मोरङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा रहेका ऐतिहासिक र पौराणिक महत्वका स्थलहरूको संरक्षण एवं प्रवर्द्धन गरिने बताएका छन् ।
सुनसरीको बर्जु गाउँपालिका–६ स्थित बर्जुताल सिमसार विकास तथा संरक्षण समितिद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले ‘जनतासँग माओवादी तराई मधेस जनजागरण अभियान’ले मुलुकका विभिन्न क्षेत्रमा रहेका ऐतिहासिक स्थलको अवलोकन गरेको बताए । आगामी दिनमा यस्ता महत्व बोकेका स्थलको विकास, संरक्षण र प्रवर्द्धन गरी स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने योजना बनाइने उनले जानकारी दिए ।
अध्यक्ष दाहालले अभियानअन्तर्गत झापाको किचकवधसहित यहाँका अन्य महत्वपूर्ण क्षेत्र, मोरङको कानेपोखरी र आसपासका क्षेत्रमा रहेका ऐतिहासिक स्थलको विकाससम्बन्धी कार्यसूचीसमेत निर्माण गरेको जानकारी दिए । उनले आफू गणतन्त्र नेपालको पहिलो पटक प्रधानमन्त्री हुँदा यस तालको विकासका लागि केही रकम छुट्याएको स्मरण गरे ।
अध्यक्ष दाहालले यस तालको संरक्षण तथा पर्यटन प्रवर्द्धन गर्दै थप भौतिक पूर्वाधार निर्माणमा आवश्यक सहयोगको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले ताल क्षेत्रको विकासबाट यहाँ पर्यटकीय गतिविधि वृद्धि हुनुका साथै स्थानीयको आर्थिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
सो अवसरमा पूर्वप्रधानमन्त्री दाहाललाई ताल संरक्षण समितिका अध्यक्ष बिलटसिंह श्रेष्ठले तालको विकास, संरक्षण र प्रवर्द्धनको पलह गरिदिन आग्रह गर्दै ज्ञापनपत्र बुझाएका थिए ।
प्रतिक्रिया