काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।
सूचनाको हकसम्बन्धी ऐनको व्यवस्थाबमोजिम सार्वजनिक गरिएको (स्वतः प्रकाशन) विवरणानुसार, प्राधिकरणले उक्त अवधिमा विद्युत् बिक्री, ब्याज तथा अरू गरीबाट कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको छ ।
विद्युत् खरिद, प्रशासनिक, विभिन्न आयोजनामा ५९ अर्ब आठ करोड रुपैयाँ खर्च गरिएको छ । यसरी चालु आवको साउनदेखि पुस मसान्तसम्म अप्रशोधित नाफा (करकट्टी गर्नुअघि) ११ अर्ब ३६ करोड रुपैयाँ हुने प्रक्षेपण गरिएको प्राधिकरणले जनाएको छ ।
आव २०७/र७३ मा आठ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछि निरन्तर नाफामा छ । गत आव २०८०/८१ मा प्राधिकरणले १४ अर्ब ४६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।
नाफाबाट प्राधिकरणले विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार एवं सुदृढीकरण र विद्युतीकरणतर्फका आयोजनामा लगानी गरिरहेको छ ।
प्राधिकरणले चालु आवको ६ महिनामा विद्युत् बिक्रीबाट ५३ अर्ब १८ करोड रुपैयाँ संकलन गरेको छ । यो अवधिमा प्राधिकरणका सहायक तथा सम्बद्ध कम्पनीबाट एक अर्ब १५ करोड र अरू निजी उत्पादक कम्पनीबाट पाँच अर्ब १६ करोड गरी जम्मा ६ अर्ब ३१ करोड युनिट विद्युत् खरिद गरिएको छ । खरिद गरिएको विद्युत्का निम्ति ३४ अर्ब ८४ करोड रुपैयाँ भुक्तानी गरिएको प्राधिकरणले जानकारी गराएको छ ।
भारतबाट २४ करोड २० लाख युनिट विद्युतु आयात गरी एक अर्ब ६५ करोड रुपैयाँ भुक्तानी गरिएको छ । गएको साउनदेखि पुससम्म एक अर्ब ७७ करोड १८ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरी १३ अर्ब नौ करोड रुपैयाँ आम्दानी गरिएको छ ।
प्रतिक्रिया