ताजा अपडेट »

सिद्धबाबामा लाग्ने महाशिवरात्रि मेलामा ५० हजार बढी भक्तजन भित्राउने लक्ष्य

मंगलबार, १३ फागुन २०८१, १९ : ०७
48 Shares
मंगलबार, १३ फागुन २०८१
48 Shares

बुटवल । महाशिवरात्री पर्वका अवसरमा सिद्धबाबा मन्दिरमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ ।

मंगलबार सिद्धबाबा मन्दिर विकास समितिले पत्रकार सम्मेलन आयोजना गरी भक्तजनले सहज रूपमा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको जानकारी दिएको छ ।

महाशिवरात्रीको अवसर पारेर पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित मन्दिरलाई चिटिक्क सिँगारिएको छ । मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुको सहजताका लागि टोकन र निःशुल्क बसको व्यवस्थासमेत गरीएको मन्दिर विकास समितिका अध्यक्ष सन्तोषकुमार शेरचनले जानकारी दिए । उनका अनुसार वृद्धवृद्धा, अशक्त, असाहयहरुले भने सिधैं मूल मन्दिरमा गएर पूजा गर्न सक्नेछन् ।

IMG_20250225_190944_(1900_x_1200_pixel)

दर्शनार्थीहरुको सुरक्षाका लागि ३० जना सुरक्षाकर्मी, १५० बढी स्वंयसेवक र १८ वटा सिसी क्यामेराले निरन्तर निगरानी गर्ने अध्यक्ष शेरचनले बताए । उनका अनुसार सिद्धबाबा क्षेत्रमा सरसफाइ, शौचालय, पार्किङ, भण्डारा, खानेपानी र जुत्ताचप्पल राख्ने स्थानको सहज पहुँचको प्रबन्ध मिलाइएको छ ।

गतवर्षको शिवरात्रीमा ३५ हजार बढी भक्तजनले दर्शन गरेको बताउँदै अध्यक्ष शेरचनले यो वर्ष ५० हजार बढी भक्तजन भित्र्याउने गरी तयारी गरिएको बताए ।

भक्तजनहरूलाई दर्शनका लागि बिहान ४ बजेदेखि नै मूल मन्दिर खुला गरिने प्रचारप्रसार संयोजक अरबिन्द पाण्डेले जानकारी दिए । विगतमा भक्तजनहरु २ देखि ३ घण्टासम्म लाइनमा बस्नुपर्ने बाध्यता रहेकोमा यसबर्ष ४ वटा लाइनको व्यवस्था गरी १ घण्टा भित्रमै दर्हन गर्न सक्ने व्यवस्था मिलाइएको उनले बताए ।

मन्दिरमा दर्शन गर्न जाने भक्तजनका लागि बुटवलका विभिन्न ठाउँबाट दुई वटा निःशुल्क र ७ वटा सशुल्क बसको व्यवस्था मिलाइएको महाशिवरात्रि मेला संयोजक तोया लम्सालले बताए । बुटवलको योगीकुटी, कालिकानगर, अस्पताल लाइन, देबिनगर, शान्ति चोक, मिलनचोक, ट्राफिक चोक र गोलपार्कबाट बस छुट्नेछन् । भक्तजनलाई दिनभर यातायात सेवा उपलब्ध गराउने लम्सालले बताए ।

सिद्धबाबालाई पश्चिम नेपालको पशुपतिका रुपमा विकास गर्ने गरी मुख्य मन्दिरको जिर्णोद्धार गर्न लागिएको अध्यक्ष शेरचनले बताए ।

धार्मिक तथा ऐतिहासिक क्षेत्र सिद्धबाबामा नेपालका विभिन्न जिल्लाहरुसँगै भारतबाट समेत भक्तजन आउने गरेका छन् ।


 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।