बुटवल । रुपन्देहीमा क्रियाशिल ४ वटा व्यवसायीक संस्थाहरुको मंगलवार बसेको संयुक्त बैठकले बुटवल उपमहानगरपालिकाले उद्योग तथा व्यवसायीक चिनारीका लागि राखिएका होर्डिङ वोर्डका नाममा रकम अशुल्ने विषयमा ठेकेदारको ज्यादती र त्रासदीपूर्ण व्यवहार खेदजनक भएको बताएका छन् । त्यसको तत्काल समाधान गर्न अनुरोध गर्दै समस्या समाधान नभएमा आन्दोलनको कार्यक्रम अगाडि बढाउने चेतावनी दिएका छन् ।
रुपन्देही व्यापार संघको पहलमा संघको कार्यालयमा बसेको बैठकले उद्योग तथा व्यवसायीक चिनारीका लागि राखिएका होर्डिङ वोर्डका नाममा रकम अशुलेको विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाउँदै आर्थिक मन्दीको अवस्थामा विज्ञापन करको नाममा रकम अशुल्ने व्यवहारिक नभएको उनीहरुको निश्कर्ष छ । उनीहरुले तत्काल समस्या समाधानका लागि नगरपालिकासँग अनुरोध गरेका छन् ।
बैठकले ठेकेदारको ज्यादती र त्रासदिपूर्ण व्यवहार खेदजनक भएको र त्यस प्रकारका गतिविधिप्रति बुटवल उपमहानगरपालिकाले नैतिक जिम्मेवारी लिनु पर्ने बताउँदै आगामी दिनमा त्यस प्रकारका व्यवहार नदोरिने वातावरण सिर्जना गर्न आग्रह गरिएको छ ।
बैठकले बुटवल उपमहानगरपालिका भित्र गणेश एण्ड सन्स कन्ट्रकसनले विभिन्न व्यवसायीक प्रतिष्ठानमा राखिएका चिनारी वोर्डहरुमा गरिएको तोडफोडको उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेको छ । बैठकले तत्काल देखिएको समस्याको समाधान गरि आगामी वर्षका लागि बुटवल उपमहानगरपालिका र व्यवसायीक संघसंस्थाविचको छलफल र सहकार्यबाट कार्यविधि बनाई अगाडि बढ्नु पर्ने सुझाव दिएको छ ।
बैठकपछि ४ वटै संस्थाले संयुक्त रुपमा बुटवल उपमहानगरपालिकालाई ५ बुदे ध्यानाकर्षण पत्र बुझाएको छ । ज्ञापनपत्रमा रुपन्देही व्यापार संघका अध्यक्ष दिपक अधिकारी, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल र उद्योग व्यापार संघका अध्यक्ष विष्णु प्रसाद पाण्डेले हस्ताक्षर गरेका छन् । बैठकमा चार वटै संस्थाकाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया