काठमाडौं । नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको दोस्रो बैठकले २० बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ। नेकपा एसले दुई दिन बसेको केन्द्रीय कमिटी बैठकको निर्णय आज सार्वजनिक गरेको हो।
बैठकले सरकार नालायक र दमनकारी बन्दै जाने र सडकले सही बाटो नभेटाएर अराजक र पपुलिष्ट बन्दै जाने वर्तमान राजनीतिक अवस्थामा जनताका आधारभूत मुद्दाहरूलाई उठाउँदै जनतामाझ जाने र नेपालको राजनीतिलाई सही दिशामा डोर्याउने आन्दोलनको कार्य योजनाका रूपमा पार्टीको आगामी कार्य योजना प्रस्ताव पारित गरेको महासचिव घनश्याम भुसालले बताए।
प्रस्तावमा भनिएको छ, मुलुकमा भ्रष्टाचार मौलाएको छ र भ्रष्टाचारीहरू सरकारबाट संरक्षित भएका छन् । सहकारी ठगी, मिटर ब्याजी, अनलाइन ठगीले गर्दा गरिब जनताको जीवन कष्टकर हुँदै गएको छ । लाखौँ जनताले सहकारीमा राखेको बचत डुबेको छ । त्यस्ता भ्रष्ट तथा ठगहरूलाई नियन्त्रणमा लिई अविलम्ब कडा भन्दा कडा कारबाही गर्न र सम्बन्धित पक्षको पैसा फिर्ता गराउन सरकारसँग यो बैठक जोडदार माग गर्दछ ।
प्रतिक्रिया