बुटवल । नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका-३ स्थित बेलासपुरमा स्थानीय दुई समूहबीचको तनावले एक जनाको ज्यान लिएको छ । बेलापुरस्थित १९ वर्षीया सहाना खातुनलाई सोही ठाउँका २२ वर्षीय डाक्टर धोबीले भगाएको विषयको विवादमा एक जनाले ज्यान गुमाएका हुन् ।
प्रहरीका अनुसार विवाद बढ्दै जाँदा केटीका दाइले अर्को पक्षलाई लक्षित गरी पिकअप गाडीले ठक्कर दिएका थिए । त्यसक्रममा दुई जना घाइते भएकोमा उपचारको क्रममा एक जनाको मृत्यु भएको सशस्त्र प्रहरीका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
दुई समुदायका युवा युवतिबिच प्रेम विवाह भएको र विवाद बढ्दै जाँदा सोमबार झडपको अवस्था निम्तिएको प्रहरीको भनाइ छ । करिब ४ महिना अगाडि फरक समुदायका युवा युवतिबिच विवाह भएपछि विवाद भइरहेको गाउँमा आज गाडीले मान्छे हानेको विषयलाई लिएर विवाद उग्र बनेको थियो ।
नवलपरासी पश्चिमका निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले घटनाबारे भने, ‘गाडीले ठक्कर दिएको विषयलाई दिएर दुई समुदायबिच विवाद भयो । विवाद मिलाउन जाँदा केही प्रहरी, सशस्त्र र दुई स्थानीय घाइते भएका छन् । प्रहरीको गाडी जलाइएको छ । उनका अनुसार ५ जना स्थानीय, १२ जना जनपथ र ४ जना सशस्त्र प्रहरी घाइते भएका छन् । प्रहरीको बा १ झ ७४४८ नम्बरको गाडी स्थानीयले बलेको टायर फालेर जलाइदिएको उनले बताए ।
गाडीले ब्याक गरेर मान्छे हानेको विषयबाट सुरु भएको विवादबाट केटा र केटी पक्षबिच झडप भएको उनले बताए । विवाद हुँदा नजिकै रहेको पुरानो टायरको ग्यारेजमा आगजनी गरिएको र ग्यारेज नजिकैको घरमा रहेको मान्छे बचाउन गएको प्रहरीको गाडीमा बलेको टायर फालेर आगजनी गरिएको घिमिरेले बताए ।
प्रतिक्रिया