ताजा अपडेट »
प्युठान दम्पती हत्या प्रकरण

आफ्नै भतिजले गरे काका-काकीकाे हत्या, प्रहरीद्वारा ३४ वर्षीय भतिज पक्राउ

सोमबार, १२ फागुन २०८१, ०८ : ३२
132 Shares
सोमबार, १२ फागुन २०८१
132 Shares

प्युठान। माण्डवी गाउँपालिका २, रातापानीमा ६० वर्षीय रामबहादुर परियार र उनकी पत्नी ५६ वर्षीया हुकुमा परियारको हत्या प्रकरणमा ३४ वर्षीय पङ्कज परियारलाई प्रहरीले पक्राउ गरेको छ। पङ्कजले आफ्नै काका र काकीको गए राती शुक्रबार हत्या गरेको पुष्टि भएको छ।

घटनाको जानकारी पछि, जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख, प्रहरी नायब उपरीक्षक दीपेश बस्यालको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । डिएसपी बस्यालका अनुसार  रिसको झोँकमा घन प्रहार गरी आफ्ना काका र काकीको हत्या गरेको  पङ्कजले प्रहरीलाई बयान दिएका छन्।

माण्डवी गाउँपालिका २ रातापानीको रामबहादुर परियार र उनकी पत्नी हुकुमा परियार घर भित्रै मृत फेला परे। ६० वर्षका रामबहादुर परियार र उनकी पत्नी ५६ वर्षकी हुकुमा परियार मृत भेटिएको खबर प्रहरीलाई गरियो । खबर गर्ने व्यक्ति परियार दम्पतीकै ३४ वर्षका भतिज पंकज परियार थिए।

शनिबार दिउँसो साढे १२ बजेतिर खबर पाएपछि जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डीएसपी दिपेश बस्यालको टोली घटनास्थलतर्फ लाग्यो। घटनास्थल पुगेकाे  प्रहरीलाई पंकजले नै घटना भएकाे ठाउ देखाए।  घरभित्रै भुइँमा  रहेकाे ओछ्यानमा मृत फेला परेका दुवै जनाको टाउकोमा चोट देखियाे। उनीहरूको हत्या भएको निष्कर्षसहित प्रहरीले अनुसन्धान अगाडी बढायो।

अनुसन्धानकै क्रममा प्रहरीले ७ जना लाई शङ्काको घेरामा राखेर अनुसन्धान अगाडी बढायो । उसले सात जनासँग सुरुमा सोधपुछ गर्‍यो। प्रहरीलाई खबर गरेका पंकज पनि सुरुबाटै प्रहरीको निगरानीमा परेका थिए। प्रहरी घटनास्थलमा पुग्दा उनी नजिकबाट नियालिरहेका थिए। ‘उनको हाउभाउ र प्रहरीले सोधेका प्रश्नको जवाफ स्वाभाविक थिएनन्। तर उनैले घटनाका बारेमा खबर गरेकाले हत्या गरेका हुन् भन्ने अवस्थामा पनि हामी सहजै पुग्न सकेनौँ,’ डीएसपी बस्यालले बताए।

प्रहरीले  ७ जनासँग पालैपालो पुछपाछ गर्दै एकर्काका कुरा भिडाउँदै अनुसन्धान गरिरहेको थियो भने प्राविधिक रूपमा पनि थप प्रमाण खोज्ने काम सँगसँगै भइरहेको थियो।  शनिबार दिनभरको अनुसन्धानपछि प्रहरीले पंकज सहित अन्य दुई जनालाई थप अनुसन्धानका लागि प्रहरी चौकी लिएर गयो। प्रहरीले लगेका पंकज बाहेक अन्य दुईको पनि  कुरा बाझिए पछि प्रहरीले उनीहरूलाई पनि निगरानी गरिरहेको थियो। 

चौकी लगिएका अर्का दुई पनि पंकजकै परिवारका थिए। उनका बुबा, आमा, माइजू र पंकजलाई प्रहरीले चौकी लगेको थियो। प्रहरीले फरक फरक कोणबाट सोधपुछ गर्दा पंकज  पटक पटक पसिनाले खलखली भिज्थे। एउटै प्रश्नको फरक फरक जवाफ दिइरहे। उनले झुट बोलेको प्रहरीले पत्ता लगाएपछि उनलाई अपराध ढाकछोप गर्न गाह्रो पर्याे।  

 उनले बयानका क्रममा आफ्ना बाबु र माइजूले हत्या गरेको आफूले देखेको भनी प्रहरीलाई  बताए पनि  प्रहरीले उनीहरूसँग बुझ्दा हत्या गरेको भन्ने देखिँदैनथ्यो।अनुसन्धान का क्रममा पटक पटक सोधपुछ गर्दा पंकज बोल्नै नसक्ने अवस्थामा पुगेका पंकजले अन्ततः आफैँले हत्या गरेको स्वीकार गरे। उनले हत्या कसरी र किन गरेको भन्ने पनि बताए। 

कीन र कसरी गरे हत्या

प्युठान प्रहरी प्रमुख बस्यालका अनुसार पंकजको काका–काकीसँग राम्रो सम्बन्ध थिएन। पटक पटक  रक्सी खाएर झगडा गर्न पुगिरहन्थे। उनीहरू पनि रक्सी खान्थे। पटक पटक  उनिहर बिच झगडा पर्थ्यो। एक साताअघि काका र काकीले नै आफूलाई बिहे गर्न नसकेको, पहिले गरेकी श्रीमतीलाई पनि घरमा राख्न नसकेको भनेकाले आफूले सहन नसकेर हत्या गर्ने योजना बनाएको पंकजलले प्रहरीलाई बताएका छन्। 

पहिले बिहे गरे पनि पंकजकी श्रीमतीले डेढ वर्ष पहिले उनलाई छाडेकी थिइन्। यही कुरालाई लिएर काका काकीले आफूलाई सधैँ  हेपेको उनले बताए। ‘अप्रेसन माण्डवी’ नाम दिएर अनुसन्धान सुरु गरेको प्रहरीले उनले नै हत्या गरेको निष्कर्ष निकालेसँगै हत्यामा प्रयोग गरेका सामान समेत बरामद गरेको छ। मृतक दम्पतीका चार भाइ छोराहरू  रोजगारीका लागि भारतमा छन्। तीन जना छोरीहरू पनि विवाह गरेर गएकाले घरमा उनीहरू मात्रै थिए।  

शुक्रबार राति साढे १० बजे नै उनीहरूको हत्या गरिएको अनुसन्धानबाट खुलेको छ।

रक्सी खाएर मातेका पंकज राति साढे १० बजे रामबहादुरको घरमा पुगेका थिए।  ढोका बन्द गरेर उनीहरू सुतिसकेका रहेछन्। पंकज दोस्रो तलाको झ्यालबाट भित्र छिरे। भर्‍याङबाट तल झर्दा दुवै जना निदाइरहेको देखे।  ढोकाको छेउमा रहेको घनले दुवै जनाको टाउकोमा प्रहार गरेर आफूले हत्या गरेको पंकजले प्युठान प्रहरीलाई बताएका छन्।

उनले हत्यामा प्रयोग गरेको घन रक्ताम्मे अवस्थामा घटनास्थलभन्दा ५० मिटर टाढा फेला पारेको छ। सोही स्थानमा रगत पुछेको ब्ल्याङ्केट पनि प्रहरीले बरामद गरेको छ।  घटना घटाउँदा पंकजले लगाएको स्विटर पनि प्रहरीले फेला परेको छ। उक्त स्विटरमा रगत समेत लागेको छ। हुकुमा परियारको हत्या गरेपछि उनको पटुकीमा रहेको २२० रुपैयाँ पनि पंकजले लगेको  अनुसन्धानमा देखिएको छ । त्यसमध्ये २ सय रुपैयाँ खर्च गरिसकेको र २० रुपैयाँ  उनकै साथबाट प्रहरीले बरामद गरेको  छ ।

पंकज विरुद्ध कर्तव्य ज्यानको कसुरमा जिल्ला अदालतबाट म्याद लिएर प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।