अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँची जिल्लामा धार्मिक पर्यटकहरूको आकर्षण बढ्दै गएको बताएका छन् । सुपा देउराली मन्दिर संरक्षण समितिको १३औं साधारण सभाको शुक्रबार उद्घाटन गर्दै उनले धार्मिक पर्यटन प्रवर्द्धनका लागि डिजिटल प्रविधिको उपयोग गर्नुपर्नेमा जोड दिए ।
‘अर्घाखाँची धार्मिक, सांस्कृतिक र पर्यटनको दृष्टिकोणले अपार सम्भावना बोकेको जिल्ला हो । यहाँ पाणिनि तपोभूमि, अर्घा दरबार, मालारानी, बलकोट पौवा, सिद्धेश्वर मन्दिर जस्ता ऐतिहासिक तथा धार्मिक स्थलहरू छन् । सुपा देउराली मन्दिरमा वार्षिक लाखौँ भक्तजन आउने गरेका छन्, व्यवस्थित प्रचारप्रसार गर्न सकियो भने धार्मिक पर्यटन अझ विस्तार गर्न सकिन्छ’–मुख्यमन्त्री आचार्यले भने, ‘धार्मिक पर्यटकहरु आकर्षित हुदै गएको पाएका छौं । थप व्यवस्थित गरेर अघि बढ्न जरुरी छ ।’
उनले डिजिटल युगमा धार्मिक पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसारलाई प्रविधिसँग जोड्न आवश्यक रहेको उल्लेख गरे । ‘हामीले सुपा देउरालीका गतिविधि तथा प्रगतिलाई दैनिकरूपमा सार्वजनिक गर्नुपर्छ । एउटा डिजिटल पेज बनाएर हरेक दिनको विवरण अद्यावधिक गर्ने प्रणाली विकसित गरिनुपर्छ,’–उनले भने, ‘देश÷विदेशमा अर्घाखाँचीलाई चिनाउन र पर्यटक भित्र्याउन मद्द पुग्छ ।’
मुख्यमन्त्री आचार्यले सुपा देउराली मन्दिरलाई थप व्यवस्थित बनाउन आवश्यक रहेको बताउँदै सफाइ, सुरक्षा र व्यवस्थापनमा सुधार गर्न निर्देशन दिए । उनले सफाइ कर्मचारीको व्यवस्था गर्न, भेटी संकलनको पारदर्शी उपयोग गर्न र मन्दिरको गुरुयोजना निर्माण गरी अगाडि बढ्नुपर्ने धारणा राखे ।
प्रतिक्रिया