ताजा अपडेट »

विमर्शबाट विचारतिरको यात्रा...

शनिबार, १७ फागुन २०८१, ११ : ५२
56 Shares
शनिबार, १७ फागुन २०८१
56 Shares

डाक्टर मीन श्रीसमगरसँग आदिवासी जनजाति आयोगले प्रकाशन गरेको पुस्तक लिएपछि बुटवलबाट करिव डेढघण्टामा हामी तानसेन पाल्पा पुग्यौं । खाना तयार रहेछ, गुल्मेली होटलमा । त्यही ताजाताजा खाना खाँदैगर्दा जुलेवीको रास भेटियो । अहो ! हेर्दै रहर लाग्दो । श्रृङ्गाका शोभाखर कंडेलको त्यो जुलेवी बनाउने कला देखर दङ्ग परियो । गोटाको २० रुप्पे रहेछ । दिनमा करिव तीन सय गोटा चुलेवी बिक्दो रहेछ । दुनोट, चुकौनीलगायतका परिकार पाइने उक्त होटलका साहुजी तेस्रो मुलुक कामको सिलसिलामा घुमेर आएका रहेछन् । 

साहित्यकार मित्र गौतमलाई लिएर हामी अघि बढ्यौं गुल्मीतिर । शैक्षिक तालिमक केन्द्रका दिवाकर, विष्णु सरलगायतका हामी बुटवलबाटसँगै आएका थियौं । रानीघाटको बाटो हुँदै जीप सुइँक्यो, सुन्दर तर एक्लो रानीमहललाई दाहिने पारेर । माघको ३० गते लुम्बिनी र गण्डकी प्रदेशका मुख्यमन्त्रीहरुले दुबै प्रदेशका साझा हित र विकासका लागि २१ बूँदे घोषणापत्र जारी गरेका थिए । कालीगण्डकीको किनारमा रहेको रानीमहलको थप व्यवस्थापन गरी उचित प्रचारप्रसार गर्न सकेमा पाल्पाको मुहान फेर्न सकिने थियो । आर्थिक अभाव त हाम्रो साथी नै भएपछि अन्यकुरा यथावत नै भए । 

रिडीबाट उध्रिएको धूलेबाटो हुँदै गुल्मी दरबार गाउँपालिकाको प्रशासनिक भवन पुग्यौं । गाउँपालिकाका अध्यक्ष सरोज थापाको हार्दिकतापूर्ण स्वागतसँगै चियापानी, कुराकानी चल्यो । करिव आधाघण्टाको बसाइपछि विष्णु सरलाई त्यतै छाडेर हाम्रो यात्रा तम्घासतिर तन्कियो । बाटामा रमाईला कुराकानी चलिनै रह्यो । लुम्बिनी प्रदेशको शैक्षिक अवस्था सुधार्नका लागि सामाजिक विकास मन्त्रालयले गरेका काम र प्रगतिका बारेमा अनौपचारिक छलफल भए । शैक्षिक उन्नति र प्रगतिका लागि शैक्षिक, भौतिक, आर्थिक एवम् नैतिक सहयोग र समर्थनको खाँचो पर्नेमा कसैका दुईमत रहेन । 

तम्घास पुगेपछि म उत्रिएँ । मित्र सरहरु अघि बढे । तम्घासमा रहेको किरण पुस्तकालय पुराउन साथी चक्रबन्धु भुसालले सहयोग गरे । शशि पन्थी गुरुसँग करिव एकघण्टा पुस्तकालयका सन्दर्भमा छलफल भयो । भएका पुस्तकहरुको व्यवस्थापन, नयाँ पुस्तकहरुको अपेक्षा, ई–लाइब्रेरी, पुस्तकालय सञ्चालन र व्यवस्थापनमा देखा परेका समस्या र चुनौतीका बारेमा दोहोरो सम्वाद गरियो । गुल्मी क्षेत्रकै नामी पुस्तकालयको आफ्नै सुविधा सम्पन्न भवन छ । तीन जना कर्मचारी छन् । वाचनालय छ । यतिबेला लोकसेवा र शिक्षा आयोग तयारीमा जुटेका साथीहरु धेरै आउँदा रहेछन् । खास पाठकहरुको संख्या दुब्लाउँदै गएको गुरुले सुनाए । 

पचास वर्षदेखि किरण पुस्तकालयले आफनै त्रैमासिक पत्रिका प्रकाशन गर्दै आएको रहेछ । देशभरि वितरण गर्ने हुने उक्त पत्रिका अब प्रकाशन गर्न कठिन हुँदै गएको कुरा शशि गुरुले सुनाइरहँदा दुःख लाग्यो । यसलाई निरन्तर प्रकाशन गर्नका लागि आर्थिक कठिनाइ त छँदैछ भने आफ्नो उमेर, अवस्था र सम्पादनमा नयाँ पुस्ताका अभाव समेत औंल्याए । पाठक र सदस्यता शुल्कबाट बाँचेको उक्त पत्रिकाले निरन्तरता पाएन भने अक्षरको खेती बन्द हुनेमात्र होइन, यसले पारेको सकारात्मक प्रभाव ओझेलमा पर्ने देखिन्छ । यसो हुन नदिन सरोकारवाला सबैको हातेमालो आवश्यक छ । त्यसका लागि सबैले विमर्श जारी राख्नुपर्ने देखिन्छ । 

फागुन ८ गते साँझ साथी चक्रबन्धुसँग उनकै पार्टी कार्यालयमा बास बसियो । स्थानीय होटलमा दूधमा रोटी डोबेर खाइयो । चटनी चाटियो । हामीले खाँदै गर्दा प्रदेशका सहकारीमन्त्री दिनेश पन्थी आइपुगे । उनीसँग बात मारियो । मेरो विद्यालय, मेरो दायित्व कार्यक्रमका लागि आफूले पढेको विद्यालयमा पुग्ने गरि आएका रहेछन् । दाङको बैठकमा सहभागी भएर भूमिगतकालीन शैलीमा रातारात दौडिएका रहेछन् । केहीबेर अध्येयता हीरा एसीसँग नेपाली राजनीति, प्रगतिशील लेखन आन्दोलन र भावी रुपरेखाका बारेमा छलफल गरियो । विचार र उमेरले युवा हीरा, सायद गुल्मीका लागि हीरा सावित हुन सक्नेछन् । दिउँसो बालसिंह काउचा, राजेन्द्र अर्याल, जंग नेपाली, धर्म जीसँग नेपाली वामपन्थी आन्दोलन र गुल्मीको अवस्थाका बारेमा व्यापक छलफल गरेका थियौं । उनीहरुका कुरा सुन्ने अवसर मिलेको थियो । प्रगतिशील लेखक संघ,नेपालको पहिलो जिल्ला सम्मेलनका लागि म गुल्मीको तम्घास पुगेको थिएँ । 

९ गते फागुन, शुक्रवार । तम्घासमा ठिहिर्याउने जाडो । चम्किलो सूर्यको किरणले तम्घास बजार चाँदीजस्तै चम्कियो । एक स्नेप फोटो खिचेपछि मन झनै उज्यालो भो । खाना खाइवरि सौर्य इन होटलमा पुग्दा १० बज्यो । ११ बजे कार्यक्रम सुरु हुने भनेको १ बजेमात्र सुरु भयो । जिल्लाभित्र रहेका वामपन्थी लेखक साथीहरु आउने क्रम जारी रह्यो तर मलाई तानसेन फर्किन ढिला हुने पिरलो कायमै थियो । 

तदर्थ समितिका संयोजक माधव ज्ञवालीको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति गठन गरियो । नेकपा एमाले, माओवादीकेन्द्र, राजमो र एकीकृत समाजवादीका जिम्मेवार नेताहरुले शुभकामना र बधाइ दिएपछि कार्यक्रमको समापन हुँदा ३ः३० बजिसकेको थियो । साना इभी जीपहरु छुटेका थिए । काठमाडौंका लागि छुट्ने रात्रीबसमा चढेर तानसेन पुग्दा रातिको नौ बजिसकेको थियो । रात्रीबसमा खुट्टा टेक्ने ठाउँ थिएन । उभ्भिदा कम्मर दुखेर हैरान तर प्रगतिशील लेखन यात्रामा यस्तो हुन्छ कहिलेकाँही भनेर मन बुझाएँ । 

तिनाउ गाउँपालिकाका संस्थापक गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तिमगरको पाल्पा, तानसेन घरमा गाँस र बास मिल्यो । विहान उज्यालो हुँदै गर्दा उनीसँगै लागेर तानसेन बजारको अमृत होटलमा भएको परामर्श बैठकमा सहभागिता जनाएँ । साथीहरुसँग परिचयलाई नवीकृत गर्ने अवसर जुर्यो । कुरा सुन्ने र सुनाउने मौकालाई राम्रै मानें । कोठाभित्र सीमित हुँदा सुन्दर तानसेन बजारको पारिलो घाम ताप्ने रहर भने पूरा हुन पाएन । 

फागुन १० गते १२ बज्दै गर्दा प्रलेस, पाल्पाको पाँचौ अधिवेशनको प्रमुख अतिथिको हैसियतमा उद्घाटन गर्ने अवसर मिल्यो । पाका पुराना पाल्पाली वामपन्थी तथा प्रगतिशील लेखकहरु भेट्दा उत्साह थपियो । नेकपा एमालेका घनेन्द्र घिमिरे, माओवादी केन्द्रका राजेन्द्र विक, राजमोका विशाल दर्लामी र एकीकृत समाजवादीका मोहन गैरेको उपस्थिति र उनीहरुका भाषण सुन्ने मौका मिल्यो । भाषण गरेर उनीहरु टाप कसे । उनीहरुका भाषणका भरिया भइयो हामी । हाम्रा कुरा उनीहरुले सुन्न नपर्ने तर उनीहरुका पूरै कुरा सुन्न बाध्य भयौं । यस्तो चलन र परम्पराले हाम्रो यात्रा कहाँ पुग्ला ? नेताहरुमा श्रवणशक्ति कसरी र कहिले मिल्ला ? 

धातानन्द शर्मा गैरेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति बनाएर पुराना अध्यक्ष रामप्रसाद अर्यालले छाडे । निर्वाचन मण्डलको संयोजक बनेर पत्रकार सेनानी मेघराज शर्माले ठूलो गुन लगाए । हार्दिकतापूर्ण तरिकाले प्रलेसको जिल्ला सम्मेलन सम्पन्न भयो । खुसी लाग्यो । नयाँ लेखक साथीहरु समितिमा समावेश भए । पाका लेखकको नेतृत्वलाई स्वीकार गरे । संविधान सभाका सदस्य माननीय नारायणी घिमिरेले निर्वाचित नयाँ कार्यसमितिलाई बधाई र शुभकामना दिइन् । 

फागुन १३ गते, नवलपरासीको बर्दघाटमा प्रलेसको दोस्रो जिल्ला सम्मेलन गर्न पुग्दा साथीहरुको सुरुमा कम सहभागिता देखिएपनि समय घर्किने बेला लेखक साथीहरु हलमा आइपुगे । १३ सदस्यीय नयाँ कार्यसमितिका लागि रेम राना अध्यक्ष बन्न तयार भए । उनको पहिलो कार्यकाल त्यति सुखद् नभएपनि आगामी कार्यकाल सुन्दर बनाउने अठोट गरे । सबै घटकका साथीहरुको सहभागितामा गठित उक्त समितिलाई प्रमुख अतिथिका रुपमा शुभकामना र बधाई दिन पाउँदा खुसी लागेको छ । नेकपा एमालेका नेता बद्रीनाथ खनाल, माओवादीका थानेश्वर न्यौपाने, राजमोका ढुण्डिराज पोखरेलले समेत बधाई शुभकामना प्रकट गर्दै प्रलेसलाई आआफ्नो पार्टीकातर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । विशिष्ट अतिथिका रुपमा बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा.घनश्याम परिश्रमीले प्रगतिशील लेखन आन्दोलनका बारेमा बताउँदै निर्वाचित सबै साथीहरुलाई हार्दिक बधाइज्ञापन गरेका थिए । 

ग्याल्मो ल्होसारका दिन विदा थियो तर हामी कपिलबस्तु प्रलेसको तेस्रो जिल्ला सम्मेलन गर्न बुङ्ची पुग्यौं । अर्जुन पौडेलको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरियो । संस्कृतिककर्मी धर्म भुसाल, सिद्धार्थ क्याम्पसका क्याम्पस प्रमुख बेदराम अर्याल, डा.सागर न्यौपाने लगायतले प्रलेस नेपालको अभियानलाई आफूहरुले सहयोग गर्ने वचतवद्धता जाहेर गरेका थिए । प्रमुख अतिथिका हैसियले नयाँ कार्यसमितिलाई प्रगतिशील लेखन यात्रालाई जारी राख्न शुभकामना दिन पाउँदा हर्षित थिएँ । रुपन्देही प्रलेसका अध्यक्ष कृष्ण गाउँलेको सहजीकण सार्थक रह्यो । 

यसरी प्रगतिशील लेखक संघ, नेपालको विभिन्न जिल्ला सम्मेलनहरुमा पुगिरहँदा नयाँ सिकाइ रहे मेरा । प्रगतिशील लेखन यात्रा र वर्तमान अवस्थाहरुका बारेमा बुझ्ने अवसर मिल्यो । यो संस्थालाई अग्रगामी रुपमा लैजानका लागि केके गर्नुपर्दो रहेछ भन्ने कुराले मलाई नयाँ सन्देश प्राप्त भएको छ । सबै वामपन्थीहरुको साझा सांस्कृतिक मोर्चा भएरपनि कसैको हुन नसकेको हो कि भन्ने कुरा त जिल्ला सम्मेलनका बेला नेताहरुका अभिव्यक्ति र भूमिकाले नै दर्शाएको पाएँ । यसो हुनुका अनेक कारण होलान् । कतै प्रलेस नेपालले समन्वय, सहकार्य र सहयात्रामा हाम्रा वामपन्थी पार्टीहरुलाई एकीकृत रुपमा राखेर अभिमुखीकरण गर्न पो सकेन कि ? यस्तै विषयमा विमर्श गर्नुपर्ने देखिन्छ । विमर्शहरुबाट नयाँ विचार पैदा हुने भएको हुँदा यसको अभाव कतै हामीबीचमा त भएन ? 

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार