ताजा अपडेट »

राममणि बहुमुखी क्याम्पसको ३७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

मंगलबार, १३ फागुन २०८१, ०७ : ५७
18 Shares
मंगलबार, १३ फागुन २०८१
18 Shares

मणिग्राम। राममणि बहुमुखी क्याम्पस तिलोत्तमा–५, मणिग्रामको ३७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार सम्पन्न भएको छ ।  क्याम्पस सञ्चालक समितिका अध्यक्ष धुव्रकुमार धितालको अध्यक्षतामा भएको कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणकाे प्रमुख  आतिथ्यता रहेको थियो । 

कार्यक्रममा  बोल्दै नगरप्रमुख रामकृष्ण खाँणले नगरकै गहनाको रूपमा रहेको यस राममणि क्याम्पसको थप विकाशका लागि नगरपालिकाले  सहयोग गर्ने बताए। त्यसैगरी, नगर उपप्रमुख जगेश्वर देवी चौधरीले क्याम्पसको शैक्षिक तथा भाैतिक विकाशमा सहयोग गर्न नगरपालिका सदैव तयार रहने बताइन । 

अभिभावक दिवसकाे अवसर पारेर ८० वर्ष उमेर पुगेका क्याम्पस सभा सदस्यहरू कृष्णप्रसाद गौतम, क्याप्टेन यमबहादुर खत्री र बेलभद्र अर्याल तथा विभिन्न जिम्मेवारीमा रही काम गरेका क्याम्सका प्राध्यापक तथा कर्मचारीहरूलाई सम्मान पनि गरिएको थियो ।

सोही अवसरमा विद्यार्थी, कर्मचारी, प्राध्यापक तथा क्याम्पसका सरोकार पक्षले लेखेका रचनात्मक तथा अनुसन्धानात्मक लेख रचना एवम् क्याम्पसको आय–व्यय विवरण सहितको वार्षिक मुख पत्र दीपिकाको २०औँ अङ्क विमोचन गरिएको थियो ।

वार्षिकोत्सवका अवसरमा वर्षभरिका शैक्षिक तथा अतिरिक्त क्रियाकलापका उत्कृष्ट स्थान हासिल गरेका तथा वार्षिकोत्सवका अवसरमा सञ्चालित खेल उत्सवका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार, प्रमाणपत्र र पदक सहित पुरस्कृत गरिएको थियो । कार्यक्रममा, आर.एम.सी. आइकनिक प्लेयर अवार्डबाट छात्रतर्फ एरिक के.सी. र छात्रातर्फ नवीना अधिकारीलाई विशेष सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा क्याम्सकाे वार्षिक  प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले राममणि जस्ता सामुदायिक क्याम्पसका समस्या र चुनौतीबारे प्रकाश पार्दै सरकारी सहयोग पनि जरूरी रहने बताए। सो अवसरमा त्रिभुवन विश्वविद्यालयका पूर्व रेक्टर प्रोफेसर भार्गव धिताल, सर्वोच्च अदालतका पूर्व न्यायाधीश तेजबहादुर के.सी. बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठक, देवदह आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख जयकिशन अधिकारी, शान्ति नमुना मा.वि.का प्रधानाध्यापक कुलप्रसाद लामिछाने, क्याम्पस प्राध्यापक संघका सभापति राजेन्द्र थापामगर लगायतले सबैको सत्प्रयासमा मात्र गुणस्तरीय शिक्षा उपलब्ध हुने बताएका थिए ।

वार्षिकोत्सवमा तिलोत्तमा चेम्बर अफ कमर्सका अध्यक्ष नेत्रप्रसाद न्यौपाने, तिलोत्तमा उद्योग वाणिज्य संघका महासचिव राजकुमार पाण्डे लगायतले व्यावसायिक संघ–संस्थाका लागि आवश्यक जनशक्ति क्याम्पसले नै तयारी गर्ने वातावरण बनाउन आफूहरूले सहकार्य रहने बताए ।

कार्यक्रममा नेपाली काँग्रेस तिलोत्तमा सभापति हरिलाल पाण्डे, नेकपा एमाले तिलोत्तमा अध्यक्ष मीनप्रसाद पोख्रेल, नेकपा माओवादी केन्द्र तिलोत्तमा अध्यक्ष बेलप्रसाद शर्मा, ने.वि.संघ क्याम्पस एकाइ अध्यक्ष एरिक के.सी., अनेरास्ववियू क्रान्तिकारीका क्याम्पस एकाइ अध्यक्ष सागर न्यौपाने लगायतले बोल्दै संस्थालाई थप गुणस्तरीय बनाउनेतर्फ आफूहरूको सहयोग रहने उल्लेख गरे।

उप प्राध्यापक मुक्तिनाथ गैह्रेको सञ्चालनमा भएको कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष धु्रवकुमार धितालले रोजगारउन्मुख परियोजना समेत सञ्चालन गर्ने गरी प्रस्ताव गर्न विद्यार्थीलाई सुझाव दिए का थिए भने क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष कृष्णप्रसाद पौडेलले वातानुकुलित सभाहल क्याम्पसका लागि निर्माण गरिदिन नगरपालिकासँग अनुरोध गरे ।

वार्षिकोत्सवकै अवसरमा दश जोड दुई तहका विद्यार्थीले सञ्चालन गरेको विज्ञान तथा प्रविधि प्रदर्शनी अतिथि एवम् आगन्तुकहरूले अवलोकन गरेका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।