भैरहवा । रुपन्देहीमा ९२ प्रतिशत किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइएको छ । ५९ हजार २ सय १५ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपीभी) खोप लगाउने लक्ष्य लिइएकोमा ५४ हजार ५ सय २९ जना किशोरीलाई खोप लगाइएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
रुपन्देहीमा पहिलो चरणमा ८ वटा पालिकामा ३० हजार ९ सय २५ जना किशोरीलाई खोप लगाउने लक्ष्य लिएकोमा २८ हजार १ सय ८३ जना किशोरीलाई खोप लगाइएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख चिन्तामणि ज्ञवालीले जानकारी दिए । त्यस्तै दोस्रो चरणमा बाँकी रहेका ८ वटा पालिकामा २८ हजार २ सय ९० जना किशोरीलाई खोप लगाउने लक्ष्य लिइएकोमा २६ हजार तीन सय ४६ जनालाई खोप लगाइएको छ । पहिलो चरणमा माघ २२ देखि २९ गतेसम्म र दोस्रो चरणमा फागुन १ गते देखि ८ गतेसम्म खोप अभियान सञ्चालन गरिएको थियो ।
अभियान अन्तरगत लुम्बिनी साँस्कृतिक नगरपालिकाले लक्ष्यअनुरुप खोप लगाएको छ भने सबैभन्दा कम ८२ प्रतिशत जिल्लास्तरीय खोप अभियान सुरुवात गरिएको मायादेवी गाउँपालिकामा लगाईएको छ । मर्चवारी गाउँपालिकाले लक्ष्य भन्दा बढी खोप लगाएको छ । मर्चवारीमा १०२ प्रतिशतले खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कक्षा ६ देखि १० कक्षासम्म अध्ययन गर्ने र विद्यालयबाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेरका किशोरीहरुलाई खोप लगाइएको कार्यालयले जनाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष नेपालमा २ हजार १ सय ६९ जना महिलाहरू पाठेघरको मुखको क्यान्सरबाट संक्रमित हुन्छन् । हरेक वर्ष १ हजार ३ सय १३ जना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको छ ।
जसअनुसार नेपालमा दैनिक ४ जना महिलाको मृत्यु हुनुको कारण पाठेघरको क्यान्सर हुने गरेको तथ्यांकमा उल्लेख छ ।पाठेघरको मुखको क्यान्सर ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) को संक्रमणबाट हुन्छ । यो रोग लागेपछि योनिबाट रगत आउने, तल्लो पेट दुख्ने, रक्तअल्पता हुने गर्दछ । यौन सम्पर्कबाट यो रोग सर्ने गरेको स्वास्थ्य विज्ञहरूको भनाइ छ ।
प्रतिक्रिया