ताजा अपडेट »

उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक : अध्यादेश बारे के भयो निर्णय ?

शुक्रबार, १६ फागुन २०८१, २२ : ०३
72 Shares
शुक्रबार, १६ फागुन २०८१
72 Shares

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार साँझ सम्पन्न भएको छ । बैठकले राजनीतिक दलसम्बन्धी विधेयकलगायत अत्यावश्यक विधेयकहरु तत्काल संसद पेश गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले २०७८ साउनमा एमाले विभाजनका लागि ल्याइएको अध्यादेश संसदमा पेश नभएका कारण निष्क्रिय भएका राजनीतिक दलसम्बन्धी ऐनका प्रावधानहरु संशोधनका लागि विधेयक ल्याउने निर्णय गरेको छ ।

एमाले विभाजनलगत्तै फिर्ता लिइएको अध्यादेश संसदमा पेश नभएका कारण राजनीतिक दलसम्बन्धी ऐनका केही दफा निष्क्रिय छन् । अब ल्याइने विधेयकमा कुनै पनि राजनीतिक दलको केन्द्रीय समिति वा संसदीय दलको ४० प्रतिशतले पार्टी विभाजन गर्न सक्ने प्रावधान राखिने भएको छ । यसअघि केन्द्रीय समित र संसदीय दल दुवैतिरको ४० प्रतिशत चाहिने व्यवस्था थियो । तर माधव नेपाललाई एमाले फुटाउन दुवैतिर उक्त संख्या नपुगेपछि ३० प्रतिशत बनाएर अध्यादेश जारी गरिएको थियो । त्यस्तै, विधेयकमा विभाजित भएको दल प्रतिनिधि सभाको उक्त कार्यकालभरी अर्को पार्टीमा विलय वा एकीकरण हुन नपाइने प्रावधान राख्न कांग्रेसले संयन्त्रमा प्रस्ताव गरेको छ ।

नेकपा एसका ४० प्रतिशत सांसद र केन्द्रीय सदस्यहरु सो पार्टीबाट अलग हुन चाहेको र उनीहरु एमालेमा मिसिन सक्ने भएकाले कांग्रेसले यस्तो प्रस्ताव गरेको हो । त्यसैगरी, राजनीतिक दलसम्बन्धी ऐनमा विद्यमान रहेको विभाजित भएर बनेर बनेको संसदीय दल पाँच वर्षसम्म फेरि विभजित हुन नपाउने प्रावधान हटाइने भएको छ ।

संयन्त्रको बैठकले आर्थिक गतिविधि सहज बनाउन ल्याइएका अध्यादेशहरु संसदको फागुन २१ वा २२ गतेको बैठकमा पेश गर्ने निर्णयसमेत गरेको छ । बैठकमा सहभागी एमालेका मुख्य सचेतक महेश बर्तौलाले अब सबै विधेयकहरु फटाफट अघि बढाउने र अध्यादेश संसदमा पेश गर्नुअघि सत्ता साझेदार र सरकार समर्थित दलको बैठक बोलाउने सहमति भएको बताए ।

बैठकमा एमालेबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव तथा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल र मुख्य सचेतक महेश बर्तौला सहभागी थिए । त्यस्तै, कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेख र प्रमुख सचेतक श्यमा घिमिरे सहभागी थिए । उच्चस्तरीय संयन्त्रमा रहेका एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र कांग्रेस महामन्त्री गगन थापा काठमाडौंबाहिर भएकाले सहभागी भएनन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।