बुटवल । प्युठानको माण्डवी गाउँपालिका-२ रातापानीमा एक दम्पत्तिको घनले हानेर हत्या भएको छ । स्थानीय रामबहादुर र हुकुमा परियार दम्पतीको आफ्नै भतिजले हत्या गरेको रहस्य खुलेको हो ।
शनिबार दिउँसो रातापानीका ६० वर्षीय रामबहादुर परियार र उनकी श्रीमती हुकुमा परियार घरमै क्षतविक्षत अवस्थामा मृत भेटिएका थिए । घटना लगत्तै घटनास्थलमा पुगेको प्रहरीले हत्या गरेको आरोपमा रामबहादुर–हुकुमाको भतिज ३४ वर्षीय पङ्कज परियारलाई पक्राउ गरेको छ। दुई दिनदेखि घटनाको अनुसन्धान गर्न घटनास्थल बसेका जिल्ला प्रहरी कार्यालय प्युठानका डिएसपी दिपेश बस्यालका अनुसार, रातापानीमा परियार दम्पती मृत अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो।
डिएसपी बस्यालका अनुसार, पङ्कजले आफ्नै काका र काकीको हत्या गर्नुमा विवाह सम्बन्धी विषय जोडिएको देखिन्छ। करिब एक हप्ता अघि मात्रै पङ्कजलाई परियार दम्पतीले अहिलेसम्म पनि विवाह गर्न नसकेको ‘थारो’ भनेका रहेछन्। त्यसैको इगोमा हत्या गरेको प्रहरीले अनुमान गरेको छ। यसअघि पनि पङ्कज र मृतक दम्पतीबिच विभिन्न विषयहरूमा विवाद भइरहने गरेको पाइएको छ। काकाको घरमा पङ्कज गइरहने तर उक्त कुरा काकालाई मन नपरेपछि गाली गर्ने र उनीहरूबीच विवाद हुने गरेको बस्यालले बताए।
छिमेकीले टेलिफोनमार्फत जानकारी गराएपछि स्थानीय प्रहरी चौकी तिरामबाट प्रहरी खटिएको थियो। अनुसन्धानको क्रममा टाउकामा घन प्रहार गरेर बीभत्स तरिकाले हत्या गरेको पुष्टि भएको छ। प्रहरीले घरबाट करिब ५० मिटर टाढा रगत लतपतिएको घनसमेत फेला पारेको थियो।
यस्तो छ घटनाको विवरण :
प्रहरी अनुसन्धानका अनुसार, पङ्कजले अत्याधिक रक्सी सेवन गरेर ९ गते राति साढे १० बजेतिर काकाको घरमा पुगेका थिए। दोस्रो तलाको झ्यालबाट प्रवेश गरी भर्याङबाट भुईंतलामा झरेको उनले प्रहरीलाई बताएका छन्। त्यसपछि उनी परियार दम्पती सुत्ने कोठामा गएर ढोकाको छेउमा राखेको घनले दुवै जनाको टाउकामा ३–३ पटक हानेर हत्या गरेको उनले स्वीकार गरेका छन्।
हत्यापछि पङ्कजले हुकुमाको पटुकामा रहेको २२० रुपैयाँ लगेका थिए। उक्त रकममध्ये २०० रुपैयाँ खर्च गरिसकेको अवस्थामा प्रहरीले २० रुपैयाँ पङ्कजबाट बरामद गरेको जनाएको छ । ‘पङ्कज गाउँमै सामान्य रोजगारी गरेर बसेको र मृतकको सबैभन्दा नजिकको छिमेकी हुन्, श्रीमतिले छाडेर गएको बेला अनावश्यक टर्चर गरेर आवेशमा आएर हानेको स्वीकार गरेको छन्, मृतकको घर र उनको घर ६० मिटर मात्रै फरक छ’ डिएसपी बस्यालले भने–‘सानो इगोले यति ठूलो घटना भयो, विश्वासको संकट देखियो ।’
मृतक परियार दम्पतीका चार छोराहरू रहेका छन्, जसमध्ये सबै जना रोजगारीका लागि भारतमा रहेका छन्। तीन छोरीहरू पनि विवाह गरेर दाङमा बस्दै आएका छन्। घरमा परियार दम्पतीमात्रै बस्दै आएका थिए। प्रहरीले हत्या गर्दा प्रयोग गरिएको घन र रगत लतपतिएको कपडा समेत बरामद गरेको छ। यस घटनाले स्थानीय समुदायमा स्तब्धता छाएको छ।
प्रतिक्रिया