ताजा अपडेट »

नवलपरासीमा प्रेम विवाहको विवाद झडपमा परिणत, प्रहरीको गाडी जलाइयो

मंगलबार, १३ फागुन २०८१, १४ : ४०
372 Shares
मंगलबार, १३ फागुन २०८१
372 Shares

बुटवल  । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाँउपालिका–३ बेलासपुरमा दुई समुदायबिच भएको झडपमा २० जना घाइते भएका छन् । झडपका क्रममा स्थानीयले प्रहरीको गाडी जलाइदिएका छन् । 

दुई समुदायका युवा युवतिबिच प्रेम विवाह  भएको र विवाद बढ्दै जाँदा सोमबार झडपको अवस्था निम्तिएको प्रहरीको भनाइ छ । 

करिब ४ महिना अगाडि फरक समुदायका युवा युवतिबिच विवाह भएपछि विवाद भइरहेको गाउँमा आज गाडीले मान्छे हानेको विषयलाई लिएर विवाद उग्र बनेको थियो । 

नवलपरासी पश्चिमका निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले घटनाबारे भने, ‘गाडीले ठक्कर दिएको विषयलाई दिएर दुई समुदायबिच विवाद भयो ।

विवाद मिलाउन जाँदा केही प्रहरी, सशस्त्र र दुई स्थानीय घाइते भएका छन् । प्रहरीको गाडी जलाइएको छ ।  उनका अनुसार  ५ जना स्थानीय , १२ जना जनपथ र ४ जना सशस्त्र प्रहरी घाइते भएका छन् । प्रहरीको बा १ झ ७४४८ नम्बरको गाडी स्थानीयले बलेको टायर फालेर जलाइदिएको उनले बताए । 

 गाडीले ब्याक गरेर मान्छे हानेको विषयबाट सुरु भएको विवादबाट केटा र केटी पक्षबिच झडप भएको उनले बताए । 

विवाद हुँदा नजिकै रहेको पुरानो टायरको ग्यारेजमा आगजनी गरिएको र ग्यारेज नजिकैको घरमा रहेको मान्छे बचाउन गएको प्रहरीको गाडीमा बलेको टायर फालेर आगजनी गरिएको घिमिरेले बताए । 

झडपमा घाइते भएका विजय धवल र बैजनाथ प्रसाद लोहनियालाई अस्पताल पठाइएको छ । अहिले अवस्था सामान्य रहेको उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।