नेपाल विकासका लागि प्रचुर सम्भावना र आधार भएको देश हो । यहाँको मनोरम प्राकृतिक सम्पदा, वन जंगल, नदीनाला भौगोलिक विविधताले अन्य मूलकलाई साँच्चै लोभ्याई रहेको छ । यद्यपि हाम्रो सरकार, योजना विद्ध, नेतृत्व वर्गले यसको महत्त्व बुझेर स्पष्ट योजना बनाएर अगाडी बढ्न नसकेका कारण हामी विकासमा धेरै पछाडि परेका छौ ।
मुलुक यतिखेर हरेक पार्टी पार्टी भित्र लोभ लालच, शक्तिको चलखेल, गुटगत झगडा, पदको भागबन्डा तिरै उन्मुख भएको पाइन्छ । नेपालको सम्भावना र नेपालीको भावना नेतृत्व वर्गले बुझ्न नसकेको भेटिन्छ । दुई तिहाइ होस वा बहुमत, मिलीजुली वा दुई ठुला पार्टीको गठबन्धन भनिएको शक्तिशाली सरकारले पनि विकासको छनक दिन सकेको देखिँदैन । जसका कारण लामो समयदेखि धेरै राष्ट्रिय गौरवका योजना समेत अधुरा र अलपत्र परेका छन् । अर्थतन्त्र जर्जर बन्दै गएको छ । जनता रनभुल्लमा छन् ।
विश्व सम्पदामा सूचिकृत गौतमबद्धको जन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रिय स्तरमै महत्त्व र चर्चा रहेको सबैमा जगजाहेरै छ । पशुपतिनाथ, राम जानकी मन्दिर, देवघाट तीर्थस्थल, रुरु क्षेत्र रिडीको ऋषिकेशव मन्दिर, सुन्दर पहाडी , हिमाली श्रृङखला, लगायत कुराहरू साँच्चिकै धार्मिक र पर्यटकीय दृष्टिकाेणले निकै महत्त्वपूर्ण छन् । हामी सँग यिनलाई आधार बनाएर विकास गर्न सकिने प्रशस्त आधार र सम्भावना छ ।
हुन त नेपालमा हरेक दृष्टिकोणले सम्भवना रहेको महसुस मलाई जस्तै धेरैलाई भएको हुनु पर्दछ । तर पनि हाम्रो सम्भावना अहिले सम्म सार्थक परिणाममा साहाकार हुन सकेको छैन । सडक, बैक वित्तीय सुविधा, उद्योग कलकारखाना केही हद सम्म स्थापना भइसकेको यो मुलुकमा सामाजिक ,आर्थिक, पर्यटन विकासका लागि केही नयाँ सोच सहितको योजना दिन जरुरी छ । यहाँ सम्भावना जति पनि छ । युवा पिडिले खोजेको विकासका मोडेल र पूर्वाधार भनी अव केही थप्नु आजको आवश्यकता वनेको छ ।
पछिल्लो समय विश्वको शक्तिशाली मुलुक अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाल बारे दिइएको सङ्घीयता चलाउन नेपाललाई दिएको रकम सदुपयोग नभएको र फ्रड (ठगी) काम भएकोले क्रप्ट कन्ट्री (भ्रष्ट देश) भएको अभिव्यक्ति दिएका छन् जुन यथार्थमै मनन गर्न योग्य छ । यस्तै हो भन्नेले भन्दै गर्दछन्, भनेर हाँसोमा उडाउने हो भने केही छैन । नत्र सरकार चलाउने राजनीतिक दलहरूले यसबारे महसुस र गहिरिएर मनन गर्न आवश्यक छ । ३५ वर्षमा पनि खासै परिणाम मुखी काम गर्न नसकेको स्वीकार गरेर स्पष्ट योजना बनाएर अगाडी बढ्न आवश्यक छ ।
हाम्रो जस्तो सानो मुलुकमा प्रदेशले औचित्व पुष्टी गर्न नसकेको बेला ट्रम्पले नेताहरूको कामलाई फ्रड र क्रप्ट्रेड कन्ट्रि भन्नु चानचुने कुरा होइन । यस बारे सरकारमा रहेका शिर्षस्त नेतृत्वहरुले के प्रतिउत्तर दिने हुन अन्योलमै देखिन्छ । तर पनि अव अन्य मुलुकबाट आएको ऋण सहयोगका बारे पनि चासोका साथ बिश्लेषण र सदुपयोग भएनभएकाे बारे खोज बिन गर्न जरुरी छ ।
हुन त हामीले राष्ट्रपति ट्रम्पको अभिव्यक्तिबाट पाठ सिकेर अगाडि बढ्न सके डिभि भोरेर अमेरिका जान लालायित हैनडिभि भरेर नेपाल आउन लालायित बनाउन सकिन्छ । विश्वका धेरै मुलुकका पर्यटकलाई यहाँ तान्न सकिन्छ । त्यसका लागि हामीमा नैतिकता, ईमान्दारीता र स्पष्ट योजनाको खाँचो छ ।
नेपाल प्रशस्त प्राकृतिक साधन स्रोत भएर पनि विकासमा निकै पछाडि परेको महसुस हामीले गरेकै छौ । यहाँको वन जङ्गल, जडीबुटी, जल सम्पदा, नागबेली पहाड आकर्षक हिम श्रृखला लुम्बिनी नै यहाँका अपार सम्पत्ति हुन् । तर प्रजातन्त्रको पुनर्स्थापना भएको पनि साढे तीन दशक पुग्यो राज्यको स्पष्ट नीति नियम नबन्नु, उद्योगमैत्री वातावरण नहुनु, जनप्रतिनिधिमा विकास निर्माणप्रति दृढ सङ्कल्प नहुनुले यहाँको विकास निर्माण कछुवाकै गतिमा छ । अहिलेको पीढीले भाषणमा भन्दा कामको परिणाम खोजिरहेको छ तर त्यो यथार्थमा हुन सकेको छैन । जसले गर्दा युवाहरूमा बिदेसिने हुटहुटी बढिरहेको छ । अनि नेपाली नै कतिपय देश सुन्दर बनाउन लागिरहेका छन् ।
हाम्रा नेताहरूले नेपाललाई बेलाबेलामा सिंगापुर, स्वीजरल्याड, बनाउने भाषण गरिरहनु हुन्छ । केही वर्ष अगाडी एसियाका राष्ट्रहरूको मलेसियाको क्वालालम्पुरमा भएको किवानिज सम्मेलन ( प्ष्धबलष्क ब्क्एब्ऋ द्धघचम ऋयलखभअतष्यल ) मा साथीहरूसँग सहभागी हुने र केही दिन मलेसिया र सिंगापुर घुम्ने अवसर प्राप्त भएको थियो । त्यत्ति बेला त्यहाँको विकास निर्माण र सभ्यता देख्दा त्यो उजाड भूमिमा यो कसरी सम्भव भएको होला भनेर अचम्म नै लाग्यो ? प्राय त्यहाँ पुग्ने पर्यटकहरू पनि यस्तै अनुभूति गरेको भान हुन्थ्यो । त्यहाँको सडक सञ्जाल, पुलहरूको बनावट, स्वच्छ वातावरण पर्यटकलाई आकर्षण गर्नका लागि बनाइएका विकास निर्माणका संरचना र नागरिकहरूको आनीबानी ब्यहोरा साँच्चै अनुकरणीय र उदाहरणीय नै छन् ।
जुन ठाउँ वास्तवमै नियम कानुन र सिस्टममा चलेका कारण विकासमा कायापलट भएको अनुभव गर्न सकिन्छ । विकास हाम्रो एजेन्डा भन्ने भनाई त्यहाँका हरेक नागरिकमा झल्किन्छ । विकासका लागि हाम्रो जस्तो भागबन्डा र झगडा हुँदैन, व्यक्तिगत स्वार्थ, सत्ता राजनीतिबाट त्यहाँका जनता र प्रशासकहरू धेरै टाढा भएको अनुभव गर्न सकिन्छ । खासै अन्न, फलफूल उत्पादन नहुने सिंगापुरमा हरेक कुरा बाहिरबाट आयत हुने गर्छ । लगानीका लागि खुल्ला रूपमा विदेशी मुलुकका उद्योगी व्यवसायीलाई अवसर दिनुले नै गएको ३०/३५ वर्ष यता त्यहाँको विकासमा कायालपलट भएको हो । त्यहाँ निर्माण भएका सिंगापुर मेरिलायन पार्क, मेरिना स्क्वायर मल, सन्तोषा, सिंगापुर फ्लायर, नाइट सफारी गार्डेन, युनिभर्सल स्टुडियो, सामुन्द्रिक यात्रा जस्तो व्यवस्था साँच्चै पर्यटकका लागि आकर्षणका कुराहरू हुन् । त्यहाँ पुग्ने नेपालीहरूलाई पनि लाग्दो हो हाम्रो नेपालमा त हिमाल र पहाड तराईमा प्राकृतिक बरदान नै छन् नगरेरै हो । हाम्रा नेता मन्त्री, सांसद, योजनाविद्, उच्च प्रशासक पनि घुम्न त धेरै पुग्नु हुन्छ तर आएपछि वास्तवमै भुल्ने बनी छ भन्दा फरक पर्दैन ।
मलेसियाको राजधानी क्वालाम्पुरको पहाडी क्षेत्रमा रहेको जेन्टिन हाइल्याण्डमा रहेका संरचना हेर्नका लागि मात्र दैनिक ५० औँ हजार पर्यटक पुग्ने गर्दछन् । त्यस्तै विश्वकै ठुलो विष्णु भगवानको मुर्ति, (बटु केभ) पुत्र जया, ९०० मिटर सम्म उचाइ रहेको के एल एल् सिसि टावर, केएल् टावर, विभिन्न पार्कहरू, सडक संरचना, सपिङ मल साँच्चै अचम्म लाग्दो गरि बनाइएको छ । अझ अहिले त समयको माग अनुसार अझ उन्नति प्रगति भइरहेको छ होला ।
सिंगापुरमा राजा ली को पालादेखि निकै विकास भएको हो । त्यहाँ नियम, कानुनमा कुनै सम्झौता हुँदैन र विकासमा राजनीति पनि छैन भन्छन् त्यहाँका जनता । त्यहाँका आकर्षक संरचनाहरू सामुन्द्रिक जलयात्रा, टावर, अन्डरग्राउन्ड मार्केट, सपिङ कम्प्लेक्स, ट्रेन यातायातले पनि पर्यटकहरूलाई निकै आकर्षित गरेको पाइन्छ । मलेसिया र सिंगापुर घुमेर हेर्दा नेपालमा यस्तो विकास सहजै पुरानै सोच र कार्यशैलीले कल्पना गर्न सकिन्न । तापनि नेपालमा सम्भावना भने कति छ कति ।
पहिले उजाड मरुभूमि भनेर चिनिने, पूर्वाधारका कुनै संरचना नभएको भूमि सिंगापुर साँच्चै शून्यबाट सरुभई हाल आएर विश्वभर नै उदाहरणीय पर्यटकीय गन्तव्यको रूपमा प्रख्यात बन्न पुगेको छ । नेपालको सन्दर्भमा हेर्दा हामी सँग सिंगापुरको जस्तै विकास गर्न अपार सम्भावना छन् । हामीसँग रहेका हिमालय, हरिया वनपाखा, झरना, खोलानाला, विविध सांस्कृतिक विशेषतायुक्त जातजाति आदि पर्यटन विकासको बलिया आधार हुन् । मात्र हाम्रा नीति निर्माणकर्ता नेतृत्व सँग इच्छा शक्तिको कमी र हरेक क्षेत्रमा राजनीतिको गलत अभ्यासले जरा गाड्नु नै नराम्रा पक्ष हुन् ।
नेताले देखेको सिंगापुर रुपी नेपाल साँच्चै असम्भव भने होइन । तर नेताहरूको कार्यशैली र आफू र आफ्ना वरिपरि मात्र फाइदा हुने काममा झुकाव देख्दा हामीलाई उनीहरूका भाषणहरू मजाक जस्तो लाग्नु स्वाभाविक नै हो जस्तो भएको छ । अहिले देश सङ्घीयतामा गए सँगै हरेक स्थानीय, प्रदेश र केन्द्रीय सरकार आफ्नो क्षेत्र अनुकूलका नीति नियम बनाउन अधिकार प्राप्त गएको छ । तर सङ्घीयताको न अनुभूति जनताले गर्न सकेका छन् न चलाउन सके न त जाने । बरु परिणाममुखी काम खोजेका जनताले नेताहरू आ –आफैमा आरोप प्रत्यारोप झगडा गरेर दिन बिताइ रहेको तमासा हेरेर बस्न बाध्य छन् । अब साँच्चै देशलाई नयाँ बाटोतर्फ हिँडाउन चाहने हो भने नेताहरू र कर्मचारी सच्चिन जरुरी छ । नत्र मुलुकलाई सिंगापुर बनाउने कुरा त धेरै टाढाको कुरा हुनेछ ।
यहाँका प्रशासक, राजनैतिक दलका नेता, प्रदेश सरकार चलाउनेमा वास्तविक त्याग र प्रतिबद्धता देखाउने लक्षण नदेखिएका कारण राज संस्था समर्थक र राजावादी पुन जुर्मुरायर जागेका छन् । राप्रपाले त ठाउँ ठाउँमा जागरण सभा नै गरिरहेको छ भने पूर्व राजा ज्ञानेन्द्र शाह मुलुकको विभिन्न ठाउँमा धार्मिक भ्रमण गरेर जनताको भावना बुझेर राजधानी फर्केपछि गएको फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा मर्मस्पर्शी सम्बोधन नै गरेपछि नेपालको राजनीति झनै तरंगीत भएको छ ।
सरकार चलाउने दलका नेताहरू नसच्चिए मुलुकमा नसोचेको घटना नहोला भन्न सकिँदैन ? सङ्घीय लोकतान्त्रिक गणतन्त्रका नाममा ठुला दलहरू नै मिलेर लुटतन्त्र मच्चाई रहने र गणतन्त्रको विकल्प पनि छैन भनिरहने हो भनी शक्तिका श्रोत जनताले ठूला दलाई साथ दिईनैरहन्छन भन्न सकिँदैन कि ? यतिखेर आम नागरिक “नो सर्भिस नो ट्याक्स” को अवस्थामा पुगेका छन् ।
साँच्चै नेपालको विकास गर्ने हो भने विकास निर्माण र रोजगारको स्पष्ट नीति निर्माण गरेर युवा शक्तिलाई बिदेसिनबाट रोक्नु जरुरी छ । विश्वमा बुद्धका अनुयायी अरबाैमा छन्, उनीहरूलाई नेपाल भित्राउने वातावरण बनाउन जरुरी छ । अनि हामीले लुम्बिनीको माटोलाई प्रयोग गरेर एउटा कोसेली (उपहार) मात्र बनाएर बिक्री गर्न सक्ने हो भने पनि प्रशस्त आम्दानी गर्न सकिन्छ, थुप्रैले रोजगार पाउन सक्दछन् ।
तर विडम्बना विदेशी बौद्धमार्गिहरुले लुम्बिनीको महत्त्व बुझे पनि हामी नेपालीले नै विश्व प्रख्यात लुम्बिनीको महत्त्व बुझ्न सकेका छैनौ । जसका कारण ४५ वर्ष पुग्दा पनि लुम्बिनी गुरुयोजनाको काम पुरा हुन सकेको छैन । त्यसको अनुभूति मलाई थाईल्याण्डको राजधानी बैंकक पुग्दा पनि भयो । जहाँ रहेको बुद्ध मन्दिरमा पुग्दा बुद्धप्रतिको आस्था देखेर हामीले माल पाएर चाल पाएका रहेनछौँ भन्ने अनुभूति भयो । यो त एउटा उदाहरण मात्र हो । नेपालका विभिन्न क्षेत्रमा सम्भावना प्रचुर छ, त्यसका लागि मात्र हामीमा नैतिकता र स्पष्ट योजनाको खाँचो छ ।
प्रतिक्रिया