ताजा अपडेट »

हिसान रुपन्देहीको १३ औँ अधिवेशन : अध्यक्षमा कृष्ण न्यौपाने सर्वसम्मत

मंगलबार, १३ फागुन २०८१, २२ : ०१
56 Shares
मंगलबार, १३ फागुन २०८१
56 Shares

बुटवल । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) रुपन्देहीको १३ औ वार्षिकोत्सव तथा साधारण सभाबाट कृष्ण बहादुर न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । मंगलबार अबेर भएको अधिवेसनबाट वरिष्ठ उपाध्यक्ष मधु प्रकाश ज्ञवाली, उपाध्यक्ष बाबुराम बन्जाडे, सचिव राजेशराज जोशी, कोषाध्यक्ष नबिन्दु ढकाल र सहसचिवमा कृष्ण गैरे र लक्ष्मण अर्याल चयन भएका छन् । 

सदस्यहरु लक्ष्मण अर्याल, पशुपति चौधरी, राजेन्द्र कुवर, श्रीराम माझी, लोक शर्मा सर्वसम्मत चयन भएका छन् । यसअघि अधिवेशनको समद्घाटन गर्दै हिसान केन्द्रीय अध्यष रमेश कुमार सिलवाले देशमा घट्दो जनसंख्या निजी शिक्षालयहरुका लागि चुनौती र अवसरका रुपमा रहेको चर्चा गरेका थिए । मुख्य चुनौतीका रुपमा जनसंख्या घट्नु रहेको भन्दै यसलाई अवसरका रुपमा पनि लिन सकिने बताए । जनसंख्या कम हुँदा अभिभावक राम्रो शिक्षा दिन चाहने र त्यसमा निजी शिक्षालयहरुलाई अवसर बन्ने उनले बताए । 

नेपाल पहिला भन्ने भावना हरेकबाट शुरु गर्नुपर्ने बताउँदै उनले भने,  ‘नेपालमा केहि छैन भन्ने भाष्य चिर्न जरुरी छ ।’ सामाजिक सञ्जालहरुमा केहि समुह नकारात्मक विषय बिक्ने नाममा निरन्तर प्रचारमा लागेको भन्दै उनले यो गलत भएको बताए । सामाजिक सञ्जालमा समुदायका राम्रो विषयलाई ल्याउनुपर्ने उनले सुझाव दिए । शैक्षिकसँगै देशका हरेक क्षेत्रमा विकास भएको उदाहरण दिँदै उनले देशका शासकहरुको सोचमा भने परिवर्तन आउन नसकेको गुनासो गरे ।

राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनी प्रदेशका प्रमुख रमाकान्त तिवारीले हिसानबाट हरेक शैक्षिक गतिविधिमा सहयोग मिलेको स्मरण गर्दै संस्थागत रुपमा नङमासुको आत्मीय सम्बन्ध रहेको बताए । हिसानबाट कठिन समयमा निजी सम्पति लगाएर गुणस्तरीय शिक्षा दिएर विदेश जाने युवा रोक्न निरन्तर लागेको उनले बताए । हिसान र प्याब्सनको आआफ्नो भूमिका रहेको भन्दै शैक्षिक र संस्थागत विकास तथा संगठनको विकासमा एकतावद्ध भएर जानुपर्ने सुझाव दिए । शैक्षिक गुणस्तरलाई ध्यान दिनुपर्ने बेला आएको उनले बताए । शिक्षालाई सीप, संस्कार, ब्यवहारिक रुपमा लागुहुने गरि जोड्न जरुरी रहेको उनले बताए । 

हिसान नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष युवराज शर्माले नेपालमा शैक्षिक संस्थाहरुको हकहितमा लाग्न सुझाव दिए । बागमतिका केही विश्वविधालयहरु नीति बनाउने काममा लागेको बताउदै यो आजको आवश्यकता भएको उल्लेख गरे । पाठ्यक्रम निर्माण गर्न सक्ने, पुर्वाधार विकास गर्न सक्ने विश्वविधालयबाट आवश्यक पहलमा जोड दिन आग्रह गरे । 

कार्यक्रममा हिसान रुपन्देहीका अध्यक्ष दिनेश भुषालले संस्थाको प्रगति विवरण प्रस्तुत गर्दै हिसानबाट वर्षभरि गरेको कामबारे प्रकाश पारे । अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, प्याब्सन लुम्बिनीका अध्यक्ष लालहरि पाण्डे, हिसान रुपन्देहीका सचिव बाबुराम बन्जाडेले गुणस्तरीय शिक्षामा निजी शिक्षालयहरुको योगदान र चुनौती बारे बताए । कार्यक्रममा हिसान रुपन्देहीका सल्लाहकार अनन्तराज शर्मा, टुक बहादुरक्षेत्री, दामोदर शर्मा, प्राध्यापक रामचन्द्र आचार्य, लोकनाथ उपाध्यायसहित सिङ्गो जिल्ला कार्यसमितिलाई सम्मान गरिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।