किभ । हालैका दिनमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध रोक्न र त्यहाँ शान्ति स्थापना गर्नमा जोड दिइरहेका छन् । गएको हप्ताको सुरुमा अमेरिका र रुसी अधिकारीहरूले युक्रेनी शान्ति वार्ताका क्रममा साउदी अरबमा भेटघाट गरेका थिए ।
तर यो भेटघाटमा युक्रेनबाट कुनै पनि प्रतिनिधि आएका थिएनन् । अमेरिकाको रवैयाबाट युक्रेन मात्रै होइन सारा युरो जिल्ल थिए । यसको अर्थ खुट्याउन लागि परेका थिए । रुसले युक्रेनमाथि पूर्ण स्तरमा आक्रमण सुरु गरेको फेब्रुअरी २४ मा तीन वर्ष पूरा भयो । यस क्रममा युक्रेनले ठुलो भूभाग गुमायो ।
पश्चिमी देशहरूबाट पाइरहेको सैन्य सहयोगका कारण केही भूभाग फिर्ता लिन युक्रेन सक्षम पनि भएको छ । दसौँ लाख युक्रेनीहरू विस्थापित भएका छन् । हजारौँ मारिएका छन् । हजारौँ घाइते भएका छन् । युक्रेनमा यी तीन वर्षमा आएका परिवर्तन यी चार ग्राफिक्समा बुझौँ ।
युक्रेनले गुमायो ११ प्रतिशत जमिन
युद्धको सुरुमा युक्रेनले किभबाट अन्यत्र सेना पठाएको थिएन । तर पछि उत्तर पूर्वी खार्किभ र दक्षिणी खेर्सन क्षेत्रका हिस्सामा जित हात पार्यो ।
तर पूर्वी क्षेत्रमा दोनेत्स्क र बख्मुतमा निकै क्षति बेहोरेको थियो । २०२२ मा आक्रमणयता युक्रेनले आफ्नो ११ प्रतिशत भूभिमा नियन्त्रण गुमाएको सीएनएनले इन्ष्टिच्यूट फर द स्टडी अफ वारको डेटा विश्लेषणको क्रममा फेला पारेको छ ।
२०१४ मा द्वन्द्व सुरु भएयता रुस र रुस समर्थिन पृथकतावादीको हातमा गुमाएको भूमिको कुरा गर्ने हो भने यो अनुपात १८ प्रतिशतसम्म पुग्छ । युक्रेनमा रुसको कब्जालाई तीन चरणमा व्याख्या गर्न सकिन्छ ।
२०१४
यो वर्ष रुसले गैरकानूनी रूपमा क्रिमियालाई युक्रेनबाट अलग्याएको थियो । दोनबासको हिस्सा रुस समर्थित पृथकतावादी समूहले गरेका थिए । दुवै क्षेत्र आजको दिनमा पनि रुसको कब्जामा छ ।
२०२२
फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि भएभरको शक्ति लगाएर आक्रमण थाल्यो । यस क्रममा उत्तरको ठुलो हिस्सा कब्जा गर्यो । तर पछि युक्रेनले केही हिस्सा फिर्ता लियो । दक्षिण र दक्षिण पूर्वमा पनि रुसले लडाई जारी राखेको छ ।
२०२५
तीन वर्षसम्मको लडाइँपछि अहिले रुसको कब्जामा युक्रेनको १८ प्रतिशत भूभाग छ । २०१४ मा रुसी सेनाले गैरकानूनी रूपमा क्रिमियालाई युक्रेनबाट छुट्याए । किभमा मेदान क्रान्तिले राजनीतिक उथलपुथल निम्त्याएलगत्तै यो कार्य भएको थियो । सोही वर्षको अन्त्यतिर रुस समर्थित पृथकतावादीहरूले दोनबास क्षेत्रको केही हिस्सा नियन्त्रणमा लिए । आजको दिनमा पनि यी क्षेत्रमा रुसकै कब्जा छ ।
रुसले २०२२ को फेब्रुअरीमा युक्रेनमाथि भए भरको शक्ति लगाएर आक्रमण थालेपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले केही दिनमै सारा युक्रेन आफ्नो मुठ्ठीमा पार्ने सोचेको इन्ष्टिच्यूट फर द स्टडी अफ वार भन्छ । तर तीन वर्षसम्मको चर्को लडाई पछि पनि रुसको यो सपना पूरा हुने कुनै छाँट छैन । यो सबै पश्चिमी मित्र देशहरूबाट आइरहेको अस्त्र बलियो बनेको युक्रेनको प्रतिरक्षात्मक सेनाको कारणले मात्रै सम्भव भएको हो ।
युक्रेनको सबैभन्दा ठुलो सहायताको स्रोत नै खतरामा
युद्ध सुरु भएयता अमेरिका रुसको सबैभन्दा ठुलो योगदानकर्ता रहँदै आएको थियो । बाइडेन प्रशासनले युक्रेनलाई ९५ अर्ब डलर मूल्य बराबरको सैन्य, मानवीय र वित्तीय सहायता दिएको थियो । तर डोनाल्ड ट्रम्प सत्तामा आएयता यो सहायता खतरामा पर्ने देखिएको छ । युक्रेनले अहिलेसम्म पाएको सहयोगको झन्डै आशा अमेरिकाबाट आएको थियो । ट्रम्प प्रशासनले कति सहयोग दिन्छ भन्ने कुरा अहिलेसम्म स्पष्ट भएको छैन ।
ट्रम्पले जसरी भएपछि युक्रेनमा युद्ध अन्त्य गरेरै छाड्ने कसम खाएका छन् । आफ्नो चुनावी अभियान भर पनि उनी युक्रेनलाई सहायता दिने कुरामा सन्दिग्ध देखिएका थिए । हालै भने ट्रम्पले युक्रेनलाई अहिलेसम्म दिएको सहायताको बदलामा उसँग भएको बहुमूल्य धातु प्रयोग गर्न पाउनु पर्ने र भविष्यमा दिइने सहायताका लागि पनि दूर्लभ धातु चलाउनु पाउनु पर्ने सम्झौता गर्नमा दबाब दिएका थिए ।
ट्रम्पले युक्रेनबाट ५ खर्ब डलर मूल्य बराबरको बहुमूल्य दुर्लभ धातु लिन खोजेका थिए । सुरुमा उनीहरूले यसमा सहमति जनाएको पनि ट्रम्पले यो महिनाको सुरुमा फक्स न्यूजसँगको कुराकानीमा भनेका थिए । युक्रेनलाई सहयोग गरे कम्तीमा आफू बुद्धु भयो भन्ने महसुस नहोस् भनेर ट्रम्पले यो प्रस्ताव गरेका थिए । ‘होइन भने त हामी बुद्धु भइहाल्यो नि मैले उनीहरूलाई भनेको थिएँ कि हामीले केही त गर्नै पर्छ । यसरी पैसा दिइरहन त हामी सक्दैनौँ नि,’ उक्त अन्तर्वार्तामा ट्रम्पले भनेका थिए । सुरुमा जेलेन्स्कीले यो प्रस्ताव ठाडै अस्वीकार गरेका थिए । तर सोमबार भने दुई देशबिच सम्झौता अन्तिम चरणमा पुगेको खबर आइरहेको छ ।
ट्रम्पले अमेरिकी विदेशी सहायता नियोग यूएसएडको गतिविधि निलम्बित गरेपछि युक्रेन पहिला देखि नै प्रभावित भइसकेको छ । सहायता रकम रोक्का भएपछि युक्रेनका एनजीओ र परोपकारी संस्थाहरूले कर्मचारी कटौतीदेखि एचआईभी पहिचान परियोजनासम्म सबै कुरा बन्द गरेर धमाधम कर्मचारी निकाल्ने थालेका थिए । गएको तीन वर्षमा युक्रेन यूएसएडले बाँड्ने सहायताको सबैभन्दा ठुलो प्रापक बनेको थियो ।
दसौँ लाख युक्रेनी भए विस्थापित
युद्ध सुरु भएर रुसले जमिन कब्जा गर्न थालेयता यता दसौँ लाख युक्रेनी घर छाडेर कम द्वन्द्वग्रस्त युक्रेनी भूभाग वा अन्य देशतिर भागेका छन् । यूरोपमा मात्रै ६३ लाख युक्रेनी पुगेका छन् । जर्मनीमा १२ लाख, पोल्यान्डमा १० लाद र ३ लाख ९० हजार चेक गणतन्त्रमा भएको संयुक्त राष्ट्र संघको शरणार्थी एजेन्सीको तथ्याङ्कले देखाएको छ । रुसी फेडरेशनमा मात्रै १२ लाख युक्रेनी बसोबास गरिरहेको यूएनको पछिल्लो प्रक्षेपणले देखाएको छ ।
१ करोडभन्दा धेरै युक्रेनी अझै विस्थापित रहेको अनुमान
२०२४ को अन्त्यमा ३७ लाख युक्रेनीहरू आन्तरिक रूपमा विस्थापित भएको अनुमान गरिएको छ । अरू ६९ लाख युक्रेनी अन्य देशमा शरण खोजिरहेका छन् । आन्तरिक रूपमा विस्थापितको संख्या युद्ध सुरु भएयता ४० प्रतिशतले घटेको छ । देशबाहिर शरण खोज्नेको संख्या भने १९ प्रतिशतले बढेको छ ।
हजारौँ नागरिकको मृत्यु
युद्ध सुरु भएयता ४१ हजार ७८३ जना घाइते भएका छन् वा मरेका छन् । यसमा मर्नेको संख्या १२ हजार ६०५ बताइएको छ । यीमध्ये धेरैजसो मृत्यु विस्फोटक हतियारका कारण भएको यूएनको मानव अधिकार कार्यालयले बताएको छ । मारिएका मध्य कम्तीमा आधा अर्थात् ६ हजार २०३ जना वयस्क पुरुष छन् । अरू ६६९ जना बालबालिका भएको बताइएको छ । घाइतेको संख्या २९ हजार १७८ रहेको बताइएको छ । एजेन्सी
प्रतिक्रिया