कपिलवस्तु । प्रगतिशील लेखक सङ्घ नेपाल, कपिलवस्तुको तेस्रो जिल्ला सम्मेलन सिद्धार्थ क्याम्पस, बुङ्ची, कपिलवस्तुमा सम्पन्न भएको छ। सम्मेलनका प्रमुख अतिथि प्रगतिशील लेखक सङ्घ नेपालका केन्द्रीय सचिव दलबहादुर गुरुङ रहेका थिए। गुरुङले आफ्नो मन्तव्यमा साहित्य सधैं समाजको दर्पण भएको उल्लेख गर्दै समाज परिवर्तनका लागि प्रगतिशील लेखकहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले भने, साहित्य सिर्जना केवल मनोरञ्जनको साधन मात्र होइन, यो चेतनाको जागरण, अन्यायको प्रतिरोध र समानताको पक्षमा आवाज उठाउने सशक्त माध्यम हो। प्रगतिशील लेखकहरूले कलमको माध्यमबाट समाजका विसङ्गति, विभेद र अन्यायविरुद्ध लड्नु आवश्यक छ।
सम्मेलनमा सिद्धार्थ क्याम्पसका प्रमुख वेदराम अर्याल, प्रगतिशील लेखक सङ्घ, रूपन्देहीका अध्यक्ष कृष्ण गाउँले, डा। सागर न्यौपाने, धर्म भुसाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
यस सम्मेलनले नयाँ कार्यसमिति चयन गरेको छ, जसअनुसार अध्यक्षमा अर्जुन कुमार पौडेल (अर्जुन शर), उपाध्यक्षमा पदम प्रवासी, सचिवमा रमेश पौडेल, सह(सचिवमा शान्ता पोखरेल, कोषाध्यक्षमा शारदा खनाल तथा सदस्यहरूमा विनेश थारु, सन्तोष घिमिरे, खेमराज भट्टराई, कृष्ण प्रसाद पाण्डे रहेको नौं सदस्य कार्यसमिति निर्विरोध चयन भएका छन्।
नवगठित कार्यसमितिले कपिलवस्तुमा प्रगतिशील साहित्य, विचारधारा र सृजनात्मक गतिविधिलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। सम्मेलनले साहित्य र समाज रूपान्तरणको विषयलाई केन्द्रमा राख्दै विविध छलफल तथा योजनाहरू अघि सारेको थियो।
नव निर्वाचित अध्यक्ष अर्जुन कुमार पौडेल (अर्जुन शर)ले साहित्यिक आन्दोलनलाई मजबुत बनाउँदै लेखनमार्फत सामाजिक रूपान्तरणको अभियानलाई अघि बढाइने बताए। कार्यक्रममा साहित्य, संस्कृति र समाजका विभिन्न विषयमा छलफल भएको थियो ।
प्रतिक्रिया