ताजा अपडेट »

मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन दुई करोड ६९ लाख विनियोजन

विहीबार, १५ फागुन २०८१, ०६ : ५९
164 Shares
विहीबार, १५ फागुन २०८१
164 Shares

दमौली । मुग्लिन-नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य सुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका रुपमा मुग्लिन-गाईघाट-दासढुङ्गा-ठिमुरा-गैँडाकोट सडकको ‘ट्रयाक’ खोल्ने कार्य सुरु भएको हो ।

उक्त कार्यका लागि सडक विभागले चालु आर्थिक वर्षमा रु दुई करोड ६९ लाख ३२ हजार विनियोजन गरेको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका-४ पुलजीपबाट उक्त सडकको ट्रयाक खोल्ने काम भइरहेको छ । मुग्लिन नारायणगढ सडकको विकल्पमा मुग्लिनबाट गाईघाट, दासढुङ्गा, ठिमुरा, देवघाटको देवपुर हुँदै नवलपुरको गैँडाकोट जोड्ने सडकको विस्तृत अध्ययन (डिपीआर)पश्चात् सडक विभागले पहिलो चरणको ठेक्का लगाएको हो ।

देवघाटका स्थानीयवासी केशवचन्द्र न्यौपानेले यहाँका स्थानीयले पटक-पटक उठाउँदै आएको माग सरकारले पूरा गरेको बताए । मुग्लिन नारायणगढ सडकखण्डको विकल्पका रुपमा वैकल्पिक सडक निर्माणका लागि आवाज उठाउँदै आएकामा उक्त माग सुनुवाइ भएको उनको भनाइ छ । 

नवलपुरको गैँडाकोट नगरपालिका-३ ब्रिटिसक्याम्प र देवघाट गाउँपालिका-५ देउपुर हुँदै दासढुङ्गा जोड्ने वैकल्पिक सडक र उक्त बाटो हुँदै दासढुङ्गादेखि मुग्लिनसम्म तनहुँतर्फ त्रिशूलीको किनारमा वैकल्पिक मार्ग आवश्यक भएको जनाउँदै सम्बन्धित निकायमा स्थानीयवासीले माग गरेका  थिए । उक्त वैकल्पिक सडकका लागि विगतमा सरकारको नीति तथा कार्यक्रममा समावेश भइ अध्ययनका लागि बजेट विनियोजन भए पनि पछि सरकारले उक्त योजना रद्द गरेको थियो । उक्त सडक निर्माण गर्न सके देवघाटको गाउँपालिका आर्थिक र धार्मिक पर्यटनको केन्द्र बन्ने हुँदा यसका लागि गाउँपालिकाले पहल थाल्ने देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए । 

हाल देवघाट गाउँपालिकालाई राष्ट्रिय राजमार्गले नछोएको हुँदा गैँडाकोटबाट देवघाट हुँदै दासढुङ्गा जाने सडक निर्माण गर्न सके देवघाटमा धेरैभन्दा धेरै पर्यटक भित्रिने र देवघाटको धार्मिक पर्यटनको विकास हुने उनले विश्वास व्यक्त गरे । हाल सञ्चालनमा रहेको मुग्लिन–नारायणगढ सडकमा वर्षाको समयमा पहिरो गएर समस्या भोग्नुपरेकाले वैकल्पिक सडक अति आवश्यक रहेको स्थानीयवासीको भनाइ छ । देवघाट गाउँपालिका-५ का वडाध्यक्ष पूर्णबहादुर कुँवरले तनहुँतर्फ अर्को राष्ट्रिय सडक निर्माण गर्न सकेमा हाल विकासमा निकै पछाडि परेको देवघाट र आँबुखैरेनी गाउँपालिकाका धेरै बस्तीलाई विकासको मूलधारमा ल्याउन सकिने बताए । वैकल्पिक सडक बनाउन प्रस्ताव गरिएको गैँडाकोटदेखि मुग्लिनसम्म करिब ३८ किलोमिटरको दूरी पर्छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।