ताजा अपडेट »

राष्ट्रिय जनसाहित्यिक संघ रूपन्देहीको अध्यक्षमा कृष्ण पाण्डे निर्वाचित

शनिबार, १७ फागुन २०८१, १७ : ३१
40 Shares
शनिबार, १७ फागुन २०८१
40 Shares

बुटवल । राष्ट्रिय जनसाहित्यिक संघ, रूपन्देहीको साधारणसभा तथा अधिवेशन शनिबार तिलोत्तमामा सम्पन्न भएको छ। कार्यक्रम माधवकुमार पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। अधिवेशनले कृष्णप्रसाद पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । 

उपाध्यक्ष रोम शर्मा, सचिव भोजेन्द्र खत्री, सहसचिव लक्ष्मी पाण्डे र कोषाध्यक्षमा तारा प्रसाद अर्याल चयन भएका छन् । सदस्यहरूमा सीमा वन, शोभाखर पाण्डे, गणेश घिमिरे र प्रकाश घिमिरे रहेका छन् । नवनिर्वाचित अध्यक्ष पाण्डेले संघको सक्रियता बढाउने प्रतिबद्धता व्यक्त गरे। 

कार्यक्रममा साहित्य क्षेत्रमा उल्लेखनीय योगदान दिएका दलबहादुर गुरुङ, राजेन्द्रकुमार आचार्य र सीता ढुङ्गाना काफ्लेलाई सम्मान गरिएको थियो। सो अवसमा बोल्दै साहित्यकार तथा लेखक ऋषि आजादले आलोचनात्मक चेत आवश्यक भए पनि राष्ट्रप्रेमी भावना रहनुपर्ने विचार व्यक्त गरे। उनले लेखकहरू सामाजिक तथा राजनीतिक घटनाक्रमप्रति सचेत भई आफ्ना सिर्जनामार्फत जनचेतना अभिवृद्धि गर्नुपर्ने बताए।

संघका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश कमिटी अध्यक्ष डा. नारायणप्रसाद पन्थले राष्ट्रिय जनसाहित्यिक संघ नेपालले गरिरहेका गतिविधिहरूबारे प्रस्ट पार्दै संस्थाको उद्देश्य, कार्यदिशा र भावी योजनाका विषयमा धारणा राखे। उनले साहित्य सिर्जना केवल व्यक्तिगत अभिव्यक्तिको माध्यम मात्र नभई सामाजिक उत्तरदायित्व पूरा गर्ने साधन पनि भएकाले लेखकहरूले समाजप्रति उत्तरदायी भई कलम चलाउनुपर्ने बताए। डा. पन्थले राष्ट्रियता, प्रगतिशील चेतना र समाज परिवर्तनमा साहित्यको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । 

प्रगतिशील लेखक संघ नेपालका केन्द्रीय सचिव दलबहादुर गुरुङले कुनै पनि संस्था सफलतापूर्वक सञ्चालन गर्न समय व्यवस्थापन, समन्वय कला र सामर्थ्यको आवश्यकता रहेको बताए। उनले लेखक तथा साहित्यकारहरू देशका गहना मात्र नभई समाजका अपरिहार्य अङ्ग भएको उल्लेख गर्दै साहित्यिक संस्थाहरूलाई थप क्रियाशील बनाउनुपर्नेमा जोड दिए।

संघका केन्द्रीय सदस्य तथा पूर्व जिल्ला अध्यक्ष प्रा. डा. हिरण्यलाल ज्ञवालीले संघले विगतमा गरेका गतिविधिहरूबारे चर्चा गर्दै आगामी योजनाका विषयमा धारणा राखे। होराइजन गौतम बुद्ध माध्यमिक विद्यालयका प्राचार्य गोपाल प्रसाद आचार्यले साहित्यकारहरूले राजनीतिक घेराबाहिर रहेर स्वतन्त्र रूपमा राष्ट्र हितमा विचार अभिव्यक्त गर्नुपर्ने बताए। सङ्घका लुम्बिनी प्रदेश महासचिव पुरुषोत्तम पाण्डेले सिर्जनालाई आर्थिक पाटोसँग पनि जोडेर हेर्नुपर्ने बताए। 

प्रगतिशील लेखक सङ्घ रूपन्देहीका अध्यक्ष कृष्ण गाउँलेले लेखक तथा साहित्यकारहरूले लेखकीय पक्षधरता ख्याल गर्नुपर्नेमा जोड दिँदै सङ्घको क्रियाशीलता अझै बढाउनु आवश्यक रहेको धारणा राखे। नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सचिवालय सदस्य तथा साहित्यकार नारायण प्रसाद भण्डारीले विचारलाई बलियो बनाउन सही कुरामा अडिग रहन र गलत कुराको विरोध गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा रमेश समर्थन, सीता काफ्ले, सरु ज्ञवाली लगायतले आफ्ना विचार राखेका थिए।

निर्वाचन संयोजक गोपाल प्रसाद आचार्य तथा सदस्यद्वय पुरुषोत्तम पाण्डे र कृष्ण गाउँलेको संयोजनमा सम्पन्न निर्वाचनमार्फत नयाँ कार्यसमिति चयन गरिएको हो । 


 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।