक्ष लिङदेनले संवैधानिक राजसंस्था, हिन्दु राज्य, प्रदेश खारेज, कार्यकारी प्रधानमन्त्री र मुलुकमा विदेशी हस्तक्षेप रोक्नका लागि आन्दोलनको तयारीमा रहेको समेत बताए । उनले आफूहरुले चैतदेखि काठमाडौं केन्द्रीत आन्दोलन गर्ने समेत बताए ।

यस्तै आमसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले राजसंस्था सहितको प्रजातन्त्र अहिलेको आवश्कता रहेको बताए । उनले प्रत्यक्ष जनताबाट निर्वाचित प्रधानमन्त्री बनाउन आफूहरु तयार रहेको बताउँदै संवैधानिक रुपमा राजा अपरिहार्य रहेको जिकिर गरे ।  ‘राजा देशको मालिक हुन्, नेता भडुवा हुन्’ शाहीले भने –‘भ्रष्टाचार गर्न र मुलुकलाई कंगाल बनाउनेहरुका विरुद्ध आन्दोलन गरौं ।’ उनले राप्रपाले चैतदेखि काठमाडौंमा व्यवस्था परिवर्तनको ऐजेन्ठासहित आन्दोलन गर्ने बताए । 

यस्तै आमसभामा उपाध्यक्ष विक्रम पाण्डे, अर्का उपाध्यक्ष धुव्रबहादुर प्रधान, महामन्त्री धवल शमशेर राणा, पूर्वमन्त्री निरञ्जन थापाले गणतन्त्र र धर्मनिरपेक्षता ०६२र०६३ सालको जनआन्दोलनको ऐजेन्डा नै नरहेको बताउँदै अब जनताकै बलमा राजसंस्था र हिन्दु राज्य ल्याउने बेला आएको बताए । आमसभा अघि बुटवलमा राप्रपाले बाजागाजा सहित प्रदर्शन गरेको लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदयले जानकारी दिए ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।